पछिल्लो समय सीपमूलक अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दो छ । सीप सिकिसकेपछि रोजगारी पाउन वा उद्यम सुरु गर्न सहज हुने भएकाले प्राविधिक शिक्षामा विद्यार्थी बढेका हुन् ।
विदेशमा समेत राम्रो माग हुने गरेकाले होटेल म्यानेजमेन्ट पढ्न चाहनेको संख्या बढ्दो छ । वारिस्ता, फुड एन्ड बेकरी, सर्भिसलगायतको तालिम लिने विद्यार्थीको संख्या पनि बढ्दो छ । ट्राभल एन्ड टुरिजममा (पथप्रदर्शक) पनि विद्यार्थीको संख्या उल्लेखनीय छ ।
पछिल्लो समय कलेजहरूले पनि शिक्षामा समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सिकाइमा जोड दिएका छन् । त्यस्तै, इन्स्टिच्युटहरूमा गएर छोटो समयको तालिम वा कोर्स लिने विद्यार्थीको संख्या पनि ठूलो छ । इन्स्टिच्युटहरूले एक, तीन र चार महिनाको तालिम सञ्चालन गर्दै आइरहेका छन् ।
राजाराम महत एमएचएम कोअर्डिनेटर नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट
होटेल म्यानेजमेन्ट पढेपछि उद्यमशील बन्न सकिन्छ । रोजगारी पनि सहजै पाइन्छ । हातमा प्रमाणपत्रसँगै सहजै बिक्ने सीप पनि हुने भएकाले यसमा आकर्षण बढेको हो ।
सन् १९९८ देखि होटेल म्यानेजमेन्ट पढाउँदै आएको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजका एमएचएम कोअर्डिनेटर राजाराम महत यहाँबाट उत्तीर्ण भएका विद्यार्थी होटेल, एयरलाइन्स, पर्यटन, उद्योग, मार्केटिङको क्षेत्रमा जमेको बताउँछन् । ‘पढाइ सकिएपछि कुनै एक क्षेत्रमा मात्र सीमित हुनुनपर्ने होटेल म्यानेजमेन्टको विशेषता हो,’ उनी भन्छन्, ‘यो कोर्स पढेपछि व्यवसाय गर्न वा उद्यमशील बन्न पनि सकिन्छ । रोजगारी पनि सहजै पाइन्छ ।’
धेरैजसोले नेपालमा पढाइ सकेर केही समय विदेश गएर काम गर्ने र आफ्नो सीपलाई निखार्ने गरेको उनी बताउँछन् । ‘सीप भएका मानिसलाई स्वदेश वा विदेश सबैतिर रोजगारी पाउन सजिलो हुन्छ । धेरैले भविष्यमा नेपालमै फर्केर पर्यटन क्षेत्रमा केही गर्ने योजना बनाएका हुन्छन्,’ महतले भने, ‘होटेल म्यानेजमेन्ट पढेकाहरूको हातमा प्रमाणपत्रसँगै सहजै बिक्ने सीप पनि हुने भएकाले यसमा आकर्षण बढेको हो ।’
कलजेमा बिएचएमका लागि २ सय ४० जनाको सिट रहेकोमा गत वर्ष ४ सय हाराहारी विद्यार्थीले आवेदन फर्म भरेको उनले सुनाए । ‘हामीले तीन–चार महिनाको बेसिक कोर्स पनि सञ्चालन गर्दै आइरहेका छौँ । त्यसमा विद्यार्थीको संख्या धेरै भएर छनोट गर्न मुस्किल हुन्छ ।’
दि सोल्टीका एक्जुकेटिभ सु–सेफ आरबी बुढाथोकी होटेल म्यानेजमेन्ट शिक्षामा गरिएको लगानी र मिहिनेतले राम्रो प्रतिफल दिने भएकाले विद्यार्थीको आकर्षण बढेको बताउँछन् । ‘अहिले सीपमूलक शिक्षाको जमाना हो, त्यसैले होटेल म्यानेजमेन्ट र पर्यटनमा विद्यार्थीको आकर्षण बढ्दोे छ,’ उनले भने,’ ‘यो विषयले कहिल्यै बेरोजगार बनाउँदैन ।’
नेपालको पर्यटन क्षेत्रमा राम्रै लगानी भइरहेकाले होटेल म्यानेजमेन्ट पढ्नेको भविष्य राम्रो रहेको उनले बताए । ‘पढाइ सकिएपछि कुनै एक क्षेत्रमा मात्र सीमित हुनुनपर्ने होटेल म्यानेजमेन्टको विशेषता हो । रोजगारीका अवसर अझै धेरै बढेर जानेछन्,’ उनले भने ।
पोखरास्थित कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष विजय पौडेल पहिले विद्यार्थीले आफ्नो लक्ष्य तय गर्ने र त्यसपछि आवश्यकताअनुसार लामो तथा छोटो अवधिका कोर्सहरू गर्ने गरेको बताउँछन् । ‘विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरू हाम्रोमा छोटो कोर्स गर्नका लागि आउँछन् । उनीहरूको लक्ष्य विदेशमा पार्ट टाइम जागिर खोज्न सहज होस् भन्ने हुन्छ । अर्कोथरी प्लस टु सकेपछि लामो समयको कोर्स गर्ने र स्किल मेनपावरका रूपमा अस्टे«लियालगायत देशमा पिआरका लागि सोझै अप्लाई गर्नेहरू छन्,’ उनले भने, ‘मध्यपूर्वमा पनि नेपालीहरूको डिमान्ड राम्रो छ । त्यहाँ रोजगारीका लागि जान पनि तालिम लिन आउँछन् । माल्दिभ्समा पनि धेरै होटेल खुलेका छन् । नेपालीहरू हँसिलो अनुहारका हुने र काममा धेरै मिहिनेत गर्ने भएकाले पनि विदेशमा सर्भिस सेक्टरमा डिमान्ड धेरै आउँछ ।’
पछिल्लो समय देशमै स्वरोजगार हुन चाहने युवाहरूको जमात पनि ठूलो रहेको उनले बताए । ‘नेपालमै केही गर्नुपर्छ, कफी सप वा बेकरी हाउस खोलौँ भन्ने पनि छन् । उनीहरू पनि पहिले तालिम लिन्छन् र त्यसपछि आफ्नै लगानीमा उद्यम सुरु गरेर स्वरोजगारसँगै अन्य केहीलाई पनि रोजगारी दिन्छन्,’ उनले भने ।