१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Monday, 01 July, 2024
समाचार डिजिटल संस्करण

रूपेश रामलाई साधारण तारेखमा राखी थुनामुक्त गर्न सर्वोच्चको आदेश

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १८:५२:oo

सर्वोच्च अदालतले सप्तरी राजविराज घर भएका रूपेशकुमार रामलाई थुनामुक्त गर्न सप्तरी कारागारलाई आदेश दिएको छ। व्यक्ति बेपत्ता पारेको अभियोगमा जिल्ला अदालत सप्तरीको आदेशले पुर्पक्षका लागि थुनामा रहेका रामलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको संयुक्त इजलासले मंगलबार आदेश दिएको हो।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले रूपेश रामका हकमा अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकर निवेदक रहेको रिट जारी गरेको हो। आफ्नै श्रीमती बबिता इसरलाई बेपत्ता बनाएको भनी इसरका पिता ललित इसरले दायर गरेको मुद्दामा इसरका पति तथा रूपेश रामका भाइ मनोजका साथै रूपेशको समेत संलग्नता देखाउँदै जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

‘रामलाई थुनामै राख्नुपर्ने अवस्थाको विद्यमानता रहेको’ नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्ने आदेश सर्वोच्चबाट भएको हो। हाल व्यक्ति बेपत्ता पारेको कसुर जिल्ला अदालत सप्तरीमा विचाराधीन रहेको हुँदा पछि ठहरेबमोजिम हुने गरी रूपेशलाई थुनामै राख्नुपर्ने अवस्था नरहेको निष्कर्षमा इजलास पुगेको हो। 

यही मुद्दामा थुनामा रहेका मनोजलाई ३१ असारमै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिइसकेको थियो। तर, रूपेश भने २६ चैत २०७९ देखि नै थुनामा थिए। उनलाई गैरन्यायिक तवरले थुनामा राखिएको भन्दै रिहा गर्न आदेश मागी ४ साउनमा अधिवक्ता अम्बेडकरले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकोमा रिट जारी भएको हो ।

‘यी निवेदक उपर जुन व्यक्तिलाई अपहरण गरी बेपत्ता पारेको भन्ने अभियोग लगाइएको छ, निज बेपत्ता पारिएको भनिएको बबिता इसरसँग भाइ मनोज रामले दर्ता विवाह गरी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०८०-०२-२१ मा विवाह दर्ताको प्रमाणपत्र प्राप्त गरेको देखिन्छ। हालसम्मको अवस्थामा उल्लिखित विवाह दर्ताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्रउपर उजुरी परी अन्यथा भएको अवस्था देखिँदैन। यसै सम्बन्धमा यिनै निवेदकका भाइ मनोजकुमार रामलाई थुनामा राख्ने गरी भएको आदेशउपर यसै अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा मिति २०८०-०३-३१ गते भाइ मनोज रामलाई थुनामुक्त गर्ने गरी आदेश भएको देखिन्छ,’ सर्वोच्चले जारी गरेको संक्षिप्त आदेशमा छ। 

अर्को जातसँग विवाह गरेको निहुँमा किर्ते जन्मदर्ता बनाएर आफूलाई नाबालिक साबित गरी पिता ललित इसरले आफ्नो श्रीमानमाथि व्यक्ति बेपत्ताको अभियोग लगाएको बबिताको भनाइ छ। उनले राजविराजकै मनोजसँग गत वर्ष २२ मंसिरमा आफ्नो इच्छाले विवाह गरेकी थिइन्। तर, आफूहरूलाई तनाव दिन आफ्नो पिताले प्रहरीमा हुँदै नभएको कसुरमा जाहेरी दिई मुद्दा लगाएको बबिताको भनाइ छ। जसपछि सप्तरी जिल्ला अदालतले मनोजलाई २४ जेठमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

ad
ad
ad
ad