हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रातोमाटेदेखि हेटौँडाको मुख्य बजार क्षेत्र र बजारको पश्चिमतर्फ राप्ति पुलसम्म सडक विस्तार गर्ने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले १० असारमा सूचना सार्वजनिक गर्दै १६ साउनबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा १५ रातोमाटेदेखि हेटौँडा बजारको पश्चिमतर्फ राप्तिपुलसम्म दायाँ–बायाँ २५–२५ गजभित्र सडक अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन आग्रह गरेको हो ।
राजमार्गको दायाँ–बायाँ २५ गज सडक विस्तार गर्ने क्रममा पाँच सयभन्दा बढी घरटहरा भत्किने भएका छन् । रातोमाटेदेखि राप्ती पुलसम्ममा सडकको दायाँतर्फ दुई सय ३४ र बायाँतर्फ दुई सय ९७ वटा घर भत्किने उपमहानगरपालिकाले जनाएको छ । सडक विस्तारका क्रममा हेटौँडा–१५ रातोमाटेदेखि हेटौँडा ८ र ९ को सिमाना हनुमान गेटसम्मको सडकखण्डअन्तर्गत दायाँतर्फ २४ र बायाँतर्फ ९१ गरी जम्ममा एक सय १५ वटा घरटहरामा क्षति पुग्ने देखिएको छ ।
त्यस्तै, हनुमान गेटदेखि कर्रापुलसम्मको खण्डमा एक सय २२ घरमा क्षति पुग्ने उपमहानगरपालिकाले जनाएको छ । हेटौँडा–८ र ९ मा पर्ने उक्त खण्डमा ८ नम्बर वडातर्फ जम्मा ४१ वटा घरटहरा रहेका छन् भने अधिकांश भागमा औद्योगिक क्षेत्रको जग्गा रहेको छ । यस्तै, हेटौँडा–९ तर्फ भने ७१ वटा घरहरू सडक विस्तारका क्रममा प्रभावित हुने देखिन्छ । यस क्षेत्रमा भने ०५८ मा तत्कालीन सुकुमबासी समस्या समाधान आयोगले लालपुर्जा वितरण गरी बाढीपीडितलाई व्यवस्थापन गरिएको छ ।
यसैगरी, कर्रा पुलदेखि उत्तरतर्फ हेटौँडा बजार क्षेत्रको कोर एरियामा हेटौँडा–४ र हेटौँडा–१० नम्बर वडामा पर्ने कर्रादेखि सुमार्गी कम्प्लेक्ससम्मको खण्डमा दायाँ–बायाँतर्फ गरी कुल एक सय १२ वटा घरटहरा छन् । यस क्षेत्रमा सडक विस्तार हुँदा हेटौँडा–४ को सुमार्गी कम्प्लेक्सतर्फ ७६ र हेटौँडा–१० फरेस्ट्री क्याम्पसतर्फ ३६ घर प्रभावित हुने देखिएको छ । यस सडकखण्डको हेटौँडा–१० तर्फ वन विज्ञान क्याम्पस र नेपाल ट्रस्टको नाममा रहेको कान्ति ईश्वरी दरबार क्षेत्र रहेको छ । यस्तै, हेटौँडा–४ तर्फ भने अधिकांश व्यावसायिक र आवासीय घरटहराहरू रहेका छन् ।
यसैगरी, सुमार्गी कम्प्लेक्सदेखि उत्तरतर्फ बुद्धचोकसम्म ९७ वटा घरहरूमा क्षति पुग्ने उपमहानगरले जनाएको छ । हेटौँडाको मुख्य बजार रहेको यस क्षेत्रको हेटौँडा–४ तर्फ ४६ र १० तर्फ ५१ घरटहरामा क्षति पुग्ने भएको छ । यस्तै बुद्धचोकबाट पश्चिमतर्फ हेटौँडा–१ र १० नम्बर वडाको बुद्ध चोकदेखि चाइना क्वाटरको गेटसम्म हेटौँडा–१ तर्फ २८ र हेटौँडा–१० तर्फ ३५ वटा गरी ६३ वटा घरमा क्षति पुग्ने भएको छ ।