१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
लोकेश ढकाल
२o८१ बैशाख २२ शनिबार o७:१५:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बिपीवाद भुलेको कांग्रेसको निरीह अनुहार

सत्ताका लागि सिद्धान्तको पर्वाह नगरी जुन वेला जोसँग पनि सम्झौता गर्न तयार रहने वर्तमान कांग्रेस नेतृत्वबाट गम्भीर पहलको आशा गर्न सकिन्न

Read Time : > 5 मिनेट
लोकेश ढकाल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१५:oo

भोलि ६ साउन, राजनेता बिपी कोइरालाको ४१औँ स्मृति दिवस । ४१ वर्षअघि ६ साउनमा आधुनिक नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय, राष्ट्रवादी एवम् प्रजातन्त्रवादी महान् नेता कोइरालाको ६८ वर्षमै दुःखद निधन भएको थियो । बिपीको निधनको ४१ वर्षमा उहाँकै अगुवाइमा स्थापित र उहाँले लामो समय नेतृत्व गरेको देशको ऐतिहासिक प्रजातान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसको जीवनमा आज संस्थापक नेता कोइराला भेट्न मुस्किल छ । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर, सूर्यप्रसादलगायत महान् नेताहरू पनि भेटिनुहुन्न कांग्रेस जीवनमा । पार्टी कार्यालयका भित्तामा बाहेक पार्टीका दस्ताबेज र नेता कार्यकर्ताका वाणीमा बिपी भेटिनुहुन्न । 

शान्ति–प्रक्रिया र संविधान निर्माणको चरण हुँदै नेपाली राजनीति यहाँसम्म आइपुग्दा कांग्रेस र सिंगो नेपाली राजनीतिका लागि बिपीले सेटिङ गरिदिएको राजनीतिक विचारधारा एवम् राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आजको कांग्रेसले अघोषित रूपमा पूरै परित्याग गरिसकेको छ । आज कांग्रेसमा बिपी, गणेशमान र किसुनजीको चर्चा हुन्न । बिपी विचार र चिन्तनमाथि चर्चा गर्नेहरू, राजनीतिमा बिपी विचारको सान्दर्भिकता अझै बढेको छ, कांग्रेसले बिपी विचार वा बिपीवाद छोड्नु गलत भयो, पार्टीले बिपीका सिद्धान्त र विचार अँगाल्नैपर्छ भनेर बोल्ने, चर्चा गर्ने वा अभियान चलाउने कांग्रेसीहरू परम्परावादी, प्रतिगामी वा परिवर्तनविरोधी भनेर आरोपित एवम् अपमानित हुनुपर्ने अवस्था छ । 

निश्चय नै विगत ४१ वर्षमा नेपाली राजनीतिमा अनेक आन्दोलन भए, राजनीतिक उथल–पुथल भए, र त्यसको जगमा टेकेर शान्ति–प्रक्रिया र संविधान निर्माणमा आर्थिक सहयोग गर्ने छिमेकी देश, मित्रराष्ट्र र दाता एजेन्सीहरूले सद्भाव र सहयोगका नाममा नेपाली राजनीतिमाथि खुबै खेले । छिमेकी राष्ट्र, तिनका खुफिया एजेन्सी र दूतावासले आ–आफ्नो स्वार्थमा खुलमखुल्ला चलखेल गरे । यसकै आडमा नेपाली जनतालाई नसोधी, जनतालाई कुनै निर्णय प्रक्रियामा सहभागी नगराई जबर्जस्ती नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो, संघीयता थोपरियो ।

नेपालको राष्ट्रियता, अति संवेदनशील भूराजनीतिक अवस्था, हाम्रा मौलिक धार्मिक एवम् सांस्कृतिक परम्परा, हाम्रो वैभव र सम्पदाका रूपमा रहेको बहुजातीय, बहुभाषिक एवम् भौगोलिक विविधता र त्यसको जगमा खडा भएको हाम्रो आफ्नो मौलिक नेपाली पहिचानलाई बिल्कुलै पर्वाह नराखी नेता विशेषको राजनीतिक महत्वाकांक्षा र स्वार्थबाट प्रेरित भएर नेपाल राष्ट्र निर्माण गर्ने पुरानो शक्ति राजसंस्थालाई धोखाधडी र अवैधानिक बाटोबाट समाप्त गर्ने काम भयो । राजा ज्ञानेन्द्रको १९ माघको निरंकुश कदमविरुद्ध पंक्तिकार स्वयं आन्दोलनको अग्रमोर्चामा डटेर लडेको हो । शाहीकालमा पटक–पटक गरी ६ महिना प्रहरी हिरासत र जेलमा बसेको हो । पंक्तिकार निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनमा गएको थियो, राजतन्त्र अन्त्यका लागि होइन । तमाम कांग्रेसी निरंकुश राजतन्त्रविरुद्ध मात्र आन्दोलनमा होमिएका थिए, राजसंस्था अन्त्यका लागि होइन । 

सात दलको गठबन्धन निर्माण हुँदा गरिएको २५बुँदे सहमति, नेपाली भूमि छाडेर भारतीय राजधानी दिल्लीमा सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारी र सात दल र राजा ज्ञानेन्द्रबीच ११ वैशाख ०६३ मा भएको साझा सहमति (वैशाख ११ को शाही घोषणा नै सातदल र राजाबीचको साझा सहमतिको दस्ताबेज हो) लगायत कतै पनि राजसंस्था समाप्त गर्ने सहमति वा सम्झौता भएको थिएन । यदि बन्दकोठामा कतै कुनै सहमति थियो भने पनि पुनस्र्थापित संसद्ले ४ जेठमा गरेको घोषणाले अब आइन्दा राजपरिवारका सदस्य पनि करको दायरामा आउनेछन् र अबदेखि राजाको पहिलो सन्तान छोरा वा छोरी जो भए पनि राजदरबारको उत्तराधिकारी हुनेछ भनेर घोषणा गरिरहनुपर्दैनथ्यो ।

निर्वाचनपछि पहिलोपटक बसिरहेको केन्द्रीय कार्यसमिति बैठकले पछिल्ला स्थानीय, प्रदेश र संघीय निर्वाचनको समीक्षा गर्ने विषय बैठकको एजेन्डासम्म बनाउँदैन भने पार्टी नेतृत्व र वर्तमान कार्यसमितिबाट आमप्रजातन्त्रवादी र कांग्रेस कार्यकर्ताले के आशा राख्ने ?
 

राजसंस्थाको निरन्तरताको अवस्थामै पुनः स्थापित संसद्ले यो निर्णय गरेको थियो । पछि ०४७ सालको संविधानलाई असंवैधानिक तवरमा खारेज गरेर दुराशय र असंवैधानिक बाटोबाट गठन गरिएको अन्तरिम संसद्ले जनभावनाविपरीत निर्णय गर्दै गएका कारणले नै षड्यन्त्र र धोखाधडीको राजनीति अगाडि बढ्यो र देश आजको चुनौतीपूर्ण संकटको अवस्थामा आइपुग्यो । शान्ति–प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्ने कांग्रेस आफ्ना संस्थापक नेता बिपीको विचार र चिन्तनविपरीत गएकै कारण सबै कथित परिवर्तन र उपलब्धि हासिल भएको भनिए पनि देशको भविष्य र प्रजातान्त्रिक आन्दोलन संकटको डिलमा उभिएको छ । 

सामान्य रूपमा बाहिरबाट हेर्दा देशको राजनीतिलगायत सबै ठिकठाकसँग चलेको छ । देशमा शान्ति स्थापना भएको छ । ठूला राजनीतिक परिवर्तन भएका छन् । संविधानसभाबाट जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान बनाएका छन् । देश गणतन्त्र, धर्मनिपेक्षता, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणालीलगायत क्रान्तिकारी परिवर्तन भएको भनिएको छ । संविधानअनुसार दुईपटक स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भई तीनै तहका सरकारले काम गरिरहेका छन् ।

यतिका क्रान्तिकारी राजनीतिक परिवर्तन भएर देश ठिकठाक चलिरहँदा यति छिटै तिनै परिवर्तनका संवाहक राजनीतिक शक्ति कांग्रेस, एमाले, माओवादी र तिनको नेतृत्वप्रति जनतामा किन चरम घृणा र निराशा फैलिँदो छ ? संविधान निर्माण गर्दा जनभावनाको कदर नगरिएको, परिवर्तनकारी दलका नेता र कार्यकर्ता सत्तामा पुगेर देश र जनताको पक्षमा काम गर्नभन्दा कुशासन र भ्रष्टाचारमा डुबेकै कारण दल, संविधान र राजनीतिक प्रणालीप्रति नै जनतामा वितृष्णा बढ्दै गएको हो । जनताको निराशा, वितृष्णा र यसले सिर्जना गरेको सन्नाटालाई नियालेर विचार गर्ने हो भने पछिल्लो राजनीतिक परिवर्तन र संविधान नै संकटमा पर्दै गएको देखिन्छ । आज नेपाली राजनीतिमाथि मडारिएको यस संकटको बादल बिपीले आफ्नो जीवन छँदै देखिसक्नुभएको थियो । 

बिपीले अहिलेका नेताले जस्तो आफ्नो राजनीतिक स्वार्थमा, प्रधानमन्त्री बन्ने दाउमा– ‘कांग्रेसले राजसंस्था फाल्ने उद्योग गर्नुहुँदैन ।’ भन्नुभएको थिएन । सन्तनेता कृष्णप्रसाद भट्टराई पनि बहुलाएर वा राजाको निगाहमा केही पाइन्छ कि भन्ने सोचेर बाँचुन्जेल राजसंस्थाको पक्षमा उभिनुभएको थिएन । तर, त्यसपछिका नेता नेपालको पहिलो राष्ट्रपति बन्ने लोभमा फसेर बिपीको चिन्तन र विचारविपरीत राजसंस्था फाल्ने उद्योगमा लागेका कारण कांग्रेस यो दयनीय अवस्थामा आइपुगेको हो । 

बिपीको ४१औँ स्मृति दिवसकैबीच एक वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । पार्टीले बैठकमा पेस गरेको छलफलका एजेन्डा र त्यसमाथि कार्यसमितिका सदस्य र पदाधिकारीको विचार अभिव्यक्तिले कांग्रेसको आन्तरिक समस्याको जड र देशको राजनीतिक संकटको गहिराइलाई छुन सकेको छैन । पार्टीभित्र छुट्टै रूपान्तरणको अभियान चलाउनेहरूले पार्टीमा पेस गरेको दस्ताबेजले पनि राष्ट्रिय राजनीति र कांग्रेसको समस्यालाई पहिल्याउन त के ? छुनसम्म सकेको छैन । 

प्रजातान्त्रिक आन्दोलन र सिंगो शान्ति प्रक्रियाको नेतृत्व गरेको गर्व गर्ने कांग्रेसले आफैँले सरकारको नेतृत्व गरेर पहिलो संविधानसभा निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी नबनाए पनि ठूलो पार्टी त बनाउनैपर्ने हो नि ? किन २४० सिटमा केबल ३६ सिट मात्र दिएर कांग्रेसलाई दण्डित गरे ? त्यसको समीक्षा कांग्रेसले कहिल्यै गरेन ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकै कारण हामीले देशलाई संविधान दियौँ, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता र मिश्रित निर्वाचन प्रणालीलगायत क्रान्तिकारी राजनीतिक परिवर्तन हाम्रै कारण सम्भव भयो भन्दै बडो गौरव गरिरहँदा, संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचनमा पार्टी सभापतिकै नेतृत्वमा भएको सरकारसाथ निर्वाचनमा जाँदासमेत प्रत्यक्षतर्फ १६५ सिटमा केवल २३ सिटमा किन सीमित हुनुपर्‍यो ? जनताले पटक–पटकको निर्वाचनमा त्यति निर्ममसँग कांग्रेसलाई किन दण्डित गरे ? जनताले कांग्रेसलाई किन पत्याएनन्, किन मन पराएनन् ?

कांग्रेसले त्यसको गहिराइमा जान कहिल्यै चाहेन । त्यसको निर्मम समीक्षा गरेर गहिराइमा नपुगेसम्म कांग्रेस सच्चिनेछैन ।
संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोर्नुपर्दा हास्यास्पद ढंगले दुई ठूला कम्युनिस्ट पार्टी मिलेका कारण हामी हार्‍यौँ भनेर नकच्चरो निर्णय गरियो । त्यसवेला प्रजातान्त्रिक दलको नेतृत्वले हारको नैतिक जिम्मेवारीसमेत लिन चाहेन ।

गएको संसदीय निर्वाचनमा माओवादीलगायत सत्तारूढ गठबन्धनका दलसँग सिद्धान्तहीन चुनावी गठबन्धन गर्दासमेत कांग्रेसले किन आशाप्रद सफलता प्राप्त गर्न सकेन ? निर्वाचनपछि पहिलोपटक बसिरहेको केन्द्रीय कार्यसमिति बैठकले पछिल्ला स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनको समीक्षा गर्ने विषय कार्यसमिति बैठकको एजेन्डासम्म बनाउँदैन भने पार्टी नेतृत्व र वर्तमान कार्यसमितिबाट आमप्रजातन्त्रवादी र कांग्रेस कार्यकर्ताले के आशा राख्ने ?

विगतमा कांग्रेसको इतिहास उज्यालो हुनुको कारण राम्रो नीति, सिद्धान्त र उच्च नैतिक छवि भएका कुशल नेतृत्व र असल कार्यकर्ता पंक्ति हुन् । आज पार्टीको ती सबै उज्यालो पक्षलाई नेतृत्वको सत्ता र शक्तिको भोकमा चकनाचुर पारिएको छ । पार्टी नेतृत्वमा उच्च नैतिक छविको अभाव छ । नेतृत्व अलोकप्रिय छ । नेतृत्वमा बसेकाको भ्रष्टाचारमा नाम जोडिएर आउँछ । कार्यकर्तापंक्ति आदर्श र निष्ठावान् छैनन् । तलदेखि माथिसम्मै डनगिरी हाबी छ । केवल सत्ताको स्वार्थमा प्रचण्डसँंग गला मिलाउने कांग्रेसको नीति र सिद्धान्तबारे यो सानो आलेखमा खोइ थप के कुरा गर्नु ? 

आज कांग्रेस इतिहासको सबैभन्दा कठिन र संकटको डिलमा उभिएको छ । कांग्रेस देशको प्रमुख प्रजातान्त्रिक शक्ति मात्र नभई यो देशको प्रमुख राष्ट्रवादी शक्ति पनि हो । कांगे्रसको प्रजातान्त्रिक एवम् राष्ट्रवादी छवि दुवै भुत्ते भएको छ । विदेशी शक्तिले कांग्रेस र कम्युनिस्टसँग सहकार्य गरेर पहिले देशको राजसंस्थालाई समाप्त गरे ।

अब कम्युनिस्टलाई प्रयोग गरेर कांग्रेसलाई समाप्त गर्न खोजिरहेको छ । यस संवेदनशीलतातर्फ सत्ताका लागि सिद्धान्तको पर्वाह नगरी जुन वेला जोसँग पनि सम्झौता गर्न तयार रहने वर्तमान कांग्रेस नेतृत्वबाट गम्भीर पहलको आशा गर्न सकिन्न । वर्तमान नेतृत्वको विरोध गर्दै वैकल्पिक नेतृत्व दाबी गर्नेहरूले पनि कांग्रेसलाई बचाउने राजनीतिक चिन्तन, सोच र नेतृत्व क्षमता देखाउँदै अमकार्यकर्तालाई आश्वस्त पार्न सकेका छैनन् । 

जबसम्म कांग्रेसले शान्ति–प्रक्रिया र संविधान निर्माणका क्रममा जानेर या नजानेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलगायत पार्टीको स्थापनाकालीन नीति र सिद्धान्त, यिनै विषयमा विभिन्न समयमा पार्टी कार्यकर्ताका लागि बिपी कोइरालाले दिएको विचार र निर्देशन एवं सिंगो नेपाली राजनीति र कांग्रेसका लागि उहाँले दिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिबमोजिम स्थापित समग्र राजनीतिक विचारधारालाई छोडेर वामपन्थी भासमा कांग्रेस फस्यो, अब त्यसबाट करेक्सन गरेर अगाडि बढ्नुपर्छ भन्ने सामान्य सोच विकास हुँदैन, त्यस वेलासम्म कांग्रेसले विगतमा जस्तो इतिहासको त्यो गौरवशाली स्थान पुनः प्राप्त गर्न सक्दैन । 

ad
ad