किसुनजी, बिपी र गणेशमानलाई रुवाएर अघि बढेकै कारण राष्ट्रिय राजनीतिबाट कांग्रेसको हैसियत र भूमिका क्रमशः क्षयीकरण हुँदै गएको हो
नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको निर्वाचन हिजो (बुधबार) समाप्त भयो । जित्नेलाई बधाई, प्रतिस्पर्धा गर्न कस्सिनेलाई पनि शुभकामना छ ! कांग्रेस संसदीय दलको नेताका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चुनाव भइरहँदा सायद दलको नेतामा चुनाव लड्न कस्सिने दुई उम्मेदवार, भोट हाल्न लाइनबद्ध सांसद र निर्वाचनको नतिजाको व्यग्र प्रतीक्षा गरेर सिंहदरबारतिर आँखा लगाएर बसेका मुलुकभरिका आम–कांग्रेसीजनलाई आफ्ना एक महान् संस्थापक सन्तनेता कृष्णप्रसाद भट्टराईको भोलि (८ पुस) जन्मजयन्ती हो भन्ने कुराको सायदै हेक्का होला ।
न त पार्टीका कुनै निकायले किसुनजीको सम्मानमा भोलि कार्यक्रमको नै आयोजना गर्दै छन् । कांग्रेसको आन्तरिक जीवन र उसको राजनीतिक समारोह र कार्यक्रमहरूमा बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्यायको राजनीतिक ओज र त्यसको महक देखिन छाडेको धेरै भइसक्यो । झन् कांग्रेसले लिएको राजनीतिक बाटोप्रति असहमति प्रकट गर्दै भारी मन लिएर आफैँले स्थापना गरेको पार्टी परित्याग गरेको घोषणा गर्ने सिद्धान्तनिष्ठ, अटल राजनीतिक अडान, त्याग र उच्च नैतिक शक्ति भएका सन्तनेता भट्टराईको जन्मदिन कांग्रेसले कतै मनाउला र ? सन्देह नै छ ।
नेपाली राजनीतिकै सर्वाधिक लोकप्रिय सन्तनेता कृष्णप्रसाद भट्टराईको भोलि ९८औँ जन्मदिन हो । सन्तनेता किसुनजीले यस धरतीबाट आफ्नो चोला त्याग गरेको पनि बाह्र वर्ष पुग्दै छ । ३० वर्षअगाडि काठमाडौंका जनतालाई मेलम्चीको पानी ल्याएर खुवाउने सपना बाँडेका भट्टराईको निधनको १२ वर्षपछि काठमाडौंको धाराबाट मजाले मेलम्चीको सङ्लो पानी त बग्न थालेको छ, तर बितेका यी बाह्र वर्षमा नेपाली राजनीतिको नदीबाट सङ्लो पानी कहिल्यै बग्न पाएन ।
शान्ति स्थापनासँगै संविधानसभाबाट संविधान निर्माण भएपछि देशका सबै समस्याको समाधान भयो भनियो । त्यसयता दुईपटक स्थानीय निकायको निर्वाचन, दुईपटक संघ तथा प्रदेश सभा निर्वाचन पनि गरियो । तैपनि, राजनीतिक दलले जनतामा बाँडेको आश्वासन र सपनाबमोजिम देशमा राजनीतिक स्थायित्व, समृद्धि र विकास हुन सकेको छैन, देश भ्रष्टाचारमा डुबेको छ । दल र तिनका नेताप्रति जनतामा अहिलेसम्मकै सबैभन्दा चरम निराशा छ ।
पछिल्लो निर्वाचनले हङ–पार्लियामेन्ट गठन हुने निश्चित भएपछि थप राजनीतिक अस्थिरता उत्पन्न हुने स्थिति देखिएको छ । ०५१ सालपछिकै राजनीतिक स्थिति दाहोरिने आशंका गरिँदै छ । यस्तो अवस्थामा धमिलिएको नेपाली राजनीति सङ्लिने सम्भावना देखिँदैन ।
सन्तनेता किसुनजीको विचारविपरीत क्रमभंगता र अग्रगमनका नाममा नेपाली मौलिक पहिचानलाई भताभुंग पार्दै, कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको ‘नेपाल अधिराज्यको संविधान ०४७’ गैरसंवैधानिक बलमिच्याइँले च्यातियो । राजनीतिक दलहरू सिद्धान्त र देशभक्तिको राजनीति छोडेर भ्रष्टताको बाटोबाट अगाडि बढेकाले नै यतिखेर प्रजातन्त्र मात्र होइन, सिंगो देश नै संकटतर्फ उन्मुख भइरहेको देखिन्छ । यस्तो दुर्दशाको बाटोमा अगाडि बढिरहेको वर्तमान नेपाली राजनीतिले सन्तनेता किसुनजीको जन्मदिनमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्ने अपेक्षा राख्न सकिँदैन ।
किसुनजीको जीवनकालमै उहाँका कुरा सुन्न छाडिसकेका थिए । पछिल्लो चुनावी परिणामपछि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा मन्त्रीको सपना देखेर सत्ताको गलियारीमा भौँतारिरहेका कांग्रेसजनले किसुनजीलाई यथोचित सम्मान र स्मरण गरेनन् भनेर गुनासो गर्नुको औचित्य पनि छैन । किसुनजीको जन्मदिनको सन्दर्भमा उहाँलाई सम्मान र श्रद्धाभाव प्रकट गर्दै दुःखका यी पंक्ति लेख्दै गर्दा अब यति कुरा लेख्नैपर्छ– किसुनजीको कुरा नसुनेर, बिपीका विचार र चिन्तनको पर्वाह नराखेर तथा गणेशमान सिंहलाई रुवाएर अगाडि बढेकै कारण राष्ट्रिय राजनीतिबाट कांग्रेसको हैसियत र भूमिका क्रमशः क्षयीकरण हुँदै गएको छ । देशको राष्ट्रिय राजनीतिमा देशको प्रमुख राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्ति कांग्रेसको भूमिका घट्दै जानु भनेको कांग्रेसको औचित्य सकिँदै जानु मात्र होइन, देशको प्रजातान्त्रिक आन्दोलनसमेत कमजोर बन्दै जानु, राष्ट्रियतामाथि चुनौती थपिनु र देशकै भविष्यमाथि अनेक आशंका र प्रश्न उठ्नु हो ।
किसुनजीको जीवनकालमै उहाँका कुरा सुन्न छाडिसकेका र पछिल्लो चुनावी परिणामपछि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा मन्त्रीको सपना देखेर सत्ताको गलियारीमा भौँतारिरहेका कांग्रेसजनले किसुनजीलाई यथोचित सम्मान र स्मरण गरेनन् भनेर गुनासो गर्नुको अर्थ छैन
आधुनिक नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराई महान् प्रजातन्त्रवादी एवम् राष्ट्रवादी नेता त हुनुहन्थ्यो नै, उहाँ विचार र सिद्धान्तका सवालमा कसैसँग कुनै सम्झौता नगर्ने नेता हुनुहुन्थ्यो । ०१७ मा जेल परेपछिको अवस्थामा त्यही अडानकै कारण उहाँले बिपी र गणेशमान सिंहले जस्तो कागज गरेर जेलबाट रिहा हुन अस्वीकार गर्नुभयो । त्यसैकारण उहाँ बिपी र गणेशमानजी जेलबाट छुटेको वर्षपछि मात्र रिहा हुनुभएको थियो ।
०६४ सालमा बरु पार्टी छोड्नुभयो, तर सिद्धान्त, राजनीतिक अडान र निष्ठामा सम्झौता गर्नुभएन । आफैँसमेत संस्थापक रहेर कठिनाइसाथ ६ दशकअगाडि स्थापना गरेको र आफैँले १८ वर्ष नेतृत्व गरेको इतिहासको त्यो गौरवशाली नेपाली कांग्रेस वैचारिक विचलनमा गएपछि पार्टी छोड्न उहाँलाई कति गाह्रो भयो होला, सहजै अनुमान गर्न सकिन्छ ।
०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भारत स्वनिर्वासनको जीवन परित्याग गर्दै नेपाल फर्किएपछि किसुनजीको सिद्धान्तप्रतिको निष्ठालाई सम्मान गर्दै उहाँभन्दा धेरै वरिष्ठ नेता हुँदाहुँदै पनि ०३५ सालमा बिपी कोइरालाले उहाँलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पनुभएको थियो ।
बिपीले किसुनजीलाई कार्यवाहक सभापति दिएकै कारण कांगे्रसका पर्शुनारायण चौधरी, बखानसिंहलगायत वरिष्ठ नेताहरू पञ्चायत प्रवेश गरे । तर, किसुनजीले कठिन अवस्थामा १८ वर्षसम्म पार्टीको नेतृत्व गर्नुभयो र उहाँले कांग्रेसको नेतृत्व गरिरहेको वेला ०४६ सालमा पञ्चायती व्यवस्थाको पतन भई देशमा बहुदलीय शासन पद्धति पुनर्बहाली भयो ।
०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस विचार, सिद्धान्त र मूल्य–मान्यताको राजनीति गर्नुभन्दा पनि सत्ताको राजनीतितिर लाग्यो । प्रजातन्त्र पुनस्र्थापनापछि ०४८ सालमा भएको पहिलो संसदीय निर्वाचनमा किसुनजीको पराजयपछि कांग्रेसले पार्टी सिद्धान्तलाई छाडेर सत्ताको राजनीति गर्न थालेको हो । स्वामी आनन्द अरुणको भनाइअनुसार ‘द्वापर युगमा भगवान् कृष्णको निधनपछि कलियुग प्रारम्भ भयो भने नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईको संसदीय निर्वाचनमा भएको पराजयपछि ‘राजनीतिक कलियुग’ प्रारम्भ भयो ।’ नभन्दै त्यसपछि आफ्नै बहुमतको सरकार विघटन, त्रिशंकु सरकारको गठन, हुँदै नेपाली राजनीतिमा अस्थिरता, अराजकता र भ्रष्टाचारको सिलसिला प्रारम्भ भयो । त्यो सिलसिला अहिलेसम्म थामिएको छैन ।
बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिविपरीत कांग्रेस बिस्तारै वामपन्थी भासमा फस्दै गएको परिणाम कांग्रेस त कांग्रेसजस्तो रहेन नै, देशको राजनीति पनि अहिलेजस्तो चरम निराशाको अवस्थामा यसअघि कहिल्यै पुगेको थिएन । कांग्रेसलाई बचाउने हो भने कांग्रेसलाई कांग्रेसजस्तै बनाउन जरुरी छ । त्यसका लागि प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको चरण हुँदै यहाँसम्म आइपुग्दा कांग्रेसले कहाँ–कहाँ गल्ती गर्यो, कहाँ–कहाँ वैचारिक विचलन भयो ? समीक्षा गर्न ढिलो भइसक्यो ।
कांग्रेसको यही वैचारिक विचलन र गिर्दो साखबीच डाक्टर शेखर कोइराला नयाँ आशाका साथ कांग्रेसमा अग्रसर बन्दै थिए । गिर्दो कांग्रेसको साख जोगाउन बिपीको विचार र सिद्धान्तलाई पार्टीमा पुनस्र्थापित गर्न र कांग्रेसमा बिपी, गणेशमान, सुवर्ण शमशेर, किसुनजीलगायतको विचार र योगदानको कदर गर्दै कांग्रेसलाई नयाँ जीवन दिन शेखर अग्रसर बन्छन् भन्ने विश्वासले नै पार्टीको गत १४औँ महाधिवेशनमा निष्ठावान् कार्यकर्ताले उनलाई खुलेरै साथ दिएका थिए । संसदीय दलको निर्वाचनमा शेखर कोइरालाको अप्रत्यासित कदमले देशभरिका कांग्रेस कार्यकर्ता निराश भएका छन् ।
पार्टी चल्ने पुस्ताले होइन । राजनीति सिद्धान्त, विचार, निष्ठा र आदर्शका साथ चरित्र र सामथ्र्यले गरिन्छ । यस्ता गुण नहुने युवामा पार्टी वा सरकारको सत्ता हातमा पर्यो भने बाँदरको हातमा नरिवलबाहेक केही हुँदैन । पार्टीमा सक्षम युवापंक्तिलाई अगाडि ल्याउनुपर्नेमा सन्देह छैन, तर शेखर कोइराला व्यर्थको पुस्तान्तरण बहसमा फस्नुभयो र अस्ति गलत निर्णय गर्न पुग्नुभयो । शेखर कोइरालाले चार वर्षपछि हुने महाधिवेशनका लागि उधारोमा सभापति पदको सम्झौता गर्नु ठूलो भूल हो ।
लरतरो प्रयासले यसबाट भएको राजनीतिक क्षतिको भर्पाई गर्न शेखर कोइरालालाई सम्भव हुनेछैन । यो पछिल्लो राजनीतिक घटनाले विचार र सिद्धान्तबाट बरालिएको कांग्रेसलाई सही मार्गमा ल्याएर पार्टीलाई विगतको गौरवशाली स्थानमा पुर्याउन र किसुनजीलगायत कांग्रेसका संस्थापक नेताको विचार र योगदानलाई पार्टीमा स्थापित गर्न चाहने मजस्ता तमाम निष्ठावान् कार्यकर्ताको प्रयासमा ठेस पुग्नेछ । बाँकी त यी विषयमा थप बहस र चिन्तन हुँदै जाला । अहिलेलाई ९८औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा किशुनजीलाई हार्दिक श्रद्धाञ्जली !