मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २ मंगलबार o८:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा महाधिवेशनको बहस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार o८:४o:oo

सबै सचिवालय सदस्यले धारणा राखिसकेपछि अध्यक्ष नेपालले मंगलबार जवाफ दिने 

सत्तारूढ एकीकृत समाजवादीमा महाधिवेशनको बहस सुरु भएको छ । गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा सदस्यहरूले राजनीतिक, सैद्धान्तिक विषय स्पष्ट पार्दै नेतृत्वको पुनर्ताजगीका लागि महाधिवेशनमा जोड दिएका छन् ।

वर्तमान परिस्थिति र हाम्रा कार्यभार विषयमा सोमबारसम्म सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, डा. गंगालाल तुलधार र डा. विजय पौडेल, रामचन्द्र झासहित १३ जना सदस्यले धारणा राखेका छन् । प्रत्येक सदस्यले करिब दुई घन्टाका दरले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, राजनीतिक दलहरूको वस्तुस्थिति, समाजवादी आन्दोलनको भविष्यलगायतका विषयमा धारणा राखेका छन् ।

उनीहरूले राजनीतिक, सैद्धान्तिक रूपमा स्पष्ट हुँदै समाजवादको यात्रामा अगाडि बढ्ने खाका महाधिवेशनले तय गर्ने बताएका छन् । कसरी समाजवादी यात्रालाई अगाडि बढाउने भन्नेमै नेताहरूको जोड छ । उपमहासचिव एवं प्रचार विभाग प्रमुख खतिवडाका अनुसार सैद्धान्तिक, राजनीतिक विषयदेखि नेतृत्वको पुनर्ताजगीसम्मका विषयमा धारणा राख्ने क्रम जारी छ । विषयवस्तु राख्नेक्रममा महाधिवेशनको विषय पनि उठेको उनले बताए । उनले भने, ‘बैठकमा विभिन्न विषय उठेका छन् । महाधिवेशनको विषय पनि उठेको छ । प्रायः सबै सदस्यको जोड एउटै छ, महाधिवेशनबाट राजनीतिक, सैद्धान्तिक विषय स्पष्ट पारेर समाजवादी यात्रामा अगाडि बढौँ ।’ 

आगामी २१ फागुनमा महाधिवेशनको मिति तोकिने सम्भावना रहेको एक नेताले बताए । ‘मंसिरमै महाधिवेशन गरौँ भन्ने धारणा पनि आएको छ । मंसिरमा आवश्यक तयारी नै नपुग्ने भएकाले फागुनसम्म महाधिवेशन हुन्छ,’ ती नेताले भने । महाधिवेशनको मिति भने केन्द्रीय समिति बैठकले तोक्नेछ । 

सोमबार सम्मानित नेता खनाल, महासचिव भुसाल, उपमहासचिवद्वय डा. तुलाधर र डा. पौडेलले धारणा राखेका छन् । खनालले मंगलबारको बैठकमा पनि धारणा राख्ने एकीकृत समाजवादीले जनाएको छ । उनले धारणा राखिसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ । त्यसपछि कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन र विभागको कामको व्यवस्थापनको विषयमा छलफल गर्ने तय भएको छ । 

खनालले भने– धेरै कमजोरी भयो, महाधिवेशनमा समीक्षा गरेर अघि बढौँ 

सम्मानित नेता झलनाथ खनालले पार्टी गठनयता धेरै कमजोरी भएको औँल्याएका छन् । एमसिसी, तीन तहको निर्वाचन, नागरिकताको विषय, वर्ग दृष्टिकोण र पार्टीको भूमिकामा कमजोरी भएको उनले औँल्याए । ‘अपमानजनक सर्तसहित एमसिसी अनुमोदन गरेर पार्टीले गम्भीर गल्ती गर्‍यो । नागरिकताको विषयमा पनि पार्टीले जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकेन । नयाँ पार्टी भएकाले मुद्दा स्थापित गर्न निर्वाचनमा एक्लै उभिनुपथ्र्यो । निर्वाचनमा वर्गसंघर्ष बुझाउने ठूलो अवसर थियो । त्यसको सदुपयोग हुन सकेन । त्यही कारण देशव्यापी संगठन भएर पनि राष्ट्रिय बन्न सकेनौँ,’ खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

खनालले दक्षिणपन्थी शक्ति बढ्दै गएको र वामपन्थी शक्ति ओरालो लाग्ने क्रममा रहेको पनि औँल्याए । सबै वामपन्थी शक्ति मिलेर अगाडि बढ्नुको विकल्प नभएकोमा उनले जोड दिएका छन् । हालसम्मका कमजोरीको समीक्षा गर्दै नयाँ दृष्टिकोणको साथ पार्टीलाई अगाडि बढाउन आगामी फागुनभित्र महाधिवेशन गर्नुपर्नेमा समेत खनालले जोड दिएका छन् । फागुनभित्र महाधिवेशन गरेर जान सकिने उनको सुझाव छ । ‘महाधिवेशनको विकल्प छैन । आगामी फागुनभित्र महाधिवेशन गरेर जानुपर्छ । कमीकमजोरी सच्याउँदै वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर अगाडि जानुपर्छ,’ खनालको भनाइ थियो ।