साउनमा धेरै मानिस व्रत बस्छन् । यसका मानसिक र शारीरिक फाइदा छन् । उपवासले शरीरमा स्फूर्ति ल्याउने काम गर्छ । किनकि, मानिसले लगातार विभिन्न खानेकुरा खाइरहेका हुन्छन् ।
चिल्लो, मरमसालायुक्त, जंकफुड, फास्टफुडलगायत खानेकुरा खाइरहेका मानिसले केही समय त्यसबाट ब्रेक लिँदा सेल्सहरू अझै सक्रिय हुन पाउँछन् । जसकारण, शरीरको पाचन प्रणाली पनि सुदृढ भएर जान्छ । त्यसकारण उपवास बस्नु राम्रो हो । तर, शारीरिक रूपमा अशक्त, गर्भवती, सुत्केरीलगायतले उपवास बस्न जरुरी छैन । किनकि, उनीहरूलाई पोषणयुक्त आहार जरुरी हुन्छ ।
स्वस्थ मानिसले व्रत बस्दा हुन्छ । यस अवधिमा एक छाक र त्यो पनि सन्तुलित आहार लिनुपर्छ । मरमसला र चिल्लो कम खानुपर्छ ।
रातको समयमा पानीमा धनियाँको गेडा र मिश्री भिजाएर राख्ने र बिहान त्यसलाई सेवन गर्दा शरीरमा तागत पनि मिल्छ । तर, पिसाबसम्बन्धी समस्या भएका वा अन्य कुनै रोगका औषधि लिइरहेका मानिसले यस्तो गर्नुअघि एकपटक चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ ।
आयुर्वेदमा आहारलाई नै औषधिका रूपमा लिइन्छ । त्यसैले सिजनल फलफूल (स्याउ, केरा, आँप, नास्पातीलगायत) र हरियो सागसब्जी पर्याप्त खान सकिन्छ । ओट्सलगायत जौबाट बनेका आहार पनि खाँदा हुन्छन् । आयुर्वेदमा यसलाई सात्विक भोजनका रूपमा लिइन्छ । यसले स्फूर्ति पनि दिन्छ र भोक लागेको महसुस पनि गराउँदैन ।
गर्भवती, भर्खरै सुत्केरी भएका र दीर्घरोगीलाई पोषण पर्याप्त पुग्नुपर्छ । उनीहरूले उपवास बस्नु राम्रो होइन ।
कतिपय मानिस पानीसमेत नपिई व्रत बस्छन् । निर्जला एकादशीलगायतमा यसरी निराहार व्रत बस्ने गरिन्छ । तर, आफ्नो स्वास्थ्यलाई ख्याल राखेर मात्रै व्रत बस्नुपर्छ । पानीले शरीरलाई हाइड्रेट राख्ने काम गर्छ । त्यसैले हामीले पानी पिउनु राम्रो नै मानिन्छ । कतिपयले पानी नै नखाई पनि व्रत बसिरहनुहुन्छ ।
तर, आफ्नो स्वास्थ्यमा ध्यानलाई राखेर बस्नुपर्छ । शरीर शुद्ध राखेर मनको शान्ति खोज्नका लागि व्रत बसिने हो । यसले मानसिक तनावसमेत कम गराउँछ । तर, शरीरमा पानीको कमी हुँदा उल्टै विभिन्न समस्या देखिन सक्छन् । त्यसैले स्वास्थ्य अवस्था हेरेर केही समयको अन्तराल वा प्यास लागेपछि पानी पिउन सकिन्छ ।