मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Wednesday, 18 December, 2024
अभिजित पाठक
२o८o असार २७ बुधबार १o:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण एसियाली विश्वविद्यालयमाथि प्रश्न

Read Time : > 2 मिनेट
अभिजित पाठक
नयाँ पत्रिका
२o८o असार २७ बुधबार १o:o९:oo

दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयका चार प्राध्यापक निलम्बनको समाचार सुन्दा म स्तब्ध भएँ, तर पूर्ण रूपमा अचम्मित भने भइनँ । मैले चिनेसम्म यी प्राध्यापक आ–आफ्ना क्षेत्रमा क्षमतावान् एवं पोख्त छन् । यी प्राध्यापकलाई पूर्ण रूपमा ‘तटस्थ मूल्य–मान्यता’को व्यावसायिक कसीमा मूल्यांकन गर्न सकिन्न । विवेकलाई पछ्याउँदै विद्यार्थीसँग सौहार्दपूर्ण व्यवहार गरेका यी प्राध्यापकले एक सच्चा शिक्षकको उदाहरण पेस गरेका छन् ।

विद्यार्थीले मासिक छात्रवृत्ति कटौतीको विरोध र विश्वविद्यालयका केही समितिमा आफ्नो प्रतिनिधित्वको माग गरिरहेका थिए । विद्यार्थीका मागलाई ‘विधि–व्यवस्था’को मुद्दा बनाउँदै प्रहरी बोलाएर धरपकड गराउनुको सट्टा प्रशासनलाई संवादबाट सम्मानजनक समाधान पहिल्याउन शिक्षकले आग्रह गर्नु अस्वाभाविक थिएन । एक प्राध्यापकले आन्दोलनका क्रममा बिरामी भएका विद्यार्थीलाई भेटेका थिए । एक सभ्य समाजमा यस्तो सद्गुणका लागि शिक्षकको सराहना गरिन्थ्यो होला, तर हामी अहिले भिन्न समयमा बाँचिरहेका छौँ । सद्गुणलाई हामी अवगुण मान्छौँ, करुणाभावलाई गैर–व्यावसायिक मान्छौँ र हामीले बौद्धिकतालाई निस्सार उपेक्षाभावमा बदलिदिएका छौँ । तसर्थ, विश्वविद्यालय प्रशासनले उल्लिखित ‘गलत आचरण’लाई सहन नसकेका आधारमा चार शिक्षकलाई गरेको निलम्बनलाई म अवश्यम्भावी ठान्छु । 

विश्वविद्यालयबाट हुने यस्ता अनुशासनका उपायले शिक्षक समुदायमाझ दुई सन्देश प्रवाहित हुन्छ । पहिलो, एक शिक्षकका नाताले तपाईंले आफ्नो सीमा निर्धारण गर्नुपर्छ, आफ्नो आकर्षक तलब बुझेर कक्षाकोठामा ‘राजनीति’ ल्याउनु हुँदैन, अन्यथा सजाय व्यहोर्न तयार हुनुपर्छ । दोस्रो, निगरानीतन्त्रको शक्तिलाई उपेक्षा नगर्नुस्, यसले तपाईंका हरेक कदमको निगरानी गर्छ, अर्थात् ‘माक्र्सवादी अध्ययन वृत्त’ जस्ता ‘उग्र’ फोरममा तपाईं आबद्ध भए नभएको पनि हेर्छ । यी दुई सन्देशले भयको मनोविज्ञानलाई बढावा दिन्छ र यस्तो अवस्थामा अधिकांश शिक्षक ‘सुरक्षित’ रहन चाहन्छन्, कूटनीतिक व्यवहार प्रदर्शन गर्छन् र यिनको मौनताले प्रशासनलाई थप दमनकारी बनाउँछ ।  

के दक्षिण एसियाली विश्वविद्यालयले आफ्नो स्वायत्तता गुमाइरहेको हो ? के यो भारत सरकारको इसारामा नाच्ने भारतीय विश्वविद्यालय बनिरहेको हो ?  

सन् १९९० मा शिक्षण पेसा रोज्दै गर्दा मैले विश्वविद्यालयको एक आदर्श चित्रण बोकेको थिएँ । मैले विश्वविद्यालयलाई विद्यार्थी–शिक्षक सम्मिलित जीवन्त समुदायका रूपमा परिकल्पना गरेको थिएँ । मेरो परिकल्पनाको विश्वविद्यालयमा शिक्षक–विद्यार्थी एक क्रियाशील शिक्षणविधिमा रहेर सँगै सिक्छन् र गलत सिकाइलाई हटाउँछन् । यस्तो विश्वविद्यालयमा संस्कृति, राजनीतिलगायत विषयमा अर्थपूर्ण बहस एवं संकथन हुन्छ र न्यायपूर्ण विश्वका लागि विविध किसिमका प्रतिरोध हुने गर्छन् । र, यस्तो विश्वविद्यालयको प्रशासनले शिक्षक एवं विद्यार्थीलाई खुलापन एवं स्वतन्त्रताको वातावरणमा प्रगति गर्ने प्रत्याभूति गराउँछ । 

यो आदर्शलाई सुन्नेबित्तिकै विश्वविद्यालय सञ्चालन गरिरहेका आजभोलिका यान्त्रिक प्रवृत्ति बोकेका अधिकारी हाँस्छन् र यसलाई प्रहसनको विषय बनाउँछन् भन्नेमा म ढुक्क छु । यसका पछाडि नव–उदारवादमा आधारित प्रयोगवादी तर्कले काम गरेको छ, जसले विश्वविद्यालयलाई अराजनीतीकरण गरेर आकर्षक ‘ब्रान्ड’ बनाउन चाहन्छ । यो विश्वविद्यालयरूपी ब्रान्डले ‘उत्पादन’ र ‘निपुणता’लाई मन पराउँछ, जहाँ विद्यार्थी उपभोक्ता हुन्छ भने शिक्षक सेवा प्रदायक । यी परिस्थितिमा पाउलो फ्रेरे, बेल हुक्सजस्ता बौद्धिकले पैरवी गर्ने आलोचनात्मक शिक्षणविधिले बिरलै स्थान पाउँछन् । यहाँ एक शिक्षकबाट ‘तटस्थ मूल्य–मान्यता’को अपेक्षा गरिन्छ ।

राजनीति एक विषयान्तर हो र शिक्षकले केवल ‘साइटेसन इन्डेक्स’ (उद्धृत हुने योग्यताको स्थान) र ‘इम्प्याक्ट फ्याक्टर’ (प्रभावकारिता) को गणितमा ध्यान दिएर शोधपत्र लेख्दै विश्वविद्यालयको ‘श्रेणी’लाई बलियो बनाउनुपर्छ । त्यसैगरी विद्यार्थीले उपयोगितावादी उद्देश्य मात्रै पूरा गर्नुपर्छ । सम्भवतः दक्षिण एसियाली विश्वविद्यालयले यही चाहेको हो । यो अवस्थामा मुखर विद्यार्थी विघटनकारी तत्व मानिनु अस्वाभाविक होइन, यदि तपाईं यी ‘समस्याजनक’ विद्यार्थीसँग जोडिनुहुन्छ भने तपाईंले दुःख पाउनु स्वाभाविक हो । तसर्थ, शिक्षकको निलम्बनलाई एकांगी ढंगबाट हेर्न मिल्दैन । 

यसमाथि भारत चुनावी अधिनायकवादतर्फ तीव्र गतिमा गइरहेको छ र हामी ‘बौद्धिकताविरोधी’ भाइरसले निम्त्याएको नयाँ संकटको साक्षी बनिरहेका छौँ । हामीले आलोचनात्मक सोच राख्ने नै होइन । संस्थापनलाई प्रश्न गर्ने नै होइन । हामीले त केवल विकास, राष्ट्रवाद र धर्मको वर्चस्वशाली संकथनलाई मात्रै स्वीकार गर्नुपर्छ । यो अवस्थामा फरक मत राख्दा दण्डित हुनु अचम्मको विषय हो र ? भारतका सबै कुनामा रहेका विश्वविद्यालय चाहिनेभन्दा बढी चनाखो भइरहेका छन् र यिनले आलोचनात्मक सोच वा आमूल परिवर्तनकारी जीवन अभ्यासलाई प्रवद्र्धन गर्ने शैक्षिक, सांस्कृतिक वा राजनीतिक गतिविधि गर्न दिँदैनन् । तर, मैले दक्षिण एसियाली विश्वविद्यालय गुणात्मक रूपमा फरक होला भन्ने अपेक्षा गरेको थिएँ ।

वास्तवमा म यो विश्वविद्यालय कैयौँपटक पुगेको छु र बंगलादेश, नेपाल, अफगानिस्तान, भारतलगायत मुलुकका विद्यार्थीसँगको अन्तत्र्रिmयाले मलाई अपार सन्तुष्टि दिएको छ । त्यहाँका तेजस्वी एवं युवा शिक्षकले ठूलो आनन्द दिन्छन् । के दक्षिण एसियाली विश्वविद्यालयले आफ्नो स्वायत्तता गुमाइरहेको हो ? के यो विश्वविद्यालय भारत सरकारको इसारामा नाच्ने भारतीय विश्वविद्यालय बनिरहेको हो ? के यो एक अनुसारक, अराजनीतीकृत जागिरे वा उग्रराष्ट्रवादी जत्था उत्पादन गर्ने विश्वविद्यालय बनेको हो ? 

यी चार शिक्षकका लागि मेरो मन कुँडिएको छ । योभन्दा बढी चिन्ताको विषय भनेको ‘जोखिम’ लिन नखोज्ने र ‘मेरो जागिर, सुरक्षा, परिवार, कार, अपार्टमेन्ट, बैंक ब्याज’का संकुचित चिन्ताबाट मुक्त हुन नसक्ने तुलनात्मक रूपमा प्रगति गरिरहेका भारतीय मध्यम वर्ग हुन् । यी पीडित शिक्षकले ठूलो शिक्षक समुदायबाट कुनै किसिमको ठोस एवं दिगो भावनात्मक र राजनीतिक समर्थन पाउनेछैनन् । आफ्नो एक्लो लडाइँमा यिनले आर्थिक एवं मनोवैज्ञानिक प्रताडना व्यहोर्नेछन् । तर, जीवनको यस मोडले यिनको विश्वास थप बलियो बनाएर अहिलेको दुरुह समयमा आशाको ज्योति बन्नेछन् भन्नेमा म विश्वस्त छु ।  
(पाठक जवाहरलाल विश्वविद्यालयका समाजशास्त्रका सेवानिवृत्त प्राध्यापक हुन्) द ट्रिब्युनबाट