पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतविरुद्धको खेलस्थल सार्न प्रस्ताव राख्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को कार्यसमिति बैठक दक्षिण अफ्रिकामा हुँदै छ । बैठकमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष जाका असरफले भारतसँगको खेल तटस्थ भूमिमा हुनुपर्ने माग राख्ने बताएका छन् ।
भारतमा सुरक्षाको कारण देखाउँदै पाकिस्तानले खेलस्थल सार्ने प्रयास गर्न लागेको भारतीय मिडियाले जनाएको छ । ‘पिसिबी अध्यक्ष असरफ विश्वकपको खेलस्थल सार्न लगाउने प्रमुख एजेन्टका रूपमा प्रस्तुत हुनेछन्,’ भारतीय मिडियाले जनाएको छ । यसअघि, भारतले पाकिस्तानी भूमिमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भाग नलिने र तटस्थ भूमिमा सहभागी हुने घोषणा गरेको थियो ।
प्रतियोगितामा भारत सहभागी नहुने भएपछि एसियन क्रिकेट परिषद् (एसिसी)ले एसिया कप पाकिस्तानबाट श्रीलंकामा आयोजना हुने घोषणा गर्यो । पाकिस्तानले एसिया कपकै विवाद निकालेर विश्वकपलाई अन्योल बनाएको जनाएको छ । ‘पाकिस्तानले विश्वकपअन्तर्गत भारतसँग हुने खेल तटस्थ भूमिमा हुनुपर्ने माग राखेको छ, उनीहरूले एसिया कपकै इस्यु निकालेका छन्,’ भारतीय एजेन्सीले भनेको छ ।
भारतले पाकिस्तानी भूमिमा एसिया कप नखेल्ने घोषणा गरेको थियो । पाकिस्तानले अब भारतमा हुने एकदिवसीय विश्वकपअन्तर्गत आफ्ना खेलहरू तटस्थ भूमिमा हुनुपर्ने माग आइसिसीमा राख्ने भएको छ ।
भारतले एसिया कपमा ‘हाइब्रिड मोडेल’ अपनाएको थियो । यो मोडेल भनेकै तटस्थ भूमिमा प्रतियोगिता आयोजना हुनु र सम्बन्ध नराम्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नु हो । आइसिसीको कार्यकारी बैठकमा सबै राष्ट्रका पदाधिकारी पुगेका छन् । पिसिबीका अध्यक्ष असरफले अन्तर्राष्ट्रिय एजेन्सीसँग कुराकानी गर्दै ‘हाइब्रिड मोडेल’ अवधारणा प्रस्तुत गर्ने बताएका छन् । ‘जसरी भारतले एसिया कपको वेला हाइब्रिड मोडेल नीति अपनाएको थियो, हामी पनि त्यही रणनीति प्रयोग गर्छौं,’ उनले भने ।
पिसिबी क्याबिनेटको निर्णयको प्रतीक्षामा
पाकिस्तान सरकारले अहिलेसम्म टोलीलाई भारतमा प्रतिस्पर्धा अनुमति दिएको छैन । पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफले क्याबिनेटको निर्णयपछि मात्र आफ्नो धारणा आउने जनाएका छन् । सरकारले भारतको पछिल्ला रणनीतिविरुद्ध कडा प्रतिवाद गर्नुपर्ने जनाएको छ ।
यसै कारण पाकिस्तानले आइसिसीको बैठकमा नयाँ प्रस्ताव राख्न लागेको हो । यसैबीच, पिसिबीका एक अधिकारीले आइसिसी बैठकमा भारतीय क्रिकेट बोर्डका पदाधिकारीसँग छलफल हुने जनाए । ‘सम्भवतः हामी बिसिसिआईसँग तटस्थ भूमिमा खेलको बारेमा छलफल गरौँ,’ उनले भने, ‘भारत मान्ने पक्षमा छैन, तर हामी हाइब्रिड मोडेललाई पछ्याउँछौँ ।’ गत महिना आइसिसीले भारतमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको थियो ।