मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २६ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o असार २६ मंगलबार o९:५९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा लम्पी स्किन संक्रमणबाट १२४८ पशु मरे, ४० हजारभन्दा बढी संक्रमित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार २६ मंगलबार o९:५९:oo

बागमती प्रदेशमा गाईवस्तुमा लाग्ने संक्रामक रोग लम्पी स्किनका कारण अहिलेसम्म एक हजार दुई सय ४८ गाईवस्तुको मृत्यु भएको छ । प्रदेशका १३ वटै जिल्लामा महामारीका रूपमा फैलिएको लम्पीबाट ४० हजारभन्दा बढी गाईवस्तु संक्रमित भएका छन् ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार लम्पी स्किन रोगको संक्रणबाट प्रदेशका १३ जिल्लाका ४० हजार तीन सय ७२ गाईवस्तु प्रभावित भएका छन् । 

लम्पीबाट सबैभन्दा बढी एक हजार ८६ गाई, एक सय तीन गोरु, ४६ बाच्छाबाच्छी र १३ वटा भैँसीको मृत्यु भएको छ । यस्तै, प्रदेशका १३ जिल्लाका ३५ हजार ६ सय ७८ गाई, तीन हजार तीन सय नाै गोरु, सात सय ५९ भैँसी र ६ सय १७ वटा बाच्छाबाच्छी संक्रमित भएका छन् ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार लम्पी स्किन रोगबाट धादिङका गाईवस्तु सबैभन्दा बढी संक्रमित भएका छन् । अधिकारीले धादिङमा मात्रै नाै हजार पाँच सय ४९ गाईवस्तुमा संक्रमण भएको जानकारी दिए । 

यस्तै, संक्रमणका कारण मृत्यु हुने गाईवस्तुको संख्या भने सबैभन्दा बढी मकवानपुरमा छ । यहाँ दुई सय ७४ गाईवस्तुको मृत्यु भएको छ । दोस्रो बढी मृत्यु भएको धादिङमा दुई सय ५२ गाईवस्तुको लम्पीको संक्रमणबाट मृत्यु भएको अधिकारीले जानकारी दिए ।

धादिङपछि लम्पीबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा मकवानपुर, चितवन, नुवाकोट र सिन्धुपाल्चोक रहेका छन् । मकवानपुरमा सात हजार दुई सय ९५ गाईवस्तु संक्रमित भएका छन । चितवनमा ६ हजार सात सय ९९ गाईवस्तु संक्रमित हुँदा एक सय ७६ गाई मरेका छन् । नुवाकोटमा ६ हजार एक गाईमा संक्रमण पुष्टि हुँदा एक सय ७८ गाईवस्तुको मृत्यु भएको छ ।

यसैगरी, सिन्धुपाल्चोकमा चार हजार तीन सय २५ गाईवस्तुमा संक्रमण पुष्टि हुँदा एक सय ५७ गाईको संक्रमणबाट मृत्यु भएको छ । दोलखामा तीन हजार एक सय ८१ गाईवस्तुमा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५१ वटा गाई मरेका छन् । 

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा नाै सय ४२ गाईवस्तुमा संक्रमण पुष्टि हुँदा ९२ वटा गाईवस्तुको मृत्यु भएको छ । यता भक्तपुरमा लम्पीका कारण आठ सय ३० गाईवस्तु संक्रमित हुँदा १८ वटाको मृत्यु भएको छ भने ललितपुरमा पाँच सय ४५ गाईवस्तुमा संक्रमण पुष्टि भएकोमा २१ गाई रोगको संक्रमणका कारण मरेका छन् । 

यस्तै, सिन्धुलीमा तीन सय २४ गाईमा लम्पीको संक्रमण देखिएको छ भने नाै गाई मरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । काभ्रेमा एक सय ३१ गाई भैँसीमा संक्रमण देखिएको छ भने चारवटा गाई संक्रमणबाट मरेका छन् । रसुवामा दुई सय ३४ गाईमा संक्रमण देखिएको छ भने १५ गाई संक्रमणका कारण मरेका छन् । रामेछापमा दुई सय १६ गाईमा संक्रमण पुष्टि हुँदा एउटा गाई मरेको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले लम्पीको संक्रमणका कारण गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्नेजस्ता लक्षणहरू देखापर्ने जानकारी दिए ।

संक्रमण नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गर्ने तयारी
यसैबीच लम्पी स्किन रोगको संक्रमणदर बढ्दो क्रममा रहेकाले बागमती प्रदेशलाई आपतकालीन अवस्था घोषणा गरेर नियन्त्रणको  गर्ने तयारी भइरहेको प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले प्रदेश मन्त्रालयले लम्पी संक्रमणको अवस्थालाई बागमतीमा आपतकालीन अवस्थाको रूपमा व्याख्या गर्ने तयारी गरेको जानकारी दिए । उनले लम्पी स्किन रोगको संक्रमणदर बढ्दो क्रममा रहेकाले आपतकालीन अवस्था घोषणा गरेर नियन्त्रणको तयारी गर्नेतर्फ छलफल भइरहेको बताए ।

‘लम्पी स्किन रोगको संक्रमण दर न्यूनीकरणका लागि मन्त्रालयबाट पहल भइरहे पनि सोचेजस्तो सफलता प्राप्त हुन सकेको छैन । रोग नियनत्रणभन्दा बाहिर जान नदिन मन्त्रालयले संघीय सरकारसँगको छलफलमा आपतकालीन अवस्था घोषणाको तयारी गरिरहेका छौँ,’ डा. शर्माले भने ।

रोग नियन्त्रणका लागि मन्त्रालयबाट सचेतनामूलक कार्यक्रम, खोप तथा प्राविधिकहरूको सहयोग कृषकहरूलाई उपलब्ध गराउँदै आएको डा. शर्माले बताए । मन्त्रालयले आगामी आर्थिक वर्षको साउनबाट कार्यविधि र निर्देशिकाहरू निर्माण गरी अभियानकै रूपमा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । अभियानमार्फत प्रदेशमा रहेका ११ लाख गाईमध्ये चार लाख गाईलाई खोप लगाउने गरी कार्ययोजना र रणनीति निर्माणको चरणमा रहेको उनको भनाइ छ ।

डा. शर्माले लम्पी स्किन रोगको संक्रमण नियन्त्रण र रोकथामका लागि अहिलेसम्म प्रभावित भएका जिल्लाका ५६ हजार बढी गाईवस्तुमा रोगविरुद्धको खोप लगाइएको जानकारी दिए । उनले प्रदेशका १० जिल्लाका ५६ हजार तीन सय ३३ गाईमा खोप लगाइएको बताए ।

लम्पीको संक्रमणका कारण दुहुना गाईवस्तुको मृत्यु हुनुका साथै संक्रमित वस्तुमा दूध उत्पादनमा समेत ह्रास आउँदै किसान मर्कामा परेका छन् । प्रदेशमा रोगको संक्रमणका कारण ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास आएको मन्त्रालयले जनाएको छ ।