मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २६ मंगलबार
  • Thursday, 19 December, 2024
गुलनाज साराफुतदिनोभा
२o८o असार २६ मंगलबार o९:१९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वर्तमान अवस्था सकारात्मक छैन रुसका लागि 

Read Time : > 2 मिनेट
गुलनाज साराफुतदिनोभा
नयाँ पत्रिका
२o८o असार २६ मंगलबार o९:१९:oo

रुस अझै तल्लो बिन्दुमा पुगिसकेको त छैन, तर क्रेमलिनले गैरजिम्मेवार ढंगले सुरु गरेको आक्रामक युद्धको नतिजा निर्विवाद रूपमा व्यहोर्नेछ 

केही राजनीतिक संकटको अनुमान गर्न गाह्रो हुन सक्छ । जुनको अन्त्यमा सुरु भएको रुसमा हालैको संकट केही महिनादेखि विकसित हुँदै गइरहेको थियो । भाडाका सिपाही वाग्नर समूहका नेता येभगेनी प्रिगोजिन र रुसी रक्षा मन्त्रालयबीचको द्वन्द्व सार्वजनिक भए पनि यसको पूर्वानुमान गर्न चुनौतीपूर्ण थियो ।

यही २४ जुनमा रुस र विश्वव्यापी समुदायको साक्षी बनेको प्रिगोजिनको नेतृत्वमा भएको सैन्यकृत ‘न्यायको (यात्रा) मार्च’ ६ जनवरी २०२० मा अमेरिकी क्यापिटोलमा भएको भिडको आक्रमणजस्तै डरलाग्दो, आश्चर्यजनक र चिन्ताजनक थियो । आफ्नो शक्ति केन्द्रमा सशस्त्र आक्रमण प्रयासको सामना गर्ने रुस एक मात्र मुलुक होइन । यद्यपि रुसको संकटमा क्रेमलिनको प्रतिक्रिया अमेरिकी सरकारले सन् २०२० को क्यापिटोल विद्रोहमा जस्तो देखिएन । अमेरिकामा संसदीय समितिको नेतृत्वमा ६ जनवरीको घटनाको व्यापक सार्वजनिक अनुसन्धान भयो । अमेरिकी अनुसन्धानमा सार्वजनिक सुनुवाइ समावेश थियो, जसको प्रत्यक्ष प्रसारण गरिएको थियो र आठ सय पृष्ठको अन्तिम रिपोर्ट प्रकाशित गरिएको थियो । यसबाहेक करिब एक हजार व्यक्तिलाई आक्रमणको सम्बन्धमा संघीय अपराधको आरोपसमेत लगाइएको थियो । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले प्रिगोजिनसँग सम्झौता गर्ने निर्णय गरे र प्रिगोजिन र उनका केही भाडाका सैनिकलाई बेलारुसमा निर्वासनमा पठाए । यसपछि हुने जुनसुकै कदम पनि सम्भवतः पर्दापछाडि हुनेछन्, तसर्थ पर्यवेक्षकले राजनीतिकस्तरमा केकस्ता परिणाम आउनेछन् भनेर हेर्न कुर्नुपर्नेछ । 

यद्यपि केही दीर्घकालीन परिणाम स्पष्ट नै छन् । रुसले युक्रेनसँग युद्ध जारी राख्नेछ, तर अब रुसी सेनाले एकीकृत कमान्डमा काम गर्नेछ । क्रेमलिनले अनियन्त्रित समानान्तर संरचनाको राजनीतिक असरलाई अत्यधिक मूल्य चुकाउनुपर्ने क्षतिका रूपमा हेर्छ । रुसी सरकारले रक्षा मन्त्रालयको नियन्त्रणमा नभएका सैन्य बललाई अधिकार र कमान्ड गर्न सक्ने प्रिगोजिनजस्ता स्वतन्त्र सैन्य अपरेटरको उदयलाई रोक्न विभिन्न उपाय लागू गर्नेछ । यसैअनुरूप हाल प्रारम्भिक चरणमा सबै निजी संरचनालाई मन्त्रालयको अख्तियारी ल्याउन रक्षामन्त्री सर्गेई सोइगुले ११ जुनमा जारी गरेको निर्देशनलाई लागू गर्ने पनि समावेश छ । चेचेन अगुवा रमजान कदिरोभ अख्मत बलले रक्षा मन्त्रालयसँग सम्झौता गरिसकेको छ । तर, के यसको अर्थ क्रेमलिनले अख्मत बलमाथि पूर्ण नियन्त्रण जमाएको हो ? 

जबसम्म पुटिनको रजगज चलिरहन्छ, तबसम्म कदिरोभ स्वभावतः पुटिनविरुद्ध जानेछैनन् । तर, यदि पुटिनको नेतृत्वको स्थिरतामा ढलमल भयो भने कदिरोभको व्यवहार पनि अप्रत्यासित हुन सक्छ । क्रेमलिनलाई यस सम्भाव्यताबारे राम्ररी थाहा छ र चेचेन्यामा पर्ने ककेसस क्षेत्र रुसभित्रको सबैभन्दा अस्थिर र अप्रत्यासित क्षेत्र मानिन्छ । त्यसैगरी पुटिनले विद्रोहपछि तुरुन्तै दागेस्तान भ्रमण गर्ने निर्णय कुनै संयोग होइन । पुटिनको उद्देश्य समर्थकको भिडसँग सार्वजनिक रूपमा अन्तरक्रिया गरेर आफ्नो लोकप्रियता देखाउनु थियो र यो प्रदर्शन उनका लागि एकदम असामान्य थियो । रणनीतिक रूपमा जनसम्बन्ध सुधार्ने प्रदर्शनको उद्देश्य राजनीतिक रूपमा बलियो भएको देखाउन र ककेसस क्षेत्रमा आफ्नो अधिकारलाई पुनः पुष्टि गर्नु थियो ।

क्रेमलिनले सैन्य कमान्ड र नियन्त्रणलाई स्थिर गर्न पर्दापछाडिका उपाय लागू गर्न जारी राख्नेछ । त्यसैगरी, जनतालाई जानकारी नदिईकनै रुसभित्र र बाहिर वाग्नरको संरचना र गतिविधिलाई भत्काउनेछ । रुस सशस्त्र बलमा केन्द्रीकृत नियन्त्रण पुनस्र्थापित गर्न सफल पक्कै हुनेछ, तर यसको अर्थ रुसलाई प्रिगोजिनको असफल विद्रोहबाट कुनै क्षति पुगेन भन्न मिल्दैन । प्रिगोजिनको असफल विद्रोहले निम्त्याएका प्रणालीगत चुनौती जारी रहनेछन् र यी चुनौतीले रुसी राष्ट्रपतिको अख्तियारीलाई कमजोर पार्ने र देशलाई अस्थिर बनाउने क्षमता राख्छन् ।

मुख्य चिन्ता रुसी सेनाकै वरिपरि घुम्छ । रुसी समाज र कुलीन वर्गमा युक्रेन युद्धमा जित सुनिश्चित हुन्छ भन्नेमा शंका निरन्तर बढ्दै गइरहेको छ । रुसी सेनाले युद्धको मैदानमा आफ्नो प्रभावकारिता बढाउने सम्भावना निकै कम छ । जित सुनिश्चित गर्ने उपाय भनेको आणविक हमला गर्नु वा युक्रेनको जपोरिझिया आणविक ऊर्जा केन्द्रमा क्षति पु¥याउनु हो र यी दुवै सम्भव हुनेछैनन् ।

अघिल्लो वर्षसम्म प्रिगोजिनले लगातार रक्षा अधिकारीको अक्षमता र सेनाको तल्लो तहको अप्रभावकारितामाथि जोड दिएका थिए । यो बुझाइ रुसी जनताको मतसँग प्रतिध्वनित भएको छ । ‘न्यायको मार्च’पछि करिब एकतिहाइ रुसीले रक्षामन्त्रीका रूपमा सोइगु आफ्नो भूमिकाबाट हटून् भन्ने इच्छा व्यक्त गरेका थिए । सेनामा समर्थन र जनविश्वास घट्नुका अतिरिक्त क्रेमलिनले प्रशस्त आर्थिक अवरोधको सामना गरिरहेको छ । अर्थतन्त्रको जोड सैन्य निर्माण र खरिदमा केन्द्रित देखिन्छ र निजी क्षेत्रले परिस्थितिलाई सामना गर्न सकिरहेको छैन । रुबलको अवमूल्यन, पश्चिमा प्रतिबन्धको विस्तार र उद्यमशीलताका लागि घट्दो अवसरले क्षति बढाइरहेको छ । 

उसो त विपन्न र जोखिममा रहेका मानिसको सामाजिक संरक्षणका उपायले केही समयलाई रोके पनि रुसी जनता गरिब हुने प्रक्रिया अवश्यम्भावी छ । र, युद्धका दौरान र बढ्दो पश्चिमा नाकाबन्दीले यी सामाजिक संरक्षणका कार्यक्रममा बजेट अभाव निम्त्याइरहेको छ ।

विद्यमान अवस्थालाई हेर्ने हो भने क्रेमलिनको अवस्था कुनै कोणबाट सकारात्मक देखिँदैन । हालको अवस्थामा कुनै महत्वपूर्ण परिवर्तन नभएसम्म रुसमाथि विभिन्न प्रकारका सामाजिक–राजनीतिक, सैन्य र आर्थिक दबाब बढिरहनेछन्, परिणामस्वरूप विभिन्न प्रकारका फुट र विस्फोट भइरहनेछन् । रुस अझै तल्लो बिन्दुमा पुगिसकेको त छैन, तर क्रेमलिनले गैरजिम्मेवार ढंगले सुरु गरेको आक्रामक युद्धको नतिजा निर्विवाद रूपमा व्यहोर्नेछ । 

(साराफुतदिनोभा किंग्स कलेज लन्डनको रसियन इन्स्टिच्युटकी कार्यवाहक निर्देशक हुन्) 
अल जजिराबाट