गत असोजमा दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो
दक्षिण एसियाली च्याम्पियनसिप (साफ) फाइनलमा बेहोरेको हारको बदला लिने योजनासहित नेपाल राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान गर्दै छ । एन्जिला तुम्बाप्पोको कप्तानीमा नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । टोलीमा २३ खेलाडी तथा सात अफिसियल छन् । नेपालले २८ र ३१ असारमा मैत्रीपूर्ण खेल खेल्नेछ । गत ३ असोजमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । हारसँगै नेपालको उपाधि जित्ने लक्ष्य पूरा भएन ।
सोही प्रतियोगितामा नेपालले भारतलाई १–० ले हराएको थियो । फाइनलमा महिला फुटबलमा ठूलो लगानी गरेको बंगलादेशविरुद्ध नेपाल निरीह बन्यो । हारसँगै प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका थिए । अहिले टोलीको प्रशिक्षणमा अनन्तराज थापा छन् । पाँच महिनादेखि उनले खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । थापाले बंगलादेशविरुद्ध हारको बदला लिने योजना रहेको बताएका छन् ।
‘हामीले पछिल्लो भेटमा बेहोरेको हारको बदला लिने लक्ष्य राखेका छौँ, हामी तयार छौँ,’ उनले भने, ‘समग्रमा टोली राम्रो छ, फिटनेसमा समस्या छैन, खेलाडीबीचको तालमेल राम्रो छ ।’ कप्तान एन्जिलाले पनि तयारी राम्रो भएको जनाइन् । ‘यसपटक हाम्रो तयारी राम्रो भएको छ, सबैले एउटै लक्ष्य राखेका छन्, बंगलादेशलाई दुवै खेलमा पराजित गर्ने,’ उनले भनिन्, ‘खेलाडी नियमित प्रशिक्षणमा छन्, उच्च मनोबलका साथ ढाका जाँदै छौँ ।’
साफपछि चार खेल
साफपछि नेपालले भारत र भियतनामसँग समान दुई खेल खेल्यो । अब बंगलादेशसँग दुई खेल खेल्न लागेको हो । भियतनामसँग टोलीमा नरहेका गीता राना र प्रीति राईले यसपटक पुनरागमन गरेका छन् । नेपाली सेनाको मिसनमा रहँदा अन्जिला वाइबाले पाँच वर्षपछि टोलीमा स्थान बनाएकी छिन् । गीता र प्रीति घाइते भएकाले तीन महिना टोलीबाट बाहिर रहे । ‘प्रीति र गीता फर्कनु सकारात्मक हो, दुवैले राम्रो गर्ने प्रयास गरेका छन्,’ प्रशिक्षक थापाले भने, ‘स्ट्राइकर सावित्रा भण्डारी लयमा हुनु राम्रो हो ।’
नेपाली टोलीमा एन्जिलासँगै गोलरक्षकमा अञ्जना रानामगर र उषा नाथ छन् । रक्षकमा अमृता जैसी, गीता, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, अञ्चला र समीक्षा घिमिरेले स्थान बनाएका हुन् । मिडफिल्डरमा सरु लिम्बू, रेनुका नगरकोटे, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सविता रानामगर र अनिता केसी रहेका छन् । स्ट्राइकरमा सावित्रासँगै, रश्मिकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेलले स्थान पक्का गरेका छन् ।
शेर्पाको अध्यक्षतामा क्लब एसोसिएसन
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब एसोसिएसन तदर्थ समिति गठन भएको छ । सोमबार बसेको क्लबहरूको बैठकले हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङलाई अध्यक्ष बनाएको हो । बैठकले १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । क्लब एसोसिएसनमा सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट ६, बी डिभिजनबाट ४ र सी डिभिजन लिगबाट ३ क्लब छन् । उपाध्यक्षमा मनाङ मस्र्याङ्दी क्लबका विजय घले र रानीपोखरी कर्नर टिम (आरसिटी)का कुमारराज भण्डारी छन् । महासचिवमा मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, सचिवमा सानेपा क्लबका ध्रुवविक्रम पाण्डे र कोषाध्यक्षमा स्पोर्टिङ साँगाका मनोरथ आचार्य चयन भए । संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, फ्रेन्ड्सका विश्वासविक्रम शाह, सातदोबाटो युथका कपिल रानामगर, न्युरोड टिम (एनआरटी)का डिकेन सुवाल, नयाँबस्ती युवाका रामकुमार तामाङ, सरस्वतीका शिक्षित पराजुली र मनोहरा युनाइटेडका दीपक ज्ञवाली रहेका छन् ।