मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Wednesday, 18 December, 2024
अर्थमन्त्री जेनेट येलेन (बायाँ) बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा चीनका प्रधानमन्त्रीली छ्याङसँग । तस्बिर : एपी
एजेन्सी
२o८o असार २४ आइतबार o९:o२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी अर्थमन्त्री चीन भ्रमणमा, व्यापार सम्बन्ध सुधारको अपेक्षा

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o असार २४ आइतबार o९:o२:oo

अमेरिकाले अर्थमन्त्रीको भ्रमणबाट महत्वपूर्ण सफलताको अपेक्षा नगर्ने, तर चीनसँग सञ्चारका दीर्घकालीन च्यानल कायम गर्ने लक्ष्य राखेको छ 

हाल चीन भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्री जेनेट येलेन बेइजिङमा महत्वपूर्ण भेटघाटमा व्यस्त छिन् । विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा तनाव बढिरहेकै वेला अर्थमन्त्री येलेनले जुलाई ६ बाट बेइजिङको भ्रमण सुरु गरेकी हुन् । चारदिने भ्रमणमा रहेकी अर्थमन्त्री येलेनले दुई देशबीचको तनाव मत्थर गर्ने वासिंटनको चाहनालाई अभिव्यक्त गर्दै आपसी साझेदारी बढाउने प्रयास गरेकी छिन् । 

येलेनको भ्रमण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बेइजिङमा केहीअघि चीनका शीर्ष नेता सी जिनपिङ र विदेशमन्त्री किनगाङसँग भेटवार्ता गरेको पृष्ठभूमिमा सुरु भएको छ । अर्थमन्त्री येलेन जुलाई ९ सम्म बेइजिङ रहनेछिन् । ‘येलेनले आफ्ना समकक्षीसँग ‘दुई देशबीचको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, आ–आफ्ना चासोका क्षेत्रबारे प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीको सामना गर्न’ दुवै देशको धारणाबारे छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले प्रस्ट पारेको छ । 

बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा पनि छलफल गर्ने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । ‘वासिंटनले बेइजिङसँग ‘स्वस्थ’ सम्बन्ध चाहेको छ । जलवायु परिवर्तन एवं कर्जा संकटजस्ता चुनौतीमा सहकार्य गर्न चाहन्छ । चीनको अर्थतन्त्रलाई कमजोर बनाउन चाहँदैन,’ अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले भनेका छन् । अर्थमन्त्रीले चीन अवस्थित केही प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । 

‘अमेरिकाले अर्थमन्त्रीको भ्रमणबाट महत्वपूर्ण सफलताको अपेक्षा नगर्ने तर चीनसँग सञ्चारको दीर्घकालीन च्यानलहरू निर्माण गर्ने लक्ष्य राखेको छ,’ अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘काउन्सिल अन फरेन रिलेसन्स (सिएफआर)’ का वरिष्ठ सदस्य एडवर्ड एल्डेनले एएफपीसँग भनेका छन्, ‘मलाई लाग्छ अमेरिकी सरकारले प्रस्ट रूपमा आर्थिक सम्बन्धको बिग्रिँदो अवस्थालाई कम गर्ने प्रयास गरिरहेको छ ।’ पछिल्लो समय अमेरिकाले समस्यालाई कसरी समाधान गर्ने भन्दा पनि जोखिम कसरी न्यून गर्ने भन्ने अस्पष्टताको रणनीतिलाई अपनाएको उनले बताए । एल्डेनले भने, ‘अमेरिका–चीन आर्थिक सम्बन्धलाई उचित रूपमा बलियो बनाउने प्रयासलाई जारी राख्नु राम्रो हुन्छ ।’ तर, दुई फरक सिद्धान्त र परिवेशबाट अघि बढिरहेका यी दुई ठूला अर्थतन्त्रका जिम्मेवार अधिकारीको भ्रमणले तनावको समाधान दिनेमा पर्यवेक्षकले खासै आशा गरेका छैनन् । 

अमेरिकाले वासिंटनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण उन्नत प्रविधिमा चीनको पहुँच सीमित गरेर उसबाट ‘जोखिम कम गर्न’ खोजिरहेको जनाएको छ । अमेरिकाले थुप्रै चिनियाँ कम्पनीलाई उन्नत चिप्सको पहुँचबाट टाढा राख्न तिनलाई कालोसूचीमा राखेको छ भने आफ्ना सहयोगी देशलाई पनि यसको अनुसरण गर्न दबाब दिइरहेको छ । येलेनले चिनियाँ प्रधानमन्त्रीसँगको भेटमा वासिंटनले ‘केही परिस्थितिमा आफ्नो राष्ट्रिय सुरक्षा रक्षाका लागि लक्षित कदम चाल्नुपरेको’ धारणा राखेकी थिइन् । 

केही विश्लेषकहरूले येलेनको भ्रमणले सम्बन्धलाई न्यानो बनाउन मद्दत गर्न सक्ने बताएका छन् । ‘येलेन वास्तवमा बाइडेन प्रशासनको व्यावहारिक र वार्तामा सफल सदस्य जस्तो देखिन्छिन्,’ चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका ताओ वेन्झाओले भ्रमणबारे एएफपीसँग भने । यस वर्षको सुरुमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुनहरू’लाई अमेरिकी आकाशबाट खसालेपछि यी दुई अर्थतन्त्रबीचको विवाद थप तनावपूर्ण बनेको थियो । सोही विषयलाई लिएर अमेरिकी विदेशमन्त्री ब्लिंकेनले आफ्नो चीन भ्रमण नै रद्द गरे । तर, पछि गत जुनमा उनले चीनको भ्रमण गरेका थिए ।

 ‘आपसी चासोका विषयमा सोझै संवाद गरौँ’
अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै संवाद गर्न सुझाएको छ । चीन भ्रमणमा रहेकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा उक्त प्रस्ताव गरेकी हुन् । ‘वासिंटन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे चासो भए सोझै संवाद गर्नुपर्छ । हालैको तनावका बाबजुद हामीले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यले पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त स्थान रहेको स्पष्ट हुन्छ,’ उनले भनिन् । चिनियाँ उपप्रधानमन्त्रीले गत नोभेम्बरमा राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको भेटवार्तापछि पनि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिंटनले बेवास्ता गरेको र दुई राष्ट्र प्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकोमा खेद प्रकट गरेका थिए । सामान्य विषयलाई दुई मुलुकबीचको सम्बन्धमा समस्या हुन दिन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले अमेरिकाको ध्यान आकर्षित गरेका थिए ।