१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ बैशाख ८ आइतबार ०८:५७:००
Read Time : > 2 मिनेट
अर्थ

हावाहुरीको क्षतिको आठ करोड बिमा दाबी 

नौ निर्जीवन बिमा कम्पनीमा ४२ वटा दाबी, १२ करोड रुपैयाँसम्मको दाबी पर्ने अनुमान

Read Time : > 2 मिनेट
२०७६ बैशाख ८ आइतबार ०८:५७:००

गत चैतमा बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट करिब आठ करोड रुपैयाँको क्षति भएको भन्दै सो रकमबराबरको दाबी निर्जीवन बिमा कम्पनीहरूमा  परेको छ । बिमा समितिको तथ्यांकअनुसार नौ निर्जीवन बिमा कम्पनीमा ४२ वटा यस्ता दाबी परेका छन् । सोअनुसार प्रारम्भिक हावाहुरीबाट आठ करोड ५१ लाख २३ हजार रुपैयाँबराबरको क्षतिपूर्तिको दाबी परेको हो । कम्पनीहरूमा सम्पत्ति, अग्नि, मोटर र कृषि बिमामा दाबी परेका छन् । 

दाबी रकम संकलन गरेका नौ कम्पनीमध्ये ओरियन्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै दाबी परेको छ । बारा र पर्सा जिल्लामा बढी केन्द्रित रहेको ओरियन्टल इन्स्योरेन्समा पाँच करोड रुपैयाँबराबरको दाबी परेको छ । सो कम्पनीमा १८ कुल दाबी परेको छ । त्यस्तै, राष्ट्रिय बिमा संस्थान र एनएलजी इन्स्योरेन्स कम्पनीको दाबी रकमको विवरण भने आइसकेको छैन । नेको इन्स्योरेन्समा परेका सातवटा दाबीमध्ये तीनवटाको विवरण नआएको समितिले जनाएको छ । ‘निर्जीवन बिमा कम्पनीमा भने १२ करोड रुपैयाँसम्मको दाबी पर्न सक्छ । अहिलेको तथ्यांकको प्रारम्भिक मात्रै वास्तविक दाबी आउन अझै बाँकी छ,’ उनले भने । 

अग्नि बिमा मात्रै ७ करोडको दाबी 
हावाहुरीका कारण भएको क्षतिले निर्जीवन बिमा कम्पनीहरूमा  अग्नि, सम्पत्ति, मोटर र कृषि बिमाअन्तर्गत दाबी परेको छ । जसमध्ये अग्नि बिमामा मात्रै सात करोड तीन लाख रुपैयाँबराबरको दाबी परेको समितिको तथ्यांक छ । अग्नि बिमाअन्तर्गत कम्पनीहरूमा १८ वटा दाबी परेका छन् । त्यस्तै, एक करोड २७ लाख रुपैयाँबराबरको ६ वटा सम्पत्ति बिमाको दाबी परेको छ । साथै १२ वटा मोटर र तीनवटा कृषि बिमाको दाबी परेको छ । जसबापत क्रमशः १६ लाख र पाँच लाख ३५ हजार रुपैयाँबराबरको दाबी परेको छ । 

कृषि न्यूनमा दाबी 
हावाहुरीका कारण बारा र पर्साका कृषि क्षेत्रमा ठूलो क्षति पुगे पनि दाबी भने न्यून परेको छ । गृह मन्त्रालयका अनुसार बारामा एक हजार पाँच सय पाँच हेक्टरमा लगाएको गहुँ, मकै, तरकारी, मसुरो, फलपूmललगायत बाली पूर्णरूपमा क्षति भएको अनुमान गरिएको छ । दुई हजार दुई सय ३१ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । पर्सामा दुई हजार एक सय हेक्टर क्षेत्रफलमा बाली आंशिक रूपमा क्षति भएको प्रारम्भिक अनुमान छ । 

बारा र पर्सामा ३८ वटा बाख्रा मरेका छन् भने ७३ वटा घाइते भएका छन् ।  १३ वटा गाई, भैँसी मरेका छन् भने २३ वटा घाइते भएका छन् । पाँच हजार कुखुरा मरेका छने भने चारवटा खोर भत्केका छन् । 

६ सय ३७ घर प्रभावित
बारा र पर्सामा आएको हावाहुरीका कारण दुई हजार ६३७ घर प्रभावित भएका छन् । बारामा एक हजार एक सय ८३ घर पूर्ण क्षति भएका छन् भने एक हजार ४२ वटा घर आंशिक क्षति भएका छन् । गृह मन्त्रालयका अनुसार तीनवटा इँटा उद्योग र एउटा स्वास्थ्य चौकीमा क्षति पुगेको छ । त्यस्तै, पर्सा जिल्लामा ९० वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । तीन सय ६ वटा घर आंशिक रूपमा क्षति भएका छन् भने चारवटा विद्यालय, पाँचवटा मन्दिर र तीनवटा मस्जिद प्रभावित भएका छन् । 

गृह मन्त्रालयको तथ्यांकअनुसार गत चैतसम्म उद्योग, संघ र संस्थाबाहेक गरिएको अनुमानित तीन करोड ४९ लाख रुपैयाँबराबरको क्षति भएको छ । बासस्थानमा एक करोड ४९ लाख रुपैयाँबारबरको क्षति भएको छ । जीविकोपार्जन (बालीनाली, पशुपालन) तर्फ ४२ लाख ४७ हजार रुपैयाँबराबरको क्षति भएको अनुमान छ । स्वास्थ तथा सरसफाइ (खानेपानी, शौचालय) मा २ लाख ९६ हजार र व्यक्तिगत सम्पत्तिमा १ करोड, ९४ लाख रुपैयाँबराबरको क्षति भएको मन्त्रालयले अनुमान गरेको छ । 

त्यस्तै,  बारा जिल्लामा रहेका सशस्त्र प्रहरी बल, नेपालका सातवटा बिओपीमा रहेका भवन, ब्यारेक, मेस, गाडी ग्यारेज, पोस्टका छाना हावाहुरीले उठाई अनुमानित तीन लाख १२ हजारबराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 
जीवन बिमा कम्पनीमा परेन दाबी
बारा र पर्सामा गएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ । तर, जीवन बिमा कम्पनीमा एउटा पनि दाबी नपरेको बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । हावाहुरीले हताहत हुँदा ११ पुरुष, ११ महिला, दुई बालक र चार बालिकाको मृत्यु भएको थियो । त्यस्तै, बारा जिल्लामा एक हजार एक सय २२ जना र पर्सा जिल्लामा एक हजार एक सय ५५ जना घाइते भएका छन् । यद्यपि, जीवन बिमा कम्पनीमा भने एउटा पनि दाबी परेन । यसले बारा र पर्सामा जीवन बिमाको पहुँच नपुगेको देखिने समितिले बताएको छ ।