१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Saturday, 28 September, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८o असार २२ शुक्रबार o८:१९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अदालतका कर्मचारी–बार मिलापत्र

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार o८:१९:oo

जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङमाथि १३ असारमा कार्यकक्षमै कुटपिट गरेको भनी अधिवक्ता अमिर लामिछानेमाथि अभद्र व्यवहारमा जाहेरी परेकोमा दुवै पक्षले मिलापत्र गरेका छन् । बिहीबार दुवै पक्षबीच बार र अदालतका प्रतिनिधिबीच सहमति भएको हो । 

दुवै पक्षले घटनायता विरोधका कार्यक्रम गर्दै आएकोमा त्यसले सेवाग्राहीमा पर्न गएको मर्काका लागि माफी माग्दै सहमति गरेका हुन् । ‘इमानदारीपूर्वक कर्तव्य पालना गर्दागर्दै हुन गएको घटनाको बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिहरूमार्फत विषयान्तर भएको’ भन्दै दुवै पक्षले उपरान्त द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्ने सम्झौता गरेका छन् ।

‘ललितपुर जिल्ला अदालतमा सिसिटिभीले काम नगरेको भनी यसअघि मर्मतका लागि सम्मानित सर्वोच्च अदालतमा पत्राचार भएकोमा हालसम्म मर्मत नभएकाले अविलम्ब मर्मत गरी सञ्चालन योग्य बनाउन अनुरोध गर्दछौँ,’ सातबुँदे सहमतिको तेस्रो बुँदमा छ । सहमतिपत्रमा थप लेखिएको छ, ‘उक्त घटनाको विषयलाई लिएर नेपाल बार एसोसिएसन तथा निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रमलाई आजैबाट स्थगित गरी सेवालाई सुचारु गर्ने । यस घटना र परिस्थितिबाट न्यायका सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ ।’

अब उपरान्त बार र अदालत प्रशासनबीच सुमधुर सम्बन्ध राखी निरन्तरता दिने तथा यस विषयलाई लिएर सार्वजनिक रूपमा सामजिक सञ्जाललगायत माध्यमबाट विषयान्तर हुने गरी टीकाटिप्पणी नगर्न दुवै पक्षले अनुरोध गरेका छन् । बारका केन्द्रीय सदस्य रूपबहादुर सारूको रोहवरमा तथा ललितपुर बारका तीन अधिवक्ता र जिल्ला अदालत ललितपुरका तर्फबाट पाँच शाखा अधिकृतको वार्ता समितिले घटनामा जोडिएका दुवैजनालाई राखी छलफलपछि सहमतिको निर्णय गरेको हो । 

देशभर एक साता कामकाज ठप्प
गत शुक्रबार भएको यस घटनाका कारण झन्डै एक साता ललितपुर जिल्ला अदालतका साथै देशभरका अदालतका कामकाज प्रभावित बनेका थिए । आइतबार बिहान साढे १० देखि दिउँसो १ बजेसम्म देशभरका अदालतका कर्मचारीले कामकाज ठप्प बनाई विरोध जनाएका थिए भने भोलिपल्ट कानुन व्यवसायीहरूले लामिछानेलाई झुटा मुद्दामा फसाइएको भन्दै सबै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेकका मुद्दामा बहस गरेका थिएनन् । जसबाट अन्य मुद्दाहरूमा सुनुवाइ हुन सकेन । 

सोही दिन ललितपुर अदालतअगाडि कानुन व्यवसायीहरूले कार्यक्रम गरेका थिए । जसबाट आफूहरूमा त्रास उत्पन्न भएको भन्दै मंगलबार सबै कर्मचारी सर्वोच्च अदालत पुगेका थिए । उक्त दिन पुनः अदालतका काम अवरुद्ध बनेको थियो । बिहीबार भने दुवै पक्षबीच सहमति भएको हो ।