१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १९ मंगलबार २१:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टेस्ट राष्ट्रसँग लगातार तेस्रो हार, कमजोर फिल्डिङले गुमायो इतिहास रच्ने मौका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार २१:o२:oo

एसोसिएट राष्ट्रहरूसँग लगातार अब्बल प्रदर्शन गर्दै आएको नेपाल टेस्ट राष्ट्रसामु भने कमजोर देखिएको छ। आइसिसी विश्वकप ग्लोबल छनोटको सातौँ स्थानको प्लेअफमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भयो । 

यसअघि यही प्रतियोगिताको समूहगत छनोट चरणमा नेपाल जिम्बावे र वेस्ट इन्डिजसँग पराजित भएको थियो । जिम्बावे र वेस्ट इन्डिजसँग फराकिलो पराजय व्यहोरेको नेपालले अर्को टेस्ट राष्ट्र आयरल्यान्डलाई भने कडा चुनौती दियो । 

खेल अन्तिम ओभरसम्म चलेको थियो । अन्तिम ओभरमा आयरल्यान्डलाई जितका लागि पाँच रन आवश्यक थियो । टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै दिएको दुई सय ६९ रनको लक्ष्य आयरल्यान्डले अन्तिम ओभरको दोस्रो बलमा पूरा गर्यो । 

आयरल्यान्डलाई दबाबमा राख्न करण केसीले महत्वपूर्ण चार विकेट लिए । एकपक्षीय बनिसकेको खेललाई करनले नै खेलमा फर्काएका थिए । दोस्रो एकदिवसीय खेलिरहेका किशोर महतोले दुई, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिए । 

आयरल्यान्डको जितमा कर्टिस क्याम्फेरको ६२, ह्यारी टेक्टरको ६० र जर्ज डोकरेलको ३३ रनको महत्वपूर्ण योगदान रह्यो । एक समय २६औँ ओभरमा एक सय ३४ रनको अवस्थामा पाँचौँ विकेट गुमाएपछि आयरल्यान्ड दबाबमा परेको थियो । तर, कर्टिस र जर्ज डोकरेलले आयरल्यान्डको इनिङ उकासे । यी दुईबीच ८४ रनको साझेदारी भएपछि आयरल्यान्ड खेलमा मजबुत अवस्था पुगेको थियो । 

यस्तोमा करणले साझेदारी तोड्दै ‘ब्रेक थ्रु’ दिलाए । किशोरले थप एक विकेट लिँदै दबाबमा राख्न खोजे पनि आयरल्यान्डले आक्रमण जारी राख्यो । ४८औँ ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई चौकासहित १० रन दिएपछि हातबाट खेल फुस्किएको थियो । 
तर, ४९औँ ओभरमा पुनः विकेट लिँदै करणले खेललाई नेपालको पक्षमा पार्ने हरसम्भव प्रयास गरे । अन्तिम ओभरमा आयरल्यान्डलाई खेल जित्न ६ बलमा पाँच रन चाहिएको थियो । दोस्रो बलमा बेरी म्याककर्थीले बललाई बाउन्ड्री लाइन्ड कटाउँदै आयरल्यान्डलाई ग्लोबल छनोटको सातौँ स्थान दिलाए । 

आजको खेलमा पनि नेपालले फल्डिङमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुरुवातदेखि नै केही सहज क्याच छुटाएपछि नेपाल टेस्ट राष्ट्रलाई जित्ने मौका हातबाट गुमाउन बाध्य भयो । 

त्यसअघि गुल्सन झा, अर्जुन साउद, कुशल मल्ल र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । आयरल्यान्डसामु ‘फाइटिङ टोटल’ राख्ने क्रममा गुल्सनले सबैभन्दा बढी ५७ रनको योगदान दिए। 

४२ बल सामना गरेका गुल्सनले तीन छक्का र चार चौका प्रहार गरे। यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान दिए। 

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ८, ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्रसिंह ऐरी शून्य र किरण केसीले चार रन बनाए। किशोर महतो एक रनमा अविजित रहे। 

नेपालले ३७/२ ओभरभित्र एक सय ६९ रनमा सात विकेट गुमाइसकेको थियो। यस्तोमा गुल्सन र सन्दीपले ८० रनको साझेदारी गर्दै नेपाललाई फाइटिङ टोटलसम्म पुर्याए। त्यसअघि अर्जुन र रोहितबीच ५० रनको महत्वपूर्ण साझेदारी बनेको थियो।