१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १९ मंगलबार o७:१५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अदालतका कर्मचारी र बारबीच तिक्तता : सोमबार पनि अदालतमा सुनुवाइ रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार o७:१५:oo

कर्मचारी र कानुन व्यवसायीबीच तिक्तता बढेपछि सोमबार पनि अदालतमा सुनुवाइ रोकिएको छ । जिल्ला अदालत ललितपुरमा शुक्रबार नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले गरेको कुटपिटका कारण बार र अदातल प्रशासन दुवै आन्दोलित भएका हुन् । 

आइतबार नेपाल बार एसोसिएसनले सूचना जारी गर्दै सोमबार देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ नगर्ने निर्णय गरेको थियो । जसअनुसार देशभरका अदालतमा सुनुवाइ प्रभावित बनेको हो । विशेष अदालतमा पनि थुनछेक आदेश मात्र भएका छन् । बारको तर्फबाट पत्र आएका कारण पेसी स्थगित भएको विशेष अदालतले जनाएको छ । सर्वोच्च अदालतमा समेत बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा हेर्न नभ्याइनेमा परेका छन् । अन्य सामान्य प्रकृतिका निवेदनउपर भने सर्वोच्चले कारबाही अघि बढाएको छ । 

शुक्रबार दिउँसो साढे ४ बजे ललितपुर जिल्ला अदालतकी नायब सुब्बा तामाङमाथि अधिवक्ता लामिछानेले हातपात गरेको उनको दाबी छ । अदालतमा रहेको कागजात हेर्न खोज्दा लामिछानेलाई आफूले नदिएको र सोही निहुँमा कार्यकक्षमै गालीगलौज तथा कुटपिट गरेको तामाङको भनाइ छ । उनले ललितपुर प्रहरीमा लामिछानेविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् । जसकारण १३ असारदेखि नै थुनामा रहेका लामिछाने आइतबार मात्र रिहा भएका थिए ।

नासु तामाङमाथि भएको घटनामा जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनाको निवेदनसमेत दर्ता भएको छ । त्यहाँका कर्मचारीले कार्यालयभित्र सुरक्षित वातावरण नभएको भनी विज्ञप्ति जारी गरेका छन् । ललितपुर बारले आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र सोही विषयमा बढेको विवाद हातपातसम्म पुगेको विज्ञप्तिमार्फत जनाएको छ । 

ललितपुर बारले सोमबार आयोजना गरेको कार्यक्रममा सर्वोच्चका क्याडर जजले कानुन व्यवसायीबाट न्यायाधीश नियुक्तिका लागि नमानेको कानुन व्यवसायीहरूले आरोप लगाएका छन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले अधिवक्ता लामिछानेउपर भएको घटनाले अदालतका फाँटमा हुने भ्रष्टाचार उदांगो भएको बताए । उनले यो घटना भ्रष्टाचारविरुद्ध आन्दोलन चलाउन उत्प्रेरक हुन सक्ने बताएका थिए । 

‘यस्तो भ्रष्टाचार जोडिएको घटनालाई क्याडर जज, सर्वोच्च अदालतकै बहालवाला न्यायाधीशहरूले प्रोभोक गर्दै धेरै ठाउँमा बोल्नुभएको छ । एउटा वकिल बदनाम र नालायक भन्ने स्थापित गर्न खोजिएको छ,’ श्रेष्ठले भने, ‘आज क्याडर जज भन्नेले कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त गर्नुहुँदैन भनेर हिँडेका छन् । यसमा ट्रेड युनियन हतियार हो । यो सबै बहालवाला क्याडर जजको नेतृत्वमा भइरहेको हो ।’ बार अध्यक्ष गोपालकृष्ण घिमिरेले क्याडर जजकै संलग्नतामा कानुन व्यवसायीहरूलाई न्यायाधीश बनेर जान रोक्न पर्चा बाँडिएको आरोप लगाए । न्यायाधीश नियुक्तिमा क्याडर जजले नै कर्मचारी युनियन खडा गरेको उनको भनाइ थियो । 

बार महासचिव अन्जिता खनालले ललितपुर अदालतको प्रकरण बारविरुद्ध क्याडर जजहरूले चलाएको अभियान रहेको बताइन् । एक न्यायपरिषद् सदस्यले फोन गरेर कानुन व्यवसायीबाट न्यायाधीश नियुक्ति गर्ने प्रतिशत कम हुन सक्ने बताएको उनको भनाइ थियो । ‘मैले पनि ठीक छ । बारलाई कानुन व्यवसायीबाट न्यायाधीश चाहिएको छैन । 
तर, त्यसपछि के हुन्छ, हामी देखाउँछौँ,’ उनले भनिन् ।