१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

हाइटेक बन्दै वडा कार्यालय : रोबोटमार्फत सेवा प्रवाहदेखि हाइड्रोजन ग्यास उत्पादनसम्म

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४२:oo

जनताको सबैभन्दा नजिकको सरकार भनेको वडा कार्यालय हो । वडाले दिएको सेवा–सुविधाका आधारमा उनीहरूले सरकारको उपस्थिति महसुस गर्छन् । यही मान्यताअनुरूप ललितपुर महानगर–३ ले आफ्ना सेवाग्राहीलाई उदाहरणीय शैलीमा सेवा प्रवाह गरिरहेको छ । यस वडाले रोबोटमार्फत सेवा प्रवाह र हाइड्रोजन ऊर्जा उत्पादनको तयारी गरिरहेको छ ।

 पहिलो चरणमा ५० घरधुरीलाई हाइड्रोजन ग्यास वितरण गर्ने वडाको तयारी छ । एक व्यवसायीले अनुदानमा हाइड्रोजन प्लान्ट दिएपछि वडाले त्यसबाट प्रयोगमा ल्याउन लागेको हो । वडा–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार डा. विनायक भद्राले उक्त प्लान्ट वडा कार्यालयलाई अनुदान दिएका हुन् ।

‘वडावासीलाई मेरो वडा हो भन्ने अनुभूति गराउनुपर्छ भन्ने मान्यता राखेर काम गरेको छु,’ उनले सुनाए, ‘प्लान्ट सहयोग गर्ने भएपछि हाइड्रोजन उत्पादन गरेर घरघरमा वितरण गर्ने योजना बनाएको छु ।’ उनका अनुसार पहिलो चरणमा परीक्षणस्वरूप निःशुल्क ग्यास वितरण गर्ने तयारी छ । तर, औपचारिक रूपमा निर्णय भने भइसकेको छैन ।

पहिलो चरणमा प्रभावकारी देखियो भने हाइड्रोजनको क्षमता बढाउँदै लगिनेछ । हाइड्रोजन उत्पादन गरेर वितरण गर्दा प्रतिघर चार हजार रुपैयाँ लाग्ने अनुमान छ । सकेसम्म यो खर्च वडाले नै गर्नेछ । तर, बजेट अभाव देखिए स्थानीयलाई आह्वान गरिनेछ । डाइड्रोजन ग्यासको प्रयोग घरायसी काममा हुन सक्छ । यसपछि बिजुली नभए पनि फरक नपर्ने वडाध्यक्ष महर्जनको भनाइ छ । ‘वैकल्पिक ऊर्जाका रूपमा यसलाई वडाभरि पुर्‍याउँछु,’ उनले भने, ‘यसो गर्दा विद्युत् प्रयोग कम हुन्छ ।’ 

 केमा प्रयोग हुन्छ हाइड्रोजन ग्यास ?
हाइड्रोजन ग्यास ऊर्जाका रूपमा खाना पकाउन, गाडी चलाउन, हवाईजहाज उडाउनसम्म प्रयोग गर्न सकिने अनुसन्धानबाट पुष्टि भइसकेको छ । हाइड्रोजनलाई प्रमुखतः इन्धनका रूपमा लिने गरिन्छ । विश्वका केही देशले यसको प्रयोग बढाउनतिर अध्ययन र चासो दिइसकेका छन् । अर्कोतर्फ हाल प्रयोगमा रहेका पेट्रोलियम र खनिज ऊर्जाले अत्यधिक कार्बन उत्सर्जन गरेका कारण जलवायु परिवर्तनमा समस्या देखिएपछि संसारभर नै हाइड्रोजन ऊर्जाको चर्चा छ । तर, नेपालमा भने यस ग्यासको उत्पादन र प्रयोगबारे सरकारी योजना कमजोर छ । 

यी हुन् वडाले दिने फरक सुविधा 

  •    निःशुल्क रगत उपलब्ध 
  •    सुत्केरी र गर्भवतीलाई २५ सय भत्ता
  •    निःशुल्क विद्युतीय गाडी सुविधा 
  •    एकल पुरुष भत्ता (मासिक दुई हजार) 
  •    ढल सफा गर्न जेट मेसिन 
  •    विपन्न परिवारका लागि धारा, बत्ती र निःशुल्क शिक्षा 
  •    एक व्यक्ति एक वडा स्वास्थ्य परिचयपत्र 
  •    वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श 
  •    गर्भवतीका लागि मासिक एक हजार रुपैयाँ (पौष्टिक भत्ता) 
  •  ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सेवा 
  •  शववाहन सुविधा र दुई हजार किरिया खर्च 
  • व्यक्तिगत घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाइँसराइ र सम्बन्धविच्छेद) गर्न आउँदा पाँच सय भत्ता 
  •  निदान, सुमेरु, मेघा, ब्लड अस्पतालमा १५ देखि २५ प्रतिशतसम्म छुट 
  •  आवश्यक पर्दा भाडामा सिसी क्यामरा प्रयोगलगायत 

मःम पसलदेखि खाद्य स्टोरसम्म सञ्चालन
वडा कार्यालयले स्थानीयवासीका लागि प्रवाह गर्दै आइरहेका सुविधा उनीहरूका दैनिक जीवनसँग सम्बन्धित छन् । स्वरोजगार कार्यक्रमअन्तर्गत पुल्चोक, धोबीघाट र ज्वागालमा वडा खाद्यस्टोर, हाइजेनिक वार्ड मःम पसल, सुपथ मूल्य पसल, प्याकेट मसला बिक्री पसललगायत सञ्चालन गर्दै आइरहेको छ । यी पसलका सामानको मूल्य निर्धारण पनि वडाले गर्छ । अन्य पसलमा भन्दा यहाँ कम मूल्यमा दैनिक आवश्यक खाद्यवस्तु बिक्री–वितरण गर्दै आइरहेको वडाध्यक्ष महर्जनले बताए ।

 

ललितपुर महानगरपालिकाका वडाध्यक्ष  श्रीगोपाल महर्जन भन्छन् ‘डा. विनायक भद्राले हाइड्रोजन ग्यास उत्पादन प्लान्ट अनुदानस्वरूप दिएका हुन् । प्लान्टमार्फत उत्पादित ग्यास वडावासीका घरघरमा वितरण गर्ने योजना छ । हाइड्रोजन विशेष गरी घरायसी कामका लागि प्रयोग गरिन्छ । यो जडान गरेपछि बिजुली नभए पनि हुन्छ ।’  

 रोबोटले स्वागत गर्नेछ सेवाग्राहीलाई 
हुन त ठूला होटेल र व्यापारिक स्थलमा रोबोटमार्फत आगन्तुकलाई स्वागत गरेको दृश्य देखिने गरेको छ । तर, सरकारी कार्यालयमा भने रोबोटमार्फत सेवा दिएको सम्भवतः पहिलो हुनेछ । ललितपुर महानगर–३ ले आगामी असोजदेखि यो सेवा सुरु गर्ने तयारी गरिरहेको वडाध्यक्ष महर्जनले बताए । 

उनका अनुसार वडाको ढोकैमा रोबोट राखिनेछ । त्यहाँ आउने जोकोहीलाई रोबोटले नमस्कार गर्दै किन आउनुभयो ? भनेर सोध्नेछ । त्यसपछि सेवाग्राहीले आफ्नो काम बताएपछि रोबोटले कोठा नम्बर बताइदिनेछ । वडाले रोबोटका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । अनिल सिंहलगायत इन्जिनियरले रोबोट बनाएर वडालाई हस्तान्तरण गर्नेछन् । ‘रोबोटबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सहज हुन्छ, रोबोटमा भएको डाटाले सेवाप्रवाहमा सहज बनाउँछ,’ वडाध्यक्ष महर्जनले भने, ‘असोजभित्र वडाको ढोकामा रोबोट उभिनेछ र सबैलाई स्वागत गर्नेछ ।’

यसबाहेक वडा ३ ले वडाभित्र रगत चाहिए रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । सुत्केरी र गर्भवतीलाई नेपाल सरकारले दिने २५ सय रुपैयाँ वडाबाटै दिँदै आएको छ । आथिर्क वर्ष ०८०÷०८१ मा आत्मीयता प्रगाढ कार्यक्रम, कक्षा एकदेखि १० सम्मका सबै शिक्षकलाई तालिम दिनेलगायतका कार्यक्रम अघि सारेको छ । वडाले डिजिटल वडापत्र तयार पारिसकेको छ । चालू आवदेखि नै आफ्नै स्वास्थ्य क्लिनिक सञ्चालनमा छ । यो वर्ष क्लिनिकमा एक्सरे मेसिन थपिँदै छ । यसबाहेक वडाभित्र चुरोट र रक्सी एउटै पसलमा मात्रै राख्न पाइने नियम ल्याउने तयारी भइरहेको छ । ‘वडामा पाइलैपिच्छे चुरोट र रक्सीपसल छन्, यसलाई हटाएर व्यवस्थित गरौँ भनेको मेयरसाबले रकम दिनुभएन,’ उनले भने, ‘जनताको हित हुने कुरामा कम्प्रोमाइज गर्दिनँ ।’ यो वर्ष वडाको बजेट तीन करोड २५ लाख रुपैयाँ छ । 

 ३५ दिनभित्र व्यक्तिगत घटना  दर्ता गराएमा कप उपहार 
वडा नम्बर ३ ले व्यक्तिगत घटना अपडेट तथा दर्ता गराउन आउनेलाई प्रोत्साहन गर्न उपहारको व्यवस्था गरेको छ । घटना भएको ३५ दिनभित्र दर्ता गराए दुईवटा कप उपहार दिँदै आएको छ । त्यसमा सेवाग्राहीको फोटो राखिनेछ । त्यस्तै, विवाह दर्ता गराउन आएका जोडीको फोटोसहित कप दिइनेछ । 

ad
ad