१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Sunday, 22 September, 2024
२o८o असार १८ सोमबार o७:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफले महिला खेलाडीलाई प्रशिक्षणमा नपठाउने

सहिद स्मारक ए डिभिजन लिगबाट पुरुष टोली रेलिगेसनमा परेपछि एपिएफले एन्फासँग प्रतियोगिताबारे निष्पक्ष छानबिन गर्न माग गरेको थियो । तर, एन्फाले बेवास्ता गरेपछि एपिएफले महिला खेलाडीलाई प्रशिक्षणमा नपठाउने निर्णय गरेको हो ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १८ सोमबार o७:२१:oo

विभागीय टोली एपिएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आफ्नो महिला खेलाडी नदिने निर्णय गरेको छ । एन्फाले आफ्नो माग बेवास्ता गरेको भन्दै महिला फुटबलमा एकछत्र राज गर्दै आएको एपिएफले बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलअघि खेलाडीलाई प्रशिक्षणमा नपठाउने निर्णय गरेको हो । 

‘एन्फाले हाम्रो मागलाई बेवास्ता गरेपछि यो निर्णय गरेका हौँ,’ एपिएफ खेलकुद विभागका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने । एपिएफका खेलाडी आएको भए आइतबार मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुनेवाला थियो । तर, एपिएफको निर्णयपछि प्रशिक्षण रोकिएको छ ।

मैत्रीपूर्ण खेलका लागि एन्फाले घोषणा गरेको २२ सदस्यीय टिममा एपिएफका ११ खेलाडी छन् । प्रशिक्षक अनन्तराज थापाले यी खेलाडीहरू चयन गरेका थिए । एपिएफको निर्णयसँगै २८ असार र ३१ असारमा ढाकामा हुने दुवै मैत्रीपूर्ण खेलबारे अन्योल देखिएको छ । 

 एपिएफको माग 
२७ जेठमा सम्पन्न सहिद स्मारक ए डिभिजन पुरुष लिगमा एपिएफ क्लब रेलिगेसनमा परेको थियो । १४ टोली सम्मिलित लिगमा १३औँ भएर एपिएफ बी डिभिजनमा घटुवा भयो । अन्य क्लबले खेल मिलेमतो तथा गैरकानुनी रूपमा विदेशी खेलाडीलाई मैदान प्रवेश गराएकाले आफू रेलिगेसनमा परेको एपिएफको दाबी छ । एपिएफले दुईवटा म्याच फिक्सिङ भएको आरोपसहित एन्फामा निवेदन दिएको थियो । 

चर्च ब्वाइजविरुद्ध थ्री स्टार तथा संकटाविरुद्ध फ्रेन्ड्स क्लबबीचको खेल मिलेमतो भएको एपिएफको दाबी छ । चर्च ब्वाइज लिगको च्याम्पियन भएको थियो । त्यसक्रममा २३ जेठमा चर्च ब्वाइजले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, २४ जेठमा संकटा र  फ्रेन्सले १–१ गोलको बराबरी खेलेका थिए । ‘प्रतियोगिताको खेल प्रकृतिक नभई मिलेमतो भएको देखिएको हुँदा उक्त नियमविपरीत भएको खेलहरूको निष्पक्ष छानबिन गरी फिफा, एएफसीको कोड अफ कन्डक्ट तथा इन्टिग्रिटीको नियमानुसार आवश्यक कारबाही होस्,’ एपिएफले एन्फालाई गरेको उजुरीपत्रमा भनिएको छ । 

उसको अर्को आरोप पनि थियो :  थ्री स्टारले भिसा सकिइसकेका विदेशी खेलाडीलाई मैदानमा उता¥यो । तर, एन्फाले यसबारे कुनै छानबिन गरेन । जसकारण, चिढिएको एपिएफले आफ्ना पुरुष खेलाडीहरूलाई फुटबल प्रशिक्षणको साटो नियमित ड्युटीमा पठाउन थालेको थियो । अब रेलिगेसनको पीडाको मार महिला खेलाडीले खेप्नुपर्ने अवस्था आएको छ ।  

मर्कामा खेलाडी 
एपिएफको यो निर्णयसँगै खेलाडी मर्कामा परेका छन् । खेलेरै आफ्नो जीविकोपार्जन गर्दै आएका खेलाडीले नेपालको प्रतिनिधित्व गर्नबाट वञ्चित हुने पक्कापक्की भएको छ । एन्फाले कुनै निर्णय नलिएसम्म एपिएफपछि नहट्ने स्थितिमा छ । ‘दुई संस्थाको लडाइँमा हामीलाई पारियो । खेलेर जीविकोपार्जन गर्दै आएका हामीलाई खेलबाट वञ्चित गरिएको छ,’ एक राष्ट्रिय खेलाडीले नयाँ पत्रिकासँग दुखेसो सुनाइन् । 

२२ मध्ये ११ खेलाडी एपिएफका 
घरेलु महिला फुटबलमा एपिएफले एकछत्र राज गर्दै आएको छ । घरेलु लिग तथा मोफसल प्रतियोगितामा एपिएफको ठूलो दबदबा छ र उपाधि लगातार जितेको छ । पछिल्ला दुवै संस्करणको राष्ट्रिय महिला लिग एपिएफले नै जितेको थियो । राष्ट्रिय महिला टोलीमा पनि एपिएफको प्रभुत्व छ ।

दक्षिण एसियाकै सर्वाेत्कृष्ट स्ट्राइकर मानिने सावित्रा भण्डारी एपिएफकै हुन् । उनीसहित एपिएफका ११ खेलाडी मैत्रीपूर्ण खेलका लागि छानिएका थिए । यसमध्ये एपिएफकी एन्जिला तुम्बाप्पो सुब्बा राष्ट्रिय टिमकी कप्तान हुन् । एन्जिला र सावित्रासँगै गीता राना, हिराकुमारी भुजेल, निशा थोकर, रेनुका नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, प्रिती राई, अनिता केसी र सविता राना मगर एपिएफबाट खेल्छन् । यस निर्णयसँगै नेपालको पहिलो एघारका अधिकांश खेलाडी नै राष्ट्रिय टोलीमा नहुने भएका छन् ।