दैलेखको नारायण नगरपालिकाले यो वर्ष ६६ असल आमा छनाेट गरेर सम्मान गरेको छ। ११ वटा वडाका ६६ आमालाई प्रोत्साहनस्वरूप नगरपालिकाले नगद दुई हजार र प्रमाणपत्र प्रदान गरेको हो।
नगरपालिकाले गर्भावस्थादेखि सुरक्षित सुत्केरी हुँदै बच्चा हुर्कने वेलासम्म नियमित रूपमा स्वास्थ्य संस्थामा जाँच गराउने, बच्चाको नियमित तौल लिने, दुईवटा मात्र सन्तान जन्माउने, स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका स्वास्थ्य क्षेत्रमा तोकिएको मापदण्ड पूरा गरेका गर्भवती महिलालाई असल आमाको रूपमा छनाेट गरेर हरेक वर्ष सम्मान गर्दै आएको छ।
यो वर्ष ६६ आमाले मापदण्ड पूरा गरेर सुरक्षित सुत्केरीसँगै आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएपछि सम्मान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए।
त्यस्तै, नारायण नगरपालिका– ५ त्रिवेणी स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य संस्थामा पुग्ने वेलैमा पोषण कर्नर राखिएको छ। हरेक बारमा चारथरी खाना कसरी खाने भन्नेबारे जानकारी राखिएको छ।
पूर्ण स्तनपान गराउने आमाको संख्या ९५ प्रतिशत पुगेको, वडाभित्र कुनै पनि बालबालिकामा कुपोषण नभएको, किशोरीलाई आवश्यकताअनुसार आइरन चक्कीलगायतका अन्य पोषण क्षेत्र सुधारका कामहरू भएकोलगायत १६ वटा मापदण्ड पूरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।
नगरपालिकाले गत वर्ष वसन्तमाला स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिसकेको छ। त्रिवेणी स्वास्थ्य चौकी समग्र दैलेखका स्वास्थ्य संस्थाहरूमध्ये पाँचाैँ स्थानमा पोषणमैत्री स्वास्थ्य संस्था बन्न सफल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए।