ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको ‘ललितपुर जुत्ता मेला’मा अवलोकनकर्ताको उपस्थिति उत्साहजनक देखिएको छ । जावलाखेल फुटबल ग्राउन्डमा १६ जेठदेखि सुरु भएको ‘प्रथम ललितपुर जुत्ता–चप्पल मेला–२०८०’मा दैनिक करिब पाँच हजार अवलोकनकर्ता पुग्ने गरेका छन् ।
मेलामा औसत दैनिक पाँच हजार अवलोनकर्ता आइरहेको फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बताए । उनका अनुसार दैनिक दुई हजार जोर जुत्ता–चप्पल बिक्री भइरहेको र त्यसबाट करिब आठ लाख रुपैयाँको कारोबार भएको उनको भनाइ छ ।
मेला अवधि छोटिँदै गर्दा उपभोक्ताको आकर्षण पनि बढेको उपाध्यायले बताए । उनले भने, ‘मेलामा अवलोकनकर्ताको उपस्थितिले उत्साहित छौँ, यसबीचमा झन्डै तीन सय डिजाइनका जुत्ता–चप्पल, गर्मी र जाडोलाई लक्षित गरेर ल्याएका छौँ ।’
‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ आयोजित मेलामा विभिन्न नौवटा ब्रान्डको सहभागिता रहेको छ । मेलामा बिएफ डियर हिल, गोल्डस्टार, रोयल सुज, फस्टवाक सुज, बिएफ स्पोर्ट, क्रस रोड सुज, हाई लाइफ, केटिएम, डिजे सुज र सिल ब्रान्डका लेडिज तथा जेन्स जुत्ता–चप्पल प्रदर्शनीमा रहेका छन् । यी ब्रान्डका पाँच हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता–चप्पल अवलोकन एवं खरिद गर्न सकिनेछ । मेला प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन ।
चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवं उपभोक्तालाई सहुलियत मूल्यमा जुत्ता–चप्पल उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको शुभकामना फुटवेयरका नानीराज घिमिरेले बताए । ‘स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गर्नका लागि ग्रे मार्केटबाट हुने आयात र न्यून बिजकीकरण रोक्नुपर्छ,’ उनले भने, ‘जुत्ता उत्पादनमा आवश्यक कच्चा पदार्थको मूल्यकर पनि घटाउनुपर्छ, हामी जुत्तामा आत्मनिर्भरभन्दा माथि छौँ ।’ मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।