स्ट्यान्डर्ड चार्टर्ड बैंकले कर्मचारीका लागि पुनः ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैंको नयाँ बानेश्वरमा रहेको कर्पोरेट कार्यालयमा काम गर्ने कर्मचारीका बालबालिकाका लागि ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको हो ।
डे केयर सुविधाको उद्घाटन नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सिइओ अनिर्वाण घोष दास्तिदारले गरेको जनाइएको छ । यो सुविधा बैंकले सन् २०१३ बाट नै सुरु गरेको भए तापनि कोभिड महामारीका वेला अस्थायी रूपमा बन्द गरिएकोमा हाल पुनः सुचारु गरिएको बैंकले जनाएको छ ।
विशेष गरी व्यावसायिक रूपमा काम गर्ने आमाहरूका लागि बैंकमा सहयोगी र समावेशी वातावरण सिर्जना गर्न ‘डे केयर’ सुविधा सुरु गरेको बैंकले जनाएको छ । बैंकले विशेष गरी कर्मचारीको समयको बचत तथा ६ महिनादेखि तीन वर्षसम्मका बालबालिकाका लागि सही हेरचाह खोज्ने तनाव कम गर्न सहयोग पुर्याउने उद्देश्यले यो सुविधा सुरु गरेको जनाइएको छ ।डे केयर स्थापनादेखि लिएर मर्मत खर्च तथा मासिक खर्च बैंकले नै व्यहोर्ने उल्लेख छ । यो सुविधा नयाँ तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न र उत्पादनशील काम गर्ने अभिभावकका लागि एउटा महत्वपूर्ण कदम रहेको बैंकले विश्वास व्यक्त गरेको छ ।
विशेष महिला कर्मचारीलाई आफ्नो व्यावसायिक यात्रालाई निरन्तरता दिन यस किसिमको सुविधा सञ्चालन गर्ने नेपालकै पहिलो बैंक बनेको स्ट्यान्डर्ड चार्टर्डको दाबी छ । कार्यवाहक गभर्नर तिम्सिनाले कर्मचारीलाई उत्प्रेरित गर्न वर्कफोर्समा महिलालाई सशक्त बनाउन यस किसिमको सुविधा निकै महत्वपूर्ण रहेको बताइन् । बैंकका कर्मचारीसँग साक्षात्कार गर्दै उनले महिला कर्मचारीले भोग्नुपरेका थुप्रै चुनौतीका विषयमा चर्चा गरेकी थिइन् ।
बैंकका सिइओ दास्तिदारले आफ्ना बालबालिकासँग नजिक हुन सक्ने हिसाबले काम गर्ने अभिभावकका लागि ल्याइएको यो सुविधाले कार्यालयमा काम गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए । उनले भने, ‘हामीले चाहेको परिवर्तन तब सम्भव हुन्छ, जब हामी कर्मचारी कायम राख्न र उनीहरूको कल्याणमा ध्यान केन्द्रित गर्छौँ ।’
बैंकमा सञ्चालनमा ल्याइएको ‘डे केयर’ सुविधा सबै कार्यदिनमा खुला रहने जनाइएको छ । यहाँ बालबालिका सुरक्षित, प्रगतिशील र रमाइलो वातावरणमा विभिन्न गतिविधिमा संलग्न हुन पाउने उल्लेख छ । प्रत्येक बालबालिकालाई व्यक्तिगत रूपमा ध्यान दिइनुका साथै उनीहरूलाई ग्याजेटहरूबाट टाढा रहन र खेल तथा अन्य गतिविधिमार्फत एक–अर्कासँग थप अन्तक्र्रिया गरी स्वतन्त्र र अनुशासित बनाउन जोड दिइने बैंकले जनाएको छ ।