माओवादी कोशी प्रदेश संसदीय दलले उमागौरी सहकारी ठगी प्रकरणमा निष्पक्ष छानबिनका लागि सार्वजनिक लेखा समिति सभापति ऋषि पोखरेलले राजीनामा दिनुपर्ने माग गरेको छ । बिहीबार माओवादी कोशी प्रदेश समितिले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै उनले राजीनामा दिनुपर्ने माग गरेको हो ।
माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मोरङको कर्सिया बजारमा रहेको उमागौरी सहकारी प्रकरणमा पोखरेलपत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको र अदालतले पक्राउ पुर्जी जारी गरे पनि पोखरेलकै कारण प्रहरीले अञ्जलासहित सबैलाई जोगाइरहेको बताए । ‘सहकारी ठगी कसुर मुद्दामा सांसद पोखरेलपत्नी अञ्जलासहित २५ जना फरार छन् । सबैलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । अहिलेसम्म प्रहरीले कसैलाई सोधपुछसमेत गरेको छैन,’ आङ्बोले भने ।
सत्ताधारी पार्टीका शक्तिशाली सांसद जोडिएकै कारण उमागौरी सहकारी ठगीमा जोडिएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई सकस भइरहेको माओवादीले जनाएको छ । मुद्दा दर्ता भएको दिन २७ मंसिरसम्म विद्यालयको गतिविधिमा संलग्न रहेकी अञ्जला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि महेन्द्र रात्रि विद्यालयमा पाँच दिनको बिदा लेखेर भूमिगत भएकी छिन् । प्रहरीले उमागौरी सहकारी ठगीमा हालसम्म कसैलाई पक्राउ गरेको छैन । एकजना सञ्चालक समिति सदस्य रोशन राजवंशी आफूलाई पीडित बताउँदै आफैँ प्रहरीमा हाजिर भएकाले उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । सरकारी वकिलको कार्यालय मोरङले उमागौरी कृषि सहकारी ठगीमा पोखरेलपत्नी अञ्जला र अध्यक्ष शम्भुप्रसाद रौनियारसहित वर्तमान र पूर्वसञ्चालक समिति सदस्यहरूलाई कुल २२ करोड ४८ लाखको बिगो कायम गराउँदै अदालतमा मुद्दा दर्ता गरेको छ ।
सभापति पोखरेलले सहकारी ठगीमा आफ्नो र परिवारको संलग्नता नरहेको दाबी गर्दै आएका थिए । उनले आफ्नो र परिवारको सहकारी ठगीमा संलग्नता देखिएमा झुन्डिन तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, उनकी श्रीमती सञ्चालक रहेको समयमा सहकारीमा अनियमितता भएको छानबिनबाट पुष्टि भइसकेकाले नैतिकताका आधारमा अब सांसद पोखरेलले सभापति पदबाट राजीनामा दिनुपर्ने माओवादीको माग छ ।