कर्णाली याक्सलाई दोस्रो क्वालिफायरमा दुई विकेटले पाखा लगाउँदै जनकपुर बोल्ट्स फाइनलमा
नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिमाथि सुरुदेखि दाबेदारी दिइरहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा भिड्ने भएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । एनपिएलको उपाधि भिडन्तमा जनकपुरमाथि सुदूरपश्चिम मनोवैज्ञानिक खेल खेल्ने योजनामा छ ।
कर्णालीले फाइनलमा स्थान बनाउने मौका गुमाएको छ । पहिलो इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा जनकपुरविरुद्धको समीकरण तयार पारेको थियो । तर, बिहीबार कर्णालीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सकेन । युवा बलर विपिन शर्माले कर्णालीलाई खेलमा फर्काउने प्रयास नगरेका होइनन् । तर, न्युजिल्यान्डका अलराउन्डर जेम्स निसमले विस्फोटक ब्याटिङ गरेपछि कर्णाली प्रतियोगिताबाटै बाहिरियो ।
जनकपुर र कर्णालीबिचको खेल एक किसिमले सेमिफाइनलजस्तै थियो । पराजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुने थियो । विजेता टोली उपाधिनजिक पुग्ने थियो । यसकारण दोस्रो क्लालिफायरमा दुवै टोलीका खेलाडी सुरुमा सजक देखिन्थे । तर, बिहान र दिउँसो पिचको स्वरूप परिवर्तन हुँदा कर्णाली र जनकपुरका ब्याट्सम्यानले आकर्षक स्ट्रोक लगाउन सकेनन् । अपवादका रूपमा निसमले १७ बलमा ४७ रनको विस्फोटक इनिङ्स खेले । कर्णालीका बलरविरुद्ध खनिँदै उनले पाँच छक्का र दुई चौका प्रहार गरे । उनीबाहेक अन्य खेलाडी ब्याटिङमा लामो समय क्रिजमा टिक्न सकेनन् ।
कर्णालीको कम योगफल
कर्णालीले इलिमिनेटरमा चितवनविरुद्ध सानदार ब्याटिङ गरेको थियो । तर, जनकपुरसँग त्यही प्रदर्शन दोहोर्याउन सकेन । कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर ११८ रनको मध्यम योगफल खडा गर्यो । प्रत्युत्तरमा जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा ११९ रन जोड्दै अन्तिम दुई स्थान सुरक्षित गर्यो ।
भारतीय आक्रामक खेलाडी जयकिसन कोस्लावाला १ रनमै पेभेलियन फर्कंदा कर्णालीको ब्याटिङ सुरुदेखि धरमराएको थियो । ओपनर देव खनालले २४, जिसन मक्सुदले १२, विलियम बासिस्टोले १४ तथा चाडविक वाल्टले ११ रन जोडेपछि कर्णालीले सयको योगफल कटाएको हो । कर्णालीले निरन्तर विकेट गुमाउँदा जनकपुरका बलर हाबी भए । कर्णालीले १२.३ ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र जोड्यो । त्यसपछि गुल्सन झाले रनरेट उकास्न प्रयास गरे । उनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरी २५ रन जोडे ।
उनिस ठकुरीले १७ बलमा १२ रन बनाए । बलिङमा निसमले ३० रन खर्चेर दुई विकेट हात पारे । ललित राजवंशीले २२ रनमा दुई विकेट तथा मोहमद मोहसिनले १४ रनमा दुई विकेट हात पारेका थिए । १२ ओभरमा जनकपुरले पाँच विकेट गुमाएर ५८ रन मात्र बनाएको थियो । निसमले मायन यादवसँग छैटौँ विकेटका लागि १६ बलमा ३३ रनको साझेदारी गर्दै जनकपुरलाई खेलमा फर्काए । यही साझेदारी नै खेलको टर्निङ प्वाइन्ट बन्यो । यसबाहेक शेर मल्लले १० बलमा एक छक्का प्रहार गरी १६ रन जोडे । कर्णालीका विपिनले चार ओभरमा १७ रन खर्चेर तीन विकेट हात पारे ।
८ खेलमा १३ विकेट लिँदै सनसनी मच्चाएका विपिन
कर्णालीका बायाँहाते युवा लेग स्पिनर विपिनप्रसाद शर्मा एनपिएलको पहिलो संस्करणमा नपत्याउँदो रूपमा चम्किएका छन् । एनपिएलमा सहभागी आठै फ्रेन्चाइजले ट्यालेन्ट हन्टबाट छनोट गरेका युवा खेलाडीमध्ये विपिनको प्रदर्शन अब्बल रह्यो । आइकोनिक खेलाडीका रूपमा भित्रिएका उनी अहिले युवा स्टार खेलाडीका रूपमा चिनिएका छन् । उनले आठ खेलमा १३ विकेट लिँदै वाहवाही बटुलेर पहिलो संस्करणको एनपिएल यात्रा सकाएका छन् । उनले आठै खेलमा विकेटविहीन भएनन् ।
कर्णाली दोस्रो क्वालिफायरबाट बाहिरिँदा उनले टोलीलाई फाइनल पुर्याउन सक्दो कोसिस गरेको बताए । ‘व्यक्तिगत रूपमा आफ्नो प्रदर्शनबाट खुसी छु, तर कर्णाली फाइनलमा नपुग्दा त्यत्तिकै दुःखी छु,’ बिहीबार जनकपुरविरुद्ध तीन विकेट लिएपछि उनले भने । प्लेअफसम्मको यात्रा गरेको कर्णालीलाई यहाँसम्म पुर्याउन सबैभन्दा बढी योगदान उनले नै गरेका थिए । एनपिएलमा घरेलु मात्र नभएर विश्वचर्चित खेलाडीलाई आफ्नो स्पिनको धरापमा राख्न उनी सफल भए ।
आफ्नो समयमा विश्व क्रिकेटमा नाम कमाएका ब्याट्सम्यानलाई उनले आफ्नो सिकार गरे । उनले न्युजिल्यान्डका जेम्स निसम, पाकिस्तानका सोहेल तनभिर, न्युजिल्यान्डका मार्टिन गुप्तिल र अस्ट्रेलियाका वेन कटिङजस्ता खेलाडीको विकेट लिए । ती खेलाडीलाई क्रिजबाट हटाउन अनुभव चाहिन्छ, तर विपिनले क्रिकेटका दिग्गज खेलाडीलाई सहजै आउट गरे ।
कर्णालीले जनकपुरविरुद्ध एनपिएलकै आफ्नो पहिलो खेलमा विपिनलाई बेन्चमा राखेको थियो । त्यसवेला प्रशिक्षक ज्ञानेन्द्र मल्लले ट्यालेन्ट हन्टबाट आएका भर्खरका युवा खेलाडी विपिनमाथि खासै विश्वास गरेनन् । जब उनले मौका पाए, सबैको मन जित्दै टोलीमा स्थान बनाए । एनपिएलमा एक युवा स्टार खेलाडीका रूपमा आफूलाई स्थापित गर्नुअघि उनी पहिलो खेलमा नर्भस थिए । ‘सुरुमा नर्भस थिएँ, तर सबै दाइले सहज वातावरण बनाउनुभयो,’ उनले भने, ‘पहिलो अभ्यास खेलपछि राम्रो भयो ।’ प्रशिक्षक मल्ल र कप्तान सोमपाल कामीबाट धेरै सहयोग पाएको उनको भनाइ छ ।
कर्णालीले एनपिएलका लागि ट्यालेन्ट हन्टबाट सुरुमा ९३ क्रिकेटर छनोट गरेको थियो । दोस्रो चरणमा ९३ बाट १५ खेलाडीमा सीमित गर्यो । अन्तिम पाँच खेलाडीबाट विपिनले कर्णालीबाट एनपिएल खेल्ने पक्का गरे । कर्णालीले उनलाई आइकोनिक खेलाडीका रूपमा समावेश गरेको हो । विपिन चितवन राइनोजविरुद्धको खेलमा म्यान अफ दी म्याच भएका थिए । यस खेलमा उनले पाकिस्तानका तनभिर, नामिबियाका लोफ्टी इटन र अमरसिंह राउटेलाको विकेट लिएका थिए । विपिनले लिग चरणमा विराटनगरका विश्वकीर्तिमानी ब्याट्सम्यान मार्टिन गुप्तिलको समेत विकेट लिएका थिए । १३ विकेटमध्ये उनले न्युजिल्यान्डका निसमलाई आउट गरेको क्षणमा रोमाञ्चित भएको बताए । उनको प्रशंसा भारतीय खेलाडी शिखर धवनले समेत गरेका छन् । ‘विपिनलाई एक राम्रो स्पिनरका रूपमा लिएको छु, नेपालका युवा स्टार बलर बन्न सक्छन् ।’