बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको मुद्दामा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह अवकाशप्राप्त सहसचिव हुन् । जग्गा हिनामिना प्रकरणमा उनको प्रत्यक्ष भूमिका छैन । तर, राणा परिवारसँग उनले करिब पाँच रोपनी जग्गा बकस पाएका थिए । त्यो बकसको पुष्टि गर्न नसकेपछि उनी पनि छानबिनमा तानिएका हुन् ।
सिआइबी स्रोतका अनुसार शाहपत्नी उर्मिलाको नाममा पाँच रोपनी दुई आना जग्गा बकस गएको थियो । उर्मिलासँग दुई वर्षअघि नै सिआइबीले बयान लिएको थियो । जसमा उनले बकस दिने राणा परिवारलाई आफूले नचिन्ने बताएकी थिइन् । स्रोतका अनुसार भक्तपुर मालपोत कार्यालयमा कार्यरत रहँदा शाहले पनि सो जग्गा व्यक्तिको नाममा लैजान अप्रत्यक्ष सहयोग गरेका थिए । सोही आधारमा उनले जग्गा बकस पाएका हुन् । सो जग्गा उनले पहिले नै बिक्री गरिसकेका छन् ।
यसरी धेरै कर्मचारीले जग्गा बकस लिएका थिए । तत्कालीन मालपोत विभागका प्रमुख मुकुन्दप्रसाद आचार्यले ससुरा वैकुण्ठ शर्मा रेग्मीको नाममा जग्गा बकस लिएका थिए । त्यस्तै, मालपोतका तत्कालीन अधिकृत प्रेमबहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ, सालोकी श्रीमती शशिकला सुब्बा तथा भिनाजु मोहनप्रसाद भट्टराईको नाममा जग्गा लिएका थिए ।
तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईं तथा सासू सोदाकुमारी चापागाईंको नाममा जग्गा लिएका छन् । समरजंग कम्पनीका सहायक लेखापाल रहँदा विनोदप्रसाद पौडेलले श्रीमती विद्या पौडेलको नाममा घुसका रूपमा जग्गा बकस लिएको सिआइबीको निष्कर्ष छ । कलाधर देउजाले साढु इन्द्रबहादुर थापा, जगत पुडासैनीले दिदी मिठु चापागाईंको नाममा जग्गा लिएका छन् ।
जसमा सबै पक्षको बयान सिआइबीले लिइसकेको छ । जसमा जग्गा लिनेले राणा परिवारसँग बकस लिनुपर्ने कारण खुलाउन सकेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी बकस लिने सबैलाई उन्मुक्ति दिएको थियो । सिआइबीले भने सबैलाई अनुसन्धानको दायरामा तानेको छ । त्यसो त अख्तियारको तुलनामा यो मुद्दामा दोब्बर प्रतिवादी हुने सिआइबी निष्कर्ष छ ।