१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ११ सोमबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चाको हड्डी मजबुत बनाउन यस्तो खानपान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १o:१६:oo

भिटामिन ‘डी’ र क्याल्सियमको कमीले हड्डी कमजोर हुन्छ । त्यसैले बच्चालाई भिटामिन डी र क्याल्सियम पर्याप्त पुग्नुपर्छ । भिटामिन डीको स्रोत भनेको घाम हो । त्यसैले बच्चालाई बिहानको कलिलो घाम ताप्न दिनुपर्छ । कलिलो घाममा बस्दा छालामा भिटामिन डी प्रशस्त बन्छ । काजु, बदाम दूध, दही, चिज, पनिर, सागसब्जीलगायत क्याल्सियम भएका खानेकुरा खुवाउनुुपर्छ, जसले गर्दा प्रशस्त मात्रामा क्याल्सियम पुगोस् । हड्डी बलियो बनाउने अर्को उपाय नियमित अभ्यास पनि हो ।

जति धेरै शारीरिक रूपमा सक्रिय रह्यो, उति नै हड्डी मजबुत हुन्छ र शरीरको राम्ररी विकास हुन पाउँछ । त्यसकारण घाममा बस्ने, क्याल्सियमयुक्त खानेकुरा खाने र शारीरिक रूपमा सक्रिय रहने गर्नुपर्छ । रिकेट्स नामक रोगबाट जोगिन पनि पर्याप्त क्याल्सियम आवश्यक हुन्छ । यो रोगले बच्चाको हड्डी कमजोर बनाउँछ र हड्डीको विकास रोकिन्छ । बच्चामा मांसपेशी दुखाइ पनि हुन्छ । क्याल्सियमको कमी हुँदा छाला सुक्खा हुने, कपाल रुखो देखिने, खुट्टा वा हातका औँला झमझमाउने, दाँत कमजोर हुनेलगायत समस्या देखिन सक्छ ।

हड्डी र दाँत मजबुत बनाउन बच्चालाई अत्यधिक क्याल्सियम आवश्यक पर्छ । त्यही कारण बच्चालाई पर्याप्त मात्रामा क्याल्सियमयुक्त खानेकुरा खुवाउनुपर्छ । बच्चाको शरीरमा क्याल्सियमको स्तर जाँच्नका लागि रगत परीक्षण गरिन्छ । यदि क्याल्सियमको कमी छ भने डाक्टरसँग परामर्श गरेर सप्लिमेन्ट सेवन गर्न सकिन्छ । डाक्टरले हाई क्याल्सियमयुक्त खाना खान सल्लाह दिन्छन् । अन्य रोगका कारणले हड्डी कमजोर हुने पनि हुन्छ । 

शारीरिक विकासका लागि पोषणयुक्त आहार 
बालबालिकाको मानसिक तथा शारीरिक विकासका लागि पौष्टिक आहार महत्वपूर्ण हुन्छ । खासगरी, पाँच वर्षमुनिका बालबालिकाका लागि झनै महत्वपूर्ण छ । यो अवधिमा मस्तिष्कको विकास तीव्र रूपमा हुने भएकाले पोषण भएका आहार खुवाउनुपर्छ । प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त खानेकुरा आवश्यक पर्छ । 

फलफूल र सागसब्जी :  फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ । त्यसैले खानेकुरामा फलफूल र सागपात समावेश गर्न सिकाउन आवश्यक छ । केमिकल फर्टिलाइजर प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी तथा अर्गानिक फलफूल खान उपयुक्त हुन्छ । फलफूल भिटामिनको राम्रो स्रोत हो । 

अन्न :  बालबालिकाको वृद्धिविकासका लागि अन्न अपरिहार्य खाद्यवस्तु हो । चामल, गहुँ, मकै, जौ र कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ । यसले शारीरिक विकास छिटो हुने हुन्छ । साथै, सिकाइको विकास गराउँछ । अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने भएकाले समेत स्वास्थ्यका लागि लाभदायी छ । यसबाहेक घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिले पनि जोड दिनुपर्छ । बजारबाट किनेर जंकफुड खुवाउनुहुँदैन । 

दूधजन्य पदार्थ :  बच्चाको मस्तिष्क विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन् । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, जसबाट दिमागको संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । यसमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ ।

प्रोटिन :  प्रोटिनयुक्त खानेकुरा जस्तै– माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । यसले मांसपेशी बलियो बनाउँछ । जसले बच्चाको दिमागी विकासका साथै सिकाइ र भौतिक विकास अर्थात् उचाइ बढाउँछ । 

स्वस्थ पेयपदार्थ :  पानीको उपयुक्त प्रयोगले बच्चाको पाचन प्रकिया सहज राख्छ । बच्चालाई उमालेको पानी खुवाउनुपर्छ । धेरै चिसो पानी पनि खुवाउनुहुँदैन । फोहोर पानीले विभिन्न संक्रमण निम्त्याउन सक्छ । 

ad
ad
ad
ad