मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Wednesday, 18 December, 2024
२o८o असार १० आइतबार १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन खोजेको भन्दै स्थानीयको विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार १o:१३:oo

ललितपुर महानगरले लगनखेलस्थित प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । चलखेलका आधारमा सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागिएको भन्दै उनीहरू महानगरविरुद्ध उत्रिएका हुन् । 

महानगरपालिकाले केही व्यापारीको स्वार्थमा सरकारी जग्गामा व्यापारिक कम्प्लेक्स बनाएर प्रहरी कार्यालयलाई गल्लीभित्र सार्न लागेको आरोप लगाएका छन् । यसरी प्रहरी कार्यालय सार्दा लगनखेल क्षेत्रको शान्तिसुरक्षामा असर पर्ने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

लगनखेल बसपार्कसँगै जोडिएको करिब तीन रोपनी जग्गामा महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो । जहाँ रहेको १२ नम्बर वडा कार्यालय हटाइएको छ भने प्रहरी कार्यालय पनि हटाउन दबाब दिइएको छ । तर, स्थानीयले प्रहरी कार्यालय नहटाउन माग गरेका छन् । व्यापारी केबी महर्जनको सो जग्गासँगै अर्काे जग्गा भएको र सो जग्गालाई बाटो ठूलो बनाउनकै लागि व्यापारिक कम्प्लेक्स बनाउन लागिएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । 

महानगरपालिकाले गत भदौमा सो जग्गामा व्यापारिक कम्प्लेक्स बनाउने सम्झौता गरेको थियो । तर, वडा प्रहरी कार्यालय हटाउन सकेको छैन । सो कार्यालय हटाउनका लागि भन्दै १९ वैशाखमा महानगरपालिकाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई समेत लगेर हस्ताक्षर गराएको थियो । भवन खाली गराउन प्रहरीलाई निरन्तर दबाब दिइएको छ । तर, स्थानीयको विरोधका कारण सम्भव भएको छैन । यसमा अनियमितताको आशंकाका कारण महानगरपालिकाको निर्णय विवादमा परेको छ । 

लगनखेल समाज, लगनेश्वर महादेव यातायात प्रालि, करुणा टोल सुधार समिति, कुमारीपाटी क्लब, लगनखेल भजन मण्डल, बुद्धि विकास मण्डल, हनुमान सेवा केन्द्र, लगनखेल युथ क्लब, लगनखेल महिला समूह थटी टोल सुधार समितिलगायतले अख्तियारमा उजुरी गरेका हुन् । यसअघि उनीहरूले महानगरपालिकालगायतका ठाउँमा पनि सरकारी जग्गामा व्यापारिक भवन बनाउने प्रक्रिया रोक्न माग गर्दै आएका छन् ।