१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Saturday, 28 September, 2024
२o८o असार १० आइतबार o९:३२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई वर्षमा बन्नुपर्ने बागलुङ–बिहुँखण्ड आठ वर्षदेखि अलपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार o९:३२:oo

मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँखण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन् । लामो समयदेखि ठेकेदारको लापरबाहीले सडक कालोपत्रे नभएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीयले मंगलबार ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाएका छन् । स्थानीयले ठेक्का रद्द गर्नसमेत माग गरेका छन् ।

दुई वर्षभित्र बन्नुपर्ने २५ किलोमिटर सडक आठ वर्षमा पनि सम्पन्न नभएपछि स्थानीय आन्दोलित भएका हुन् । निर्माण कम्पनीको चरम लापरबाहीले हिउँदमा धुलो र वर्षामा हिलो खेप्नुपरेको उनीहरूको भनाइ छ । यो खण्डमा पटक–पटक म्याद थप गर्दासमेत सडक कालोपत्रे भएको छैन । 

माग पूरा नभएसम्म ताला नखोल्ने नागरिक आन्दोलनका अभियन्ता भरत सापकोटाले बताए । ‘हामीले विगतमा सडक कालोपत्रे चाँडो गर्न घचघच्याउँदै आएका थियौँ, तर हामीसँग पटक–पटक सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरिएको छ,’ उनले भने, ‘अब यो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्छ र यो सडक निर्माणको काम चाँडो गर्नुपर्छ भन्ने हाम्रो माग हो । माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ 

उनीहरूले आइतबार दिउँसो ११ बजेदेखि करिब डेढ घन्टा सडक अवरुद्ध गरे । लोकमार्गको रूपमा काम थालिएपछि नयाँ ट्र्याक खोलिएका ठाउँहरूमा सडक कालोपत्रे भइसकेर पनि पुनः मर्मत गर्ने वेला भइसक्दा अक्षेत बिहुँ खण्डमा काम नभएको र बर्खामा हिलो र हिउँदमा धुलोले स्थानीयलाई निकै सास्ती दिइरहेको सापकोटाले बताए । 

सडक कालोपत्र नहुँदा विद्यालय जाने बालबालिकाले निकै सास्ती खेप्नुपरेको छ । विद्यार्थी प्रकाश कँडेलले स्वास्थ्यमा समेत समस्या देखिने गरेको बताए । ‘यो सडक कालोपत्रे नहुँदा सबैभन्दा धेरै सास्ती हामी विद्यार्थीले खेप्नुपरेको छ,’ कँडेलले नयाँ पत्रिकासँग भने, ‘कच्ची सडकमा गुड्ने सवारीसाधनले उडाउने धुलोका कारण हामी विद्यालय आउँदा–जाँदा सासै फेर्न गाह्रो हुने गरेको छ । स्वास्थ्यमा समेत समस्या आउने गरेको छ ।’

बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आन्दोलनको नेतृत्व गरिरहेको छ । निर्णायक आन्दोलनमा अगाडि बढेकाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेल बताउँछन् । उनीहरूले २१ देखि २५ जेठसम्म सरकारी नम्बर प्लेटका सबै सवारीसाधनहरू आवतजावतमा रोक लगाउने, २६ देखि अनिश्चितकालसम्म मध्यपहाडी लोकमार्ग बन्द गर्ने जनाएका छन् । ‘यो हाम्रो निर्णायक आन्दोलन हो,’ नागरिक अगुवा सापकोटाले भने, ‘विगतमा पनि पटक–पटक समयमै काम सक्ने प्रतिबद्धता जनाइएपछि हामीले आन्दोलन रोकेका थियौँ । अब समस्याको समाधान गर्ने ग्यारेन्टी नभएसम्म आन्दोलन रोकिँदैन ।’ उनले मंगलबार बेलुका वार्ताका लागि बोलाइएको जानकारी दिए । ‘हामीलाई वार्ताका लागि गाउँपालिका आउन भनिएको छ । हामीले आन्दोलन भएकै ठाउँमा आउन भनेका छौँ,’ उनले भने । 

मध्यपहाडी लोकमार्गको माथिल्लो बिहुँ खण्डका निर्माणका लागि १० माघ ०७२ मा एमपी/एससिएफ/इसिसी जेभीले ठेक्का लिएको छ । १२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे सक्ने सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको तर्फबाट सूर्य कन्स्ट्रक्सनले सुरुमा काम थालेकोमा पछि पेटी ठेकेदार रामकाजी श्रेष्ठको श्रेष्ठ निर्माण सेवालाई काम गर्न दिइयो । निर्माण कम्पनीले हरेक असार मसान्तमा केही काम गरेजस्तो गर्ने र भुक्तानी लिएपछि बेपत्ता हुने गरेका छन् ।

यस्तै, लोकमार्गको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्डको १३ किलोमिटर सडकको सम्झौता भारत–सिद्धिसाई जेभीले गरेको छ । माघ १४ माघ ०७३ मा भएको सम्झौताअनुसार १३ किलोमिटर दुई वर्षभित्रै सम्पन्न गर्ने लेखिएको छु । बिहुँ–घोडाबाधे खण्डको १२ किलोमिटर सडक पनि दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने हो । तर, दुवै खण्ड पटक–पटक समय थप्दा निर्माण सम्पन्न भएको छैन ।

लोकमार्ग निर्माण आयोजना कार्यालय पर्वतले पटक–पटक म्याद थप्दा पनि काम पूरा नभएका कारण अब ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ । ‘हामीले धेरैपटक म्याद थपेर काम सम्पन्न गर्न भन्यौँ,’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी प्रमुख कल्पना अधिकारीले भनिन्, ‘अब हामी ठेक्का रद्द गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तर्फ लागेका छौँ । माथिल्लो खण्डको सूचना जारी भइसकेको छ । तल्ला खण्डको पनि एक दुई दिनभित्रै सूचना प्रकाशित हुन्छ ।’

लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ । लोकमार्गको एक हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी बागलुङ खण्डमा एक सय ३४ किलोमिटर पर्छ । पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदूरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ ।