१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ८ शुक्रबार ११:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्मरणशक्ति बढाउने केही उपाय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार ११:३३:oo

स्मरणशक्ति कसरी बढाउने ? यस विषयमा धेरै युवालाई चासो हुन्छ । यसका लागि सबैभन्दा पहिले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिनुपर्छ । किनकि, अव्यवस्थित जीवनशैली, तनाव, अस्वस्थ खानपान, अनिद्राजस्ता विभिन्न कारणले मानिसको स्मरणशक्तिमा असर गरिरहेको हुन्छ । हामीले आफ्नो स्मरणशक्तिलाई बढाउन केही टिप्स पनि अपनाउन सक्छौँ । जसकारण, हामीले सिकेका र पढेका कुराहरू राम्ररी याद गर्न सकियोस् । 

- पढ्नका लागि शान्त र व्याकुलतारहित वातावरण खोज्नुहोस् । 

- निद्रासँग सम्झौता नगर्नुहोस् । पर्याप्त आराम पाएको दिमागले मात्रै राम्रोसँग सम्झन सक्छ ।

- जटिल सामग्रीहरूलाई याद गर्नुभन्दा पहिला बुझ्ने प्रयास गर्नुहोस् । यसका लागि शिक्षक वा एआईको मद्दत लिन सकिन्छ ।

- याद गर्नुपर्ने लामा कुराहरूलाई स–साना टुक्रामा विभाजन गर्नुहोस् । यसो गर्दा सूचनालाई अवचेतन मनसम्म पुर्‍याउन सजिलो हुन्छ ।

- बिहानै कम्तीमा १० मिनेट ध्यान र प्राणायामका लागि समय निकाल्नुहोस् । ध्यानले स्मरणशक्तिका साथै एकाग्रता क्षमता पनि बढाउँछ । तपाईंको दिमागलाई चाहिने अक्सिजन र ऊर्जा प्रदान गर्छ ।

- सम्भव भएमा आफूले पढेका कुरा अरूलाई सिकाउने प्रयास गर्नुहोस् । यसले बुझाइ र स्मरण दुवै बढाउँछ ।

- विचार र सूचनाहरूलाई ‘माइन्ड म्यापिङ’द्वारा कल्पना गरेर जोड्ने र बुझ्ने प्रयास गर्नुहोस् । ‘माइन्ड म्यापिङ’को अवधारणाले स्मरणशक्तिको दुनियाँमा बिस्तारै चर्चा कमाउँदै छ ।

- संज्ञानात्मक कार्य र मेमोरी बढाउन नियमित शारीरिक व्यायाममा संलग्न हुनुहोस् । 

- कुनै पनि विषय पढ्दा आफ्नो दिमागमा दुईवटा प्रश्न लिएर पढ्नुहोस्, ‘किन ?’ र ‘कसरी ?’ यसले तपाईंको दिमागलाई विषयमै टिकाउन मद्दत गर्छ ।

- स्मरण बलियो बनाउन धेरै इन्द्रियहरूको प्रयोग गरेर पढ्नुहोस् । उदाहरणका लागि बोलेर, हेरेर, लेखेर अनि आफैँले सो विषयमा अडियो रेकर्ड गरी सुनेर पनि ।

- एकै बसाइमा लामो समय पढिरहनुभन्दा ‘पोमोडोरो टेक्निक’ अपनाउनुहोस् । हरेक २५ मिनेटको पढाइपछि कम्तीमा ५ मिनेटको विश्राम लिनुहोस् । धेरै अनुसन्धानहरूअनुसार यो छोटो विश्रामले पढेका कुराहरू तुलनात्मक रूपमा सजिलै याद रहन्छ ।

- खानेकुरामा विशेष ध्यान दिनुहोस्, जंकफुडबाट बच्नुहोस् । फाइबरयुक्त ब्रेनफुडहरूले तपाईंको दिमाग सधैँ तेज बनाइराख्न मद्दत गर्छ ।

व्यवस्थित रूपले पढ्न पोमोडोरो टेक्निक 
व्यवस्थित तरिकाले पढ्नका लागि विद्यार्थीले अवलम्बन गर्ने धेरै वैज्ञानिक विधिहरूमध्ये पोमोडोरो टेक्निक एक हो । १९८० को दशकको अन्त्यमा फ्रान्सेस्को सिरिलोद्वारा विकसित गरिएको यो विधि समय व्यवस्थापन विधि हो । यो विधिअनुसार हरेक २५ मिनेटको अन्तराललाई पोमोडोरो भनिन्छ । यो विधिले पढाइसहित अनेकन् मानसिक कार्यलाई सजिलो र गुणस्तरीय बनाउँछ । विद्यार्थीले यो टेक्निक प्रयोगमा ६ चरण पालना गर्नुपर्छ । 

- आफूले पढ्नुपर्ने निश्चित विषयवस्तु छनोट गर्नुहोस् । 

- टाइमर सेट गर्नुहोस् (सामान्यतया २५ मिनेटका लागि) । 

- यो अवधिभर पूर्ण ध्यान आफ्नो पढाइमा लगाउनुहोस् । 

- टाइमर बजेपछि छोटो ब्रेक लिनुहोस् (सामान्यतया पाँच मिनेटका लागि) । 

- अब चौथो पोमोडोरो लिनुहोस् र त्यसपछि लामो ब्रेक लिनुहोस् (सामान्यतया २०–३० मिनेट) । लामो ब्रेक समाप्त भएपछि दोस्रो चरणमा फर्कनुहोस् । यदि फरक विषयवस्तुलाई समय दिनुपर्ने भए पहिलो चरणबाट सुरु गर्नुहोस् । 

- पाँच मिनेट ब्रेकको समयमा हिँड्ने, पानी पिउने, ध्यान गर्ने, गीत सुन्ने, आफ्नो रुचिको कुरा गर्ने अथवा आफ्ना सानातिना बाँकी रहेका काम गर्न सकिन्छ । २५ मिनेट छोटो समयजस्तो लाग्छ भने ५० मिनेटको पोमोडोरो बनाएर १० मिनेटको ब्रेक लिन पनि मिल्छ । आफ्नो व्यक्तित्व र कामको प्रकारअनुसार यो विधिको प्रयोग फरक–फरक तरिकाले गर्न सकिन्छ ।

(स्मरणशक्ति विधामा गिनिज बुक अफ रेकर्डस्मा नाम लेखाइसकेका शर्मा मेमोरी किङ उपनामले समेत चिनिन्छन्) 

ad
ad
ad
ad