
मनुष्य देवतालाई पनि आफ्नै रूपमा परिकल्पना गर्छ । त्यसैकारण जस्ता हामी छाैँ, त्यस्तै हाम्रा देवता देखिन्छन् । यदि मनुष्यको अनुहार घोडाजस्तो हुन्थ्यो भने देवताको अनुहार पनि घोडाकै जस्तो हुन्थ्यो । –अज्ञेय, कवि । नयाँ चलचित्र ‘आदिपुरुष’लाई लिएर भइरहेको चर्चा वा विवादबीच मैले कवि अज्ञेयलाई सम्झिएको हुँ ।
अज्ञेयको विचारलाई नै परिष्कृत गर्दा अनुहार मात्रै नभई हाम्रा देवताको भाषा पनि हामी मनुष्यकै जस्तो हुन्छ भन्न सकिन्छ । अथवा एक अर्को भनाइलाई थोरै परिवर्तन गर्दै हामी जेका लायक छौँ, त्यस्तै देवता पाउँछाैँ । ‘आदिपुरुष’ चलचित्रका केही संवाद, दृश्यका अलावा केही पात्रको चित्रणबारे चर्चा भइरहेको छ ।
चर्चाको ठाउँमा विवाद वा हंगामा लेख्न ठिक हुन्थ्यो, किनभने हामी चर्चा गर्दैनाैँ, हामी केवल विवाद गर्छौं । चर्चामा संवाद हुने गर्छ तर विवादमा आफ्नो मतलाई यसरी दोहोर्याइन्छ ताकि अर्को पक्ष थाकोस् । यदि तपाईंको सुर मा सुर मिलाउनेको संख्या धेरै हुन्छ भने तपाईंको कुरा पनि स्थापित हुन्छ । शक्ति तर्कको भन्दा तपाईंका पाखुरा र चिच्याउने सामथ्र्यमा निहित हुन्छ ।
‘आदिपुरुष’ हेरेर आउने क्रुद्ध र क्षुब्ध थिए । त्यसको कारण हो, लंकामा मेघनादले हनुमानको पुच्छरमा आगो लगाउँदाका वेलाको संवाद । के हनुमानको बोली चलचित्रमा देखाएजस्तो छ ? केही मानिस आराध्य देउता हनुमानको बोली सडक छाप र टपोरी बनाएको भन्दै मर्माहत भएका छन्, जबकि यस्तो भाषा यी आफैँ विनाहिच्किचाहट बोल्छन् । यो भाषा कोही गुन्डा वा लफंगाले बोल्न सक्छ, हाम्रा नेताले पनि बोल्न सक्छन्, तर हनुमान ? यिनका लागि हनुमानको मुखारविन्दबाट यस्ता संवाद बोल्न लगाएर फिल्मकार वा लेखकले घोर पाप गरेका छन् । यो असन्तुष्टिबारे चर्चा गर्नुअघि यो चलचित्रले पहिलोपटक अभिनेता वा निर्देशकको सट्टा चलचित्रका पटकथा र संवाद लेखकलाई केन्द्रमा स्थापित गरिदिएको छ ।
यो वास्तवमा उपलब्धि हो । हिन्दी चलचित्रमा एकसेएक पटकथा लेखक आए, गए, तर बिरलै कुनै संवाद लेखकलाई यति महत्व मिलेको छ, जति ‘आदिपुरुष’का संवाद लेखकलाई मिलिरहेको छ । चलचित्रको नाम ‘आदिपुरुष’ हो, तर यो रामकथाको आजको संस्करण हो । वास्तवमा यसको नाम रामकथाको हिन्दुत्ववादी संस्करण हुनुपर्ने । यो अलग कुरा हो कि हिन्दुत्ववादी यो चलचित्र हेरेर आफैँ हतप्रभ भएका छन् ।
जो आफ्नो धार्मिक वा पवित्र अवसरमा अश्लील नारा लगाउन सक्छन्, निम्नस्तरका अश्लील गीत बजाउन सक्छन्, तिनैका लागि त ‘आदिपुरुष’का हनुमानको सिर्जना गरिएको हो ।
भारतीय जनता पार्टीका नेतासमेतले यो चलचित्रमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । तर, यी नेता अस्थायी प्रतिबन्ध लगाउन माग गरिरहेका छन्, ताकि यसमा आवश्यक सम्पादन गर्ने समय फिल्मकारलाई मिल्न सकोस् । हिन्दुत्ववादीबाहेक अरू पनि यो चलचित्रबाट निराश भएका छन् । कंग्रेसका हुन् वा आम आदमी पार्टीका नेता, सबैले यो चलचित्रको निन्दा गरेका छन् । छत्तीसगढका मुख्यमन्त्रीले आफ्नो राज्यमा चलचित्रलाई प्रतिबन्ध लगाउने धम्की दिएका छन् । प्रतिबन्धको विरोध स्वाभाविक रूपमा ती मानिसले गर्छन्, जो सिद्धान्ततः अभिव्यक्ति स्वतन्त्रताका पक्षधर हुने गर्छन् । हेर्न बाँकी भनेको यदि केही धर्मभीरु अदालत जान्छन् वा जान्नन् र अदालतको रबैया के हुन्छ भन्ने हो ।
चलचित्रका संवाद लेखक यो विरोधलाई लिएर हैरान छन् । संवाद लेखक आफ्नो हजुरआमाले चलचित्रमा प्रस्तुत गरिएझैँ नै रामायण वा महाभारतको कथा सुनाएर हुर्काएको बताउँछन् । लेखकको दाबी सुनेर बाँकी हिन्दू आफ्ना हजुरआमालाई सम्झिरहेका छन् । प्रश्न गरिरहेका छन् के उनका राम ,लक्ष्मण वा हनुमान पनि यस्तै भाषा बोल्थे ?
लेखकका अनुसार दिग्गज हिन्दू कथावाचक पनि यस्तै किसिमको भाषा प्रयोग गर्छन् । यो दाबीलाई पुष्टि गर्न उनी ती दिग्गजको भिडियो देखाउन लागिपरेका छन् । वास्तवमा हिन्दूका बीच आज यस्ता दिग्गज भनिएका अनेक सन्त लोकप्रिय छन्, जो आफ्ना प्रवचनमा चलचित्रमा प्रयोग गरिएको स्तरको भाषा बोल्छन् । यो कोणबाट हेर्ने हो भने फिल्मका पटकथाकार कुनै मौलिकताको दाबीसमेत गरिरहेका छैनन् । र, उनी चलचित्रलाई प्रयोगका रूपमा हेर्नुपर्ने बताउँछन् ।
कंग्रेस वा अन्य दलले वा धार्मिक हिन्दूको विरोध त बुझ्न सकिन्छ, तर हिन्दुत्ववादीले चलचित्रको विरोध गर्नु पाखण्डसिवाय अरू केही होइन । हिन्दुत्वविरोधीले पहिलेदेखि रामलाई हिंस्रक नायकका रूपमा देखाउने प्रवृत्तिको आलोचना गर्दै आएका छन् । यिनले रामकथाको हिन्दुत्ववादी प्रयोगलाई लिएर गरिएको विरोध र ‘आदिपुरुष’को भाषा एवं चित्रणलाई लिएर गरेको विरोध सुसंगत छ । तर, रामनवमी वा अन्य पर्वलाई मुसलमानविरुद्ध हिंसा भड्काउन प्रयोग गर्ने, मुसलमानलाई गालीगलोज गर्दै गीत बजाउनेलाई यो चलचित्रसँग किन आपत्ति, जो आफ्नो धार्मिक वा पवित्र अवसरमा अश्लील नारा लगाउन सक्छन्, निम्नस्तरका अश्लील गीत बजाउन सक्छन्, तिनैका लागि त ‘आदिपुरुष’का हनुमानको सिर्जना गरिएको न हो ।
के हिन्दुत्ववादी आफ्नो असली छवि देखेर चकित भएका हुन् ? अथवा यो चलचित्रले यिनको पवित्रताको वास्तविकतालाई बाहिर ल्याइदियो भनेर क्रुद्ध त भएका होइनन् ? यो चलचित्र हिन्दूका अलावा अन्यले पनि हेर्नेछन् । यसले यी अन्यलाई हिन्दूका पूज्य चरित्रबारे राय निर्माण गाराउनेछ । के हिन्दुत्ववादी यो चलचित्रले हिन्दुत्वको असली चेहरा देखाउने भएर निराश भएका हुन् ? चलचित्रको विरोधका बीचमा पटकथा लेखकको आत्मविश्वास हेर्न लायकको थियो । उनी चलचित्रको भाषामा धम्की र गुन्डागर्दीसमेत छ भन्ने स्विकार्छन् । उनका अनुसार गुन्डागर्दी शताब्दीयौँपछि चीर निद्राबाट जागेका हिन्दूको भाषा हो । उनका लागि ‘आदिपुरुष’को हनुमानको बोली हालैका वर्षमा पाइएको ‘नवस्वन्तन्त्रता’ अभिव्यक्ति हो ।
‘आदिपुरुष’ त्यो ऐना हो, जसमा हिन्दू समाज आफ्नो अनुहार देख्न सक्छ । वास्तवमा आदिपुरुष त्यो परीक्षा हो, जसमा हिन्दू समाजले आफूलाई दृढतापूर्वक प्रमाणित गर्नुपर्नेछ ।
(लेखक दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) सत्य हिन्दी