१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 18 October, 2024
२o८o असार ७ बिहीबार o९:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पोखरा महानगरको अनुमतिविनै बेगनास तालमा व्यावसायिक मोटरबोट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार o९:o५:oo

डुंगा व्यवसाय समितिका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष ढकनाथ कँडेलद्वारा अधिकार क्षेत्रबाहिर गएर मोटरबोट सञ्चालनको अनुमति

पोखरा महानगरपालिका– ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले क्षेत्राधिकारबाहिर गएर रामसार सूचीमा रहेको बेगनास तालमा आफ्नै लगानीको मोटरबोट सञ्चालनका लागि ठाडो अनुमति दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मोटरबोट (पर्यटन व्यवसाय) सञ्चालनको अनुमति र नियमनको अधिकार पालिका (बेगनासको हकमा पोखरा महानगरलाई) रहे पनि बेगनास ताल डुंगा व्यवसाय समितिका पूर्वअध्यक्षसमेत रहेका कँडेलले कानुनमाथि बलमिच्याइँ गरेका हुन् । यस्तै, ऐनले स्थानीय तहअन्तर्गत पर्ने सिमसारको संरक्षण र व्यवस्थापनको अधिकार र जिम्मेवारी पनि पालिकालाई सुम्पेको छ ।

‘पर्यटकलाई आकर्षण गर्न बोट आवश्यक रहेको भनी समितिबाट बोट खरिदका लागि अनुमति मागेपछि खरिदका लागि अनुमति दिएको हुँ,’ वडाध्यक्षसमेत रहेका कँडेलले तर्क गरे, ‘म समितिको पूर्वअध्यक्ष रहेकाले लगानी स्वाभाविक हो । महानगरबाट लिनुपर्ने अनुमतिका सम्बन्धमा अब प्रक्रिया सुरु गर्नुपर्ला नि !’ वडाध्यक्ष कँडेल, समितिका अध्यक्ष रविराज कँडेलसहित दुई सय ६५ जनाको लगानीमा कानुनी प्रक्रिया पूरा नगरी १३ जेठदेखि मोटरबोट सुरु गरिएको हो ।

मोतीराम तिमल्सिना, पोखरा महानगरपालिका–२५, वडाध्यक्ष
तालमा बोट सञ्चालन गर्न दिने–नदिने महानगरको क्षेत्राधिकार हो । आवश्यक अध्ययन नगरी अनुमति दिन सकिँदैन । वडाले अनुमति दिन मिल्दैन, उसको क्षेत्राधिकारभित्र पर्दैन । बोट सञ्चालन भएको पाइए महानगरले रोक्छ ।

पोखरा महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले बेगनास तालमा मोटरबोट सञ्चालनका लागि अनुमति दिने अधिकार वडासँग नरहेको बताए । ‘तालमा बोट सञ्चालन गर्न दिने–नदिने महानगरको क्षेत्राधिकार हो । आवश्यक अध्ययन नगरी अनुमति दिन सकिँदैन,’ तिम्सिनाले भने, ‘वडाले अनुमति दिएको रहेछ भने पनि दिन मिल्दैन, उसको क्षेत्राधिकारभित्र पर्दैन । बोट सञ्चालन भएको पाइए महानगरले रोक्छ ।’

पोखरा– ३१ का वडासचिव पोषनारायण ढकालले पनि मोटरबोट सञ्चालनका लागि वडाध्यक्षले अनुमति दिएको सुनेको, तर प्रक्रिया नमिलेको प्रतिक्रिया दिए । ‘इआइए पनि भएको छैन,’ उनले भने ।

रामसारमा सूचीकृत तालमा व्यावसायिक रूपमा डुंगा चलाउँदा के असर गर्छ र वातावरणीय असर न्यूनीकरणका उपाय के–के अवलम्बन गर्नुपर्छ भनेर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत गरिएको छैन । राष्ट्रिय सिमसार नीति, २०५९ मा पनि ‘सिमसार क्षेत्रवरिपरि हुने विकास निर्माणका क्रियाकलाप र कार्यक्रम स्वीकृत गर्नुअगाडि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने’ उल्लेख छ । नदी, ताल, जलाशय एवं वनजंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थानलाई सिमसार भनिन्छ ।

पोखराका तालमध्ये सबैभन्दा ठूलो र धेरै पर्यटकको आवतजावत हुने फेवातालमा व्यावसायिक रूपमा मोटरबोट सञ्चालनमा आएको छैन । तर, बेगनासमा रेस्क्युलाई देखाउँदै व्यावसायिक प्रयोजन र स्वार्थका लागि बोट सञ्चालन गरिएको हो । तालमा पाँच वर्षदेखि १४ सिट क्षमताका दुई मोटरबोट थिए । ती बोट पनि अनुमतिविना नै चलिरहेका छन् । रेस्क्युलाई देखाउँदै ५० लाख लागतमा नयाँ बोट ल्याएर व्यावसायिक रूपमा प्रयोग गरिएको हो । 

समितिका अध्यक्ष कँडेलले तालमा केही दुर्घटना भइहालेमा रेस्क्यु गर्न र बराह मन्दिरलाई लक्षित गरेर मोटरबोट सञ्चालनमा ल्याइएको बताए । समितिमा रहेका दुई सय ६५ जना सदस्यले नयाँ मोटरबोट खरिद गर्ने भनेपछि वडाको अनुमति लिइएको उनले दाबी गरे । महानगरसँग अनुमति नलिई सञ्चालन गर्न मिल्छ भन्ने प्रश्नमा उनले ‘मेयरलाई भेट्न दुईपटक गएको, तर भेट नभएको’ बताए ।

आफूखुसी भाडा तय
बोटको भाडादर पनि महानगरको समन्वयमा मात्र तोक्न मिल्छ । तर, यहाँ व्यवसायीले आफूखुसी भाडादर तय गरेका छन् । बोटमा बसेर ताल सयर गर्न प्रतिव्यक्ति चार सय शुल्क तिर्नुपर्छ । बोटमा एकपटकमा २० जनाले यात्रा गर्न मिल्छ । लेखनाथमा बेगनाससँगै सात ताल छन्, यसलाई सात तालको बाटिकाका रूपमा समेत चिनिन्छ । बेगनास त्यस क्षेत्रको सबैभन्दा ठूलो तालसमेत हो ।