१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:१o:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुक्लामा एकै दिन चार सय १२ वटासम्म उडान

आरोही र पैदलयात्री बोक्न अप्रिल र मेमा जहाज र हेलिकोप्टरबाट ६७ सय उडान–अवतरण, साढे ४८ हजार यात्रुलाई सेवा

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१o:oo

वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । 

आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै चार सय १२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ चार सय कटेको उनको भनाइ छ । जसमध्ये हवाईजहाजबाट ३९ र हेलिकोप्टरबाट तीन सय ७३ उडान–अवतरण भएको थियो । 

पर्यटकीय मौसममा लुक्ला विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)पछि सबैभन्दा धेरै व्यस्त रहन्छ । सिजनमा उडान संख्याका हिसाबले पनि टिआइएपछि लुक्लामै धेरै ‘फ्लाइट मुभमेन्ट’ हुन्छ । हिमाल आरोहणका लागि उपयुक्त सिजन मानिने यस वर्षको अप्रिल र मे महिनामा हिमाली भेगमा आरोही र पदयात्री खचाखच थिए ।  

सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोही, पथप्रदर्शक (गाइड) र खुम्बु क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिन लुक्ला विमानस्थल सिजनभरि नै व्यस्त बनेको हो । सन् १९७१ देखि सञ्चालनमा रहेको लुक्ला विमानस्थल देशकै सबैभन्दा व्यस्त ‘स्टल’ विमानस्थल हो । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै सबैभन्दा धेरै चार सय ७८ आरोहीले अनुमति लिएका थिए । आरोही र गाइड गरी करिब ६ सयले सगरमाथाको शिखर चुमेको पर्यटन विभागले जनाएको छ । खुम्बु क्षेत्रमा पदयात्रामा जाने पर्यटकको संख्या पनि ऐतिहासिक नै रह्यो । 

 लुक्लामै केन्द्रित वायुसेवा 
सगरमाथा आरोहण तथा खुम्बु पदयात्राका लागि वसन्त ऋतु सबैभन्दा उत्तम सिजन हो । यो समय पर्यटक बोक्न स्टल उडान गर्ने जहाज र हेलिकोप्टर कम्पनी सगरमाथा क्षेत्रमै केन्द्रित हुने गर्छन् । लुक्ला सगरमाथाको प्रवेशद्वार हो, जहाँबाट पदयात्रा सुरु हुन्छ । अप्रिल र मे महिनामा लुक्ला विमानस्थलमा कुल ६ हजार ६ सय ९३ उडान–अवतरण भएका छन्, जसमध्ये एक हजार चार सय ७४ हवाईजहाज र पाँच हजार दुई सय २० हेलिकोप्टरका हुन् । 

लुक्ला विमानस्थलमा हवाईजहाजको भन्दा हेलिकोप्टरको ‘फ्लाइट मुभमेन्ट’ बढी हुने गर्छ । हेलिकोप्टरले लुक्लामा झरेका पर्यटकलाई नाम्चे, कोङ्दे, गोक्यो लेक, एभरेस्ट बेसक्याम्प, कालापत्थरलगायत ठाउँमा घुमाउने गर्छन् । यस्तै, आरोहण र पदयात्राका क्रममा बिरामी वा अलपत्र हुने पर्यटकलाई हेलिकोप्टरले ‘रेस्क्यु’ पनि गर्ने गर्छन् । छोटो दूरीमा उडान गर्ने हुँदा जहाजको तुलनामा हेलिकोप्टरको ‘फ्लाइट मुभमेन्ट’ धेरै हुने गरेको श्रेष्ठको भनाइ छ । हवाईजहाजले काठमाडौं र रामेछापबाट लुक्ला उडान गर्छन् । काठमाडौंको त्रिभुवन विमानस्थल अत्यन्तै व्यस्त भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लुक्लाका फ्लाइट रामेछाप–मन्थली विमानस्थलबाट गर्ने व्यवस्था गरेको छ ।

अप्रिल र मे महिनामा जहाज र हेलिकोप्टरले ४७ हजार आठ सय यात्रुलाई बोकेको लुक्ला विमानस्थल कार्यालयको तथ्यांक छ । जसमध्ये १७ हजार यात्रु लुक्लामा अवतरण गरे भने २६ हजार ६ सय ५४ यात्रुहरू लुक्लाबाट रामेछाप, काठमाडौंसहित सगरमाथा क्षेत्रका विभिन्न ठाउँतर्फ उडेका हुन् । यो तथ्यांकमा जहाजबाट लुक्लामा उडान–अवतरण गरेका यात्रुहरू र हेलिकोप्टरबाट अवतरण मात्रै गरेका यात्रु समेटिएका छन् । विभिन्न ठाउँबाट हेलिकोप्टर चढेर लुक्लामा झर्ने यात्रुहरूको संख्या त्यति जानकारीमा नआउने गरेको विमानस्थल प्रमुख श्रेष्ठले बताए । 

अप्रिलमा हवाईजहाजबाट ४९ हजार एक सय ८१ केजी कार्गो लुक्ला झारेको छ भने ९४ हजार ६३ केजी सामान लुक्लाबाट बाहिरिएको छ । यस्तै, मेमा एक लाख ७८ हजार एक सय १९ केजी कार्गो लुक्लामा ढुवानी भएको र ७७ हजार आठ सय ६५ केजी कार्गो लुक्लाबाट बाहिरिएको विमानस्थल कार्यालयले जनाएको छ । यो तथ्यांकमा हेलिकोप्टरले बोकेको कार्गो समेटिएको छैन । 

 सगरमाथा आरोहीको संख्यामा पनि कीर्तिमान
यस वर्षको वसन्त ऋतुमा इतिहासकै सबैभन्दा धेरै चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । आरोही र गाइड गरी करिब ६ सयले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागको अनुमान छ । यस सिजनमा भारतीय र नेपाली पदयात्रीहरूको सगरमाथा क्षेत्रमा भिड नै लागेको श्रेष्ठको भनाइ छ । यतिसम्म कि, बाटोमा यात्री र खच्चडलाई पन्छाउँदै हिँड्नुपर्ने अवस्था आएको थियो । 

 धेरै उडान भएका दिन 
वसन्तकालीन सिजनका लागि लुक्लामा सबैभन्दा धेरै उडान–अवतरण २ मेका दिन चार सय १२ पटक भयो । ३ अप्रिलमा एकै दिन हेलिकोप्टरका तीन सय १६ र जहाजका ५४ गरी कुल तीन सय ७० फ्लाइट भएका थिए । २ अप्रिलमा जहाजका ४४ र हेलिकोप्टरका दुई सय आठ गरी दुई सय ५२ फ्लाइट मुभमेन्ट भए भने ४ अप्रिलमा जहाजका ३५ र हेलिकोप्टरका दुई सय ५६ गरी दुई सय ९१ उडान–अवतरण भएका छन् ।

यस्तै, १० अप्रिलमा जहाजका ४१ र हेलिकोप्टरका दुई सय ६० गरी तीन सय एक उडान भए भने १३ अप्रिलमा जहाजका ३६ र हेलिकोप्टरका दुई सय ७९ गरी तीन सय १५ उडान–अवतरण भएको तथ्यांक छ । १४ अप्रिलमा ३६ जहाजका र हेलिकोप्टरका दुई सय ८२ गरी कुल तीन सय १८ पटक उडान–अवतरण भए । ‘सिजनमा लुक्लामा फ्लाइट तीन सय क्रस भइहाल्छन्,’ विमानस्थल प्रमुख श्रेष्ठले भने, ‘यसपटक लुक्लामा कोभिडपछिकै सबैभन्दा धेरै फ्लाइट भएका छन् ।’ 

लुक्ला विमानस्थलमा एकपटकमा चारवटा जहाज पार्किङ गर्न मिल्छ । हेलिकोप्टरका लागि छुट्टै हेलिपोर्ट छ । ‘जहाज एउटा उड्छ, अर्को आउँछ, एकैचोटि ६–७ वटा नआउने हुँदा व्यवस्थापनमा खास समस्या हुँदैन,’ उनले थपे, ‘हेलिकोप्टरका सर्ट रुट हुन्छन् । लुक्लाबाट नाम्चे पुगेर फर्किने पनि हुन्छन् ।’ कतिपय हेलिकोप्टरका फ्लाइट काठमाडौंबाट हुन्छन् । सगरमाथा क्षेत्रमा उडान गर्ने सबै हेलिकोप्टरले लुक्ला विमानस्थललाई आधार बनाउँछन् । उनले भने, ‘तेल भर्न होस् वा लोड पेनाल्टी मिलाउन, लुक्ला अवतरण नगरी सुखै छैन ।’ अहिले स्टल उडान तारा, समिट, नेपाल एयरलाइन्स, सीता एयरले मात्रै गर्दै आइरहेका छन् । 

जहाज अत्यन्तै कम र यात्रु धेरै हुने हुनाले सबैले हवाईजहाजको टिकट नपाउने अवस्था छ । जहाजमा टिकट नपाउने आरोही पदयात्री बसमा सल्लेरीसम्म पुगेर त्यहीँबाट यात्रा सुरु गर्छन् । पछिल्लो समय सल्लेरीसम्म सडक पुगेपछि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हिँडेको पुरानो ट्रेकिङ रुट जिरी–लुक्ला सुनसान बनेको छ । यो सिजनमा मौसमले समस्या नपारेको र दुर्घटना पनि त्यति नभएको अछामीले बताए । 

ad
ad