जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय परिसरमा स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरिएको छ। मकवानपुर प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको जनाएको छ।
स्मार्ट कन्ट्रोल रुमको बुधबार मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले उद्घाटन गरे। कन्ट्रोल रुमको उद्घाटन गर्दै प्रहरी उपरीक्षक गौतमले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्दै एकैपटकमा चारवटासम्म फोन प्रयोग गर्न मिल्ने गरी स्मार्ट कन्ट्रोल रुम सञ्चालन गरिएको बताए।
‘अब १०० मा फोन नलाग्ने, कुनै पनि घटनाको विषयमा जानकारी ढिला आउने समस्या कमी हुनेछ। घटनास्थलमा समयमै प्रहरी नपुग्ने समस्याको पनि समाधान हुनेछ,’ उनले भने । प्रहरी उपरीक्षक गौतमले स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएसँगै जिल्लामा हुने कुनै पनि घटनास्थलमा प्रहरीको छिट्टै उपस्थिति हुने दाबी गरे।
सूचना प्रविधिको प्रयोग गरी गुनासोकर्ता र नजिकको प्रहरीसँग प्रत्यक्ष सम्पर्क गराउने तथा एसएमएसबाट समेत घटनाबारे जानकारी गराई तत्काल घटनास्थल पुग्न यससम्बन्धी एप पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
स्मार्ट कन्ट्रोल रुममा तत्कालका लागि तीनवटा फोन र कम्प्युटरसहितको सेवाको सुरुवात गरिएको छ । यस्तै, प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको विषयमा जानकारी गराएका थिए । प्रहरी निरीक्षक केसीका अनुसार हाल काठमाडौं प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवात गरिएको हो ।