नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको हो । डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकसमेत नियुक्ति गरेको छ । डिबेन्चर बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाइएको छ ।
मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच दुई पक्षले समझदारी गरेका हुन् । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू विनयकुमार रेग्मी र मनोज ज्ञवाली तथा दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति थियो ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पुर्याउने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा रहेका दुई सय ५५ शाखा र १८ विस्तारित काउन्टरमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।