१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले हटायो घुम्ती शौचालय

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५३:oo

चुहिन थालेकाले हटाउनुपरेको महानगरको भनाइ, तत्काल अर्को शौचालय नराखिने

काठमाडौंको न्युरोड (एनएसीछेउ) र रत्नपार्कनजिकै रहेको घुम्ती शौचालय महानगरपालिकाले हटाएको छ । नियमित मर्मत अभावका कारण घुम्ती शौचालय चुहिन थालेको र जसका कारण दुर्गन्ध फैलिएपछि महानगरले हटाएको हो । 

यी स्थानमा एक दशकभन्दा अघिदेखि घुम्ती शौचालय प्रयोगमा थिए । सार्वजनिक शौचालय अभावलाई यिनीहरूले केही हदमा भए पनि पूर्ति गरिरहेका थिए । तर, त्यही शौचालय पनि बन्द हुँदा सर्वसाधारण घरबाट निस्किनुअघि शौचालयबारे सोच्न बाध्य भएका छन् । महानगरका अनुसार २० जेठबाट उक्त शौचालय बन्द भएका हुन् । महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘हामीसँग भएका दुईवटा घुम्ती शौचालय हाललाई बन्द भएका छन् । चुहावट भएका कारण दुर्गन्ध फैलियो । त्यसैले हटाउन बाध्य भयौँ ।’ 

उनका अनुसार घुम्ती शौचालय सञ्चालनका लागि १४ वर्षअघि महानगरपालिकाले टेन्डर आह्वान गरेको थियो । सोही आह्वानअनुसार वासु उप्रेतीलाई शौचालय सञ्चालनको जिम्मेवारी दिइएको थियो । १० वटा घुम्ती शौचालयका लागि महानगर र उप्रेतीबीच सम्झौता भए पनि कार्यादेश नदिएकाले दुईवटा मात्र सञ्चालन हुँदै आएका थिए । उक्त शौचालय महानगरले विभिन्न जात्रा, पर्व, आन्दोलनलगायत समयमा पनि प्रयोग गर्दै आएको थियो । काठमाडौं महानगरले तत्काल घुम्ती शौचालय नचलाउने भएको छ । प्रवक्ता मानन्धरका अनुसार मापदण्ड पुर्‍याएर प्रस्ताव लिएर कोही आए महानगरले सोच्नेछ ।

काठमाडौंले घुम्ती शौचालय बन्द गराए पनि ललितपुर महानगरपालिकाले भने सञ्चालन गरिरहेको छ । ललितपुरले पाटन र पुल्चोकमा दुईवटा घुम्ती शौचालय राखेको छ । जात्रा, पर्वका वेला आवश्यकताअनुसार विभिन्न ठाउँमा समेत लैजाने गरेको महानगरले जनाएको छ । महानगरका प्रवक्ता राजु महर्जनले भने, ‘सर्वसाधारणको मागअनुसार घुम्ती शौचालय प्रयोग गर्दै आएका छौँ । ती शौचालयका कारण जात्रा, पर्वमा निकै सहज हुने गरेको छ ।’ 

नयाँ मेयर आएको एक वर्षसम्म पनि काठमाडौंमा बनेन एउटै शौचालय
काठमाडौं महानगरभित्र सशुल्क र निःशुल्क गरी एक सय ५१ वटा सार्वजनिक शौचालय छन् । महानगरपालिका कार्यालयअन्तर्गत मात्रै ५९ वटा छन् । त्यसमध्ये केही शौचालय प्रयोगमा नआएको महानगरपालिकाले जनाएको छ । महानगरले सार्वजनिक शौचालय निर्माणका लागि ०७६ मा गठन गरेको कार्यदलले तत्काल ५० सहित दुई सय ८४ शौचालय आवश्यक रहेकोे सिफारिस गरेको थियो । तर, हालसम्म सिफारिसअनुसार काम गरेको छैन ।

यस्तै, काठमाडौं महानगरका मेयर बालेन्द्र साहको कार्यकाल सुरु भएयता एउटा शौचालय पनि निर्माण हुन सकेको छैन । उनले निर्वाचित हुनेबित्तिकै निःशुल्क शौचालय अभियान चलाए पनि उक्त अभियानले गति लिन सकेको छैन । विभिन्न ३७ संघ–संस्थासँगको सहकार्यमार्फत एक सयभन्दा धेरै ठाउँमा सार्वजनिक शौचालय भने प्रयोगमा छन् । महानगरका प्रवक्ता मानन्धरले शौचालय निर्माणका लागि ठाउँ अभावका कारण समस्या भएको बताए । ‘शौचालय निर्माणका लागि सबैभन्दा ठूलो समस्या ठाउँ अभाव हो । शौचालय बनाउन भन्नासाथ जोकोहीले ठाउँ दिँदैनन्,’ प्रवक्ता मानन्धरले भने ।

ad
ad