प्रमुख सत्तारूढ दल कांग्रेसभित्रको असन्तुष्ट समूह ‘अर्ली’ महाधिवेशनमा जाने र सभापति शेरबहादुर देउवाको विकल्पमा नेतृत्व लिने दाउमा लागेको छ । तर, विधान र अहिलेको शक्ति सन्तुलनले कांग्रेसलाई ‘अर्ली’ महाधिवेशनतर्फ उन्मुख गराउन भने सहज छैन ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘अर्ली’ महाधिवेशनका लागि दबाब बढाउने रणनीति थालेका छन् । सभापति देउवाको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा आलोचनामा उत्रिएका महामन्त्रीद्वयले आन्तरिक रूपमा ‘अर्ली’ महाधिवेशनसम्मको गृहकार्य गरेका हुन् । महामन्त्रीद्वयले केन्द्रीय समिति बैठक आह्वान गर्न सभापति देउवालाई दबाब दिने र पार्टीका आन्तरिक विषय जोडतोडका साथ उठाउने तयारी गरिरहेका छन् ।
केन्द्रीय समिति बैठकमा नेतृत्व असफल भएको भन्दै विशेष महाधिवेशनको माग अगाडि सार्ने उनीहरूको रणनीति रहेको निकट नेताहरू बताउँछन् । रणनीतिअनुसार नै महामन्त्रीद्वय केन्द्रीय सदस्य र बौद्धिक वर्गसँग निरन्तर संवादमा छन् । तर, सभापति देउवाले भने केन्द्रीय समिति बैठक बोलाउने रुचि देखाएका छैनन् । ‘उहाँहरू केन्द्रीय समिति बैठकमा नेतृत्वको कार्यशैलीलाई जोडतोडले उठाउनेबारे छलफलमा हुनुहुन्छ । बैठकबाट केही निर्णय गराउने र अर्ली अधिवेशनका लागि दबाब बढाउने तयारी छ,’ महामन्त्रीद्वयसँग संवादमा रहेका कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।
महाधिवेशनपछि महामन्त्रीद्वयले देउवाको कार्यशैली, भ्रातृ संस्थालाई पूर्णता र तत्काल विभाग गठनका लागि दबाब दिँदै आएका छन् । तर, यसका लागि देउवा तयार छैनन् । यीलगायत सरकारमा मन्त्री पठाउने, नागरिकता विधेयक, रेशम चौधरीलाई आममाफी, संसद् विकास कोष ब्युँताउनेलगायतका दीर्घकालीन महत्वका विषयमा देउवाले एकलौटी निर्णय र सहमति दिएको विषयलाई देउवाको असफलताको रूपमा बैठकमा प्रवेश गराउने उनीहरूको तयारी छ ।
महामन्त्रीद्वय केन्द्रीय समिति बैठकसँगै आफ्नैसमेत समीक्षा गरेर कार्यकर्ता र जनस्तरमा जाने र भावी रणनीति बनाउने तयारीमा छन् । यसमा युवा नेता प्रदीप पौडेलसमेत लागिपरेका छन् । तर, इतर समूह एकै ठाउँ नहुँदा महामन्त्रीद्वय आक्रामक तयारीमा भने लाग्न सकेका छैनन् ।
महाधिवेशनमा इतर समूहबाट सभापतिमा लडेका शेखर कोइराला मौन बस्दा महामन्त्रीद्वय अप्ठ्यारोमा छन् । कोइरालाको भूमिका निश्चित नहुँदा महामन्त्रीद्वय अलमलमा छन् । ‘आक्रमक तयारी भइसकेको छैन । डा. साप नखुल्दा सभापतिज्यूसँग नजिकिएको हो कि ? महामन्त्रीलाई बेवास्ता गरेको हो भन्ने शंका छ,’ महामन्त्री थापानिकट मानिने एक केन्द्रीय सदस्यले भने, ‘विशेष महाधिवेशनकै लागि वातावरण अझै बनेको छैन । तर, दबाब बढाउने रणनीति छ ।’
तर, रूपान्तरण अभियानमा लागेका नेताहरूसँग भने महामन्त्री थापाले निरन्तर सम्पर्क गरिरहेका छन् । आफूहरूमाथि उठ्न सक्ने प्रश्नको समेत जवाफ दिने गरी महामन्त्रीद्वय तयारीमा छन् । उनीहरू आत्मसमीक्षासहित नयाँ योजना बनाउने तयारीमा छन् । ‘अब सहन सकिन्न । पात्रमा समस्या छ भने पात्र बदल्नुपर्छ, प्रवृत्तिमा समस्या छ भने प्रवृत्ति बदल्ने हो । टुलुटुलु हेरेर बस्ने होइन,’ महामन्त्री थापाले भन्दै आएका छन् । महामन्त्रीद्वयले विशेष महाधिवेशन हुने निश्चित नदेखेका कारण सभापति देउवालाई गलाउने रणनीति लिएका छन् । सभापति देउवाले पनि नेतृत्वका लागि हतार नगर्न महामन्त्रीद्वयलाई सुझाएका छन् ।
महामन्त्री थापा सभापतिले आफ्नो अधिकारलाई मनमौजी प्रयोग गर्दा पार्टी चलायमान बन्न नसकेको बताउँछन् । उनी सभापतिको कार्यशैलीको अपजस आफूहरूले बोक्न आवश्यक नरहेको बताउँछन् । यस विषयमा दुवै महामन्त्री एकै ठाउँमा रहेको उनको दाबी छ ।
‘हामीले पार्टीलाई चलायमान बनाउने कुरामा जुन कुरा सभापतिलाई पटक–पटक भनेका हौँ । तर, सभापतिको अधिकार क्षेत्रमा पर्ने केन्द्रीय समिति बैठक बोलाउने, विभागहरू गठन गर्ने, भ्रातृ संस्थालाई नेतृत्व दिने विषयमा हामीले गर्न सक्दैनौँ । सभापतिलाई आग्रह गर्नसम्म सक्छौँ । उहाँले चाहेमा क्षणभरमा उहाँले गर्न सक्नुहुन्छ । पार्टीको बैठक बस्ला र छलफल गरौँला भन्दा उहाँले बोलाउनै खोज्नुहुन्न । मनमौजी ढंगले चल्नुहुन्छ । सभापतिको अधिकार क्षेत्रबाहिर गएर हामीले बैठक बोलाउन मिल्दैन, यस्तो गर्दा पार्टीमा औपचारिक रूपमा नै विभाजनको अवस्था आउँछ । अब हामी सभापतिलाई कुरेर बस्दैनौँ,’ महामन्त्री थापाले नयाँ पत्रिकासँग भने, ‘पार्टीभित्रै लड्ने हो । केन्द्रीय समिति बैठक नबसे पनि महामन्त्रीको अधिकार क्षेत्रमा पर्ने संगठन विस्तार, परिचालनलगायतका कामलाई अगाडि बढाउँछौँ र सँगसँगै तल्लो तहको राय बुझ्नेछौँ । यी सबै विषयमा हामी महामन्त्री एकै ठाउँमा रहेर तयारीमा छौँ । विशेष महाधिवेशन या के भन्ने तल्लो तहको रायका आधारमा तय हुन्छ । अहिले नै यहाँ जाने भनेर भन्न सकिँदैन ।’
कांग्रेसमा नेतृत्वको कार्यशैलीमाथि असन्तुष्टि बढिरहेको समयमा सभापति देउवाले २० भदौमा १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने बताएका थिए । आफूविरुद्धको आवाज बढ्दै गएको अवस्थामा मौनता साँध्दै आएका देउवाले २० भदौमा कांग्रेस ललितपुरको जिल्ला सम्मेलनमा महामन्त्रीद्वयप्रति संकेत गर्दै उनले आफ्नो विरोध गर्दैमा पार्टी रूपान्तरण नहुने बताएका थिए । ‘तीनै तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेको छ ।
नेविसंघ स्ववियु निर्वाचनमा पहिलो बनेको छ । अब यसलाई अगाडि बढाउनुछ । अझै बलियो बनाउनुछ । पार्टीमा अब तपाईंहरू हुने हो, मेरो त के छ र ? काम गर्नुस्, पार्टी बलियो बनाउनुस् । काम गर्नुपर्ने वेला एक–अर्काको विरोध गरेर पार्टी बन्दैन । गाली गरेर केही हुनेवाला छैन । पार्टी बनाउन जनतामा जानुपर्छ । जनतामा जाने गाली गर्ने हो भने त अप्ठ्यारोमा जान्छ पार्टी । अप्ठ्यारोमा गयो भने के गर्ने लडाइँ गर्ने ? अहिलेको वेला पार्टीलाई मजबुत बनाउने हो । सबैभन्दा ठूलो पार्टी बनाइहालेँ । सबै क्याम्पसमा हामीले जितेकै छौँ । भोलिका दिनमा पार्टीलाई अझै बलियो बनाउनुछ । म पार्टी सभापति हुनेवाला होइन । काम अहिले सबै एक भएर गयो भने हाम्रो पार्टी बलियो हुन्छ,’ देउवाको भनाइ थियो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत विशेष महाधिवेशनको कुनै सम्भावना नरहेको बताउँछन् । २ जेठमा पत्रकार भेटघाटमा उनले विशेष महाधिवेशनको गुन्जायस नभएको बताएका थिए । महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गरिरहेको जिज्ञासामा महतको भनाइ थियो, ‘पार्टीमा यसबारे कुनै छलफल भएको छैन । बरु, बाहिर यस्तो कुरा कसरी आउँछ म अचम्ममा छु । विशेष महाधिवेशनको कुनै गुन्जायस छैन ।’
संस्थापन समूहका नेताहरू महामन्त्रीद्वयको अभिव्यक्तिलाई गम्भीरताका साथ लिन आवश्यक नरहेको ठान्छन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीहरूका पछिल्ला अभिव्यक्ति नौलो नभएको बताउँछन् । ‘कांग्रेसमा संस्थापन समूहविरुद्ध फरक धार राख्नेहरूले विरोध गर्ने परम्परा स्वाभाविक हो । यो परम्परा कांग्रेसमा नौलो होइन । महामन्त्रीहरू जिम्मेवार पदमै हुनुहुन्छ, आफैँ काम गर्ने ठाउँमा हुनुहुन्छ र के कारणले काम भयो–भएन भन्ने थाहा पनि छ,’ उनले भने ।
शेखर–गगन समूहका नेता तथा कांग्रेस रूपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरे महामन्त्रीहरूले पार्टी रूपान्तरणका लागि दोहोरो जिम्मेवारी सदुपयोग गर्नुपर्ने बताउँछन् । ‘महामन्त्रीहरू दोहोरो जिम्मेवारीमा हुनुहुन्छ । पदीय जिम्मेवारीमा रहेर उहाँहरूले विधानले दिएको काम पूरा गर्नुपर्छ,’ घिमिरे भन्छन्, ‘जिम्मेवारीमा रहेर पार्टीलाई रूपान्तरण गर्न सक्नुभएन भने त्यसबाट बाहिर आउनुपर्छ र अभियान थाल्नुपर्छ ।’
केन्द्रीय समिति बैठक बोलाउन १० महिनादेखि देउवाको आलटाल
सभापति देउवाले आफूविरुद्ध आवाज उठ्ने देखेपछि बैठकलाई निरन्तर टार्दै आएका छन् । १४औँ महाधिवेशनपछि कांग्रेसका ६ केन्द्रीय समिति बैठक बसेका छन् । पछिल्लो समय ५ भदौमा नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । पछिल्लो समय निर्वाचन र उपनिर्वाचनको समीक्षा, सरकारमा सहभागितालगायत महत्वपूर्ण राजनीतिक घटनाक्रमका विषयमा धारणा बनाउन र रणनीति तय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।
४ मंसिरको निर्वाचनपछि १० पुसमा कांग्रेस सरकारबाट बाहिरिने अवस्था आयो । १२ पुसमा सभापति देउवाले २२ पुसमा केन्द्रीय समिति बैठक आह्वान गरेका थिए । तर, २० पुसमा २५ पुसमा पहिलो संसद् बैठक र २६ पुसमा प्रधानमन्त्रीले विश्वासको मत लिने कारण देखाउँदै बैठक २८ पुसलाई सारिएको थियो । २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यसम्पादन समिति बैठकबाट निर्णय भएपछि लगत्तै १५ माघमा केन्द्रीय समिति बैठक तय भयो । तर, २६ पुसमा सूचना निकालेर १५ माघका लागि तय भएको बैठक विशेष कारण देखाएर सरियो ।