दादुराबाट छोटो समयमै धेरै बालबालिका संक्रमित भएका छन् । यो कत्तिको जटिल अवस्था हो ?
गत पुसमा बाँकेमा दादुरा संक्रमणको ‘आउटब्रेक’ भएपछि धेरै जिल्लामा संक्रमण फैलिएको छ । दादुरा निकै संक्रामक भएकाले थोरै व्यक्तिमा फैलिँदा पनि मासमा फैलिन सक्ने ठूलो जोखिम हुन्छ । अहिलेको अवस्थामा लक्षण देखिएका व्यक्तिलाई ‘आइसोलेट’ गर्ने र खोपको पहुँचबाहिर रहेकालाई खोप दिनु नै नियन्त्रणको विकल्प हो ।
दादुराविरुद्धको खोप नियमित खोपमै पर्छ र निःशुल्क पनि छ तैपनि यसको आउटब्रेक हुनुको कारण के होला ?
सरकारले सन् २०२३ सम्ममा दादुरा उन्मूलनको लक्ष्य लिएको थियो । तर शतप्रतिशत बालबालिका खोपको पहुँचमा नहुँदा आउटब्रेक भएको हो । सामान्यतया संक्रमण उन्मूलन भएका विकसित राष्ट्रहरूमा पनि कहिलेकाहीँ यस्ता आउटब्रेक भइरहन्छन् । अर्थात्, संक्रमणविरुद्धको खोप प्रयोगमा बेवास्ता गर्दा यस्तो समस्या देखिएका थुप्रै उदाहरण छन् । हामीकहाँ संक्रमण नियन्त्रणमा रहेको समयमा खोप लगाउन बेवास्ता गर्दा केही हदसम्म समस्या देखिन्छ । तर, खोपबारे अभिभावकमा जनचेतना नहुनु, बसाइँसराइ, कोभिड महामारी आदि कारणले बालबालिका खोपबाट वञ्चित भइरहेका छन् ।
दादुरा नियन्त्रणका लागि आगामी दिनमा के गर्नुपर्ला ?
विशेषगरी खोपको साइड इफेक्ट र खोपबारे गलत बुझाइले बालबालिकामा समयमै खोप नलगाउने प्रवृत्ति बढेका कारण समस्या देखिन्छ । खोपको माध्यमबाट नियन्त्रणमा ल्याइएका दादुराजस्ता संक्रामक रोगले शतप्रतिशतमा खोप नलगाउँदा पुनः महामारीको रूप लिन सक्छ । तसर्थ, दादुरा नियन्त्रणका लागि शतप्रतिशतमा दादुराविरुद्धको खोप लगाउनु नै एकमात्र विकल्प हो ।