१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भन्सार एजेन्टकै योजनामा भएको थियो विमानस्थलबाट नौ किलो सुन चोरी

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५३:oo

ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी घटनाको योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भएको खुलेको छ । विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर उनले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । 

भन्सार एजेन्ट बस्नेत र नासु खड्कालाई पक्राउ गरेको एक महिना हुँदा पनि चोरी भएको सुन भने बरामद हुन सकेको छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, सुन बरामद हुन सकेको छैन भने गिरोहमा संलग्न अन्य व्यक्तिहरूसमेत फरार छन् । 

सिआइबीकी निर्देशक किरण बज्राचार्य यो विषयमा अनुसन्धान नै नसकिएकाले धेरै कुरा खुल्न बाँकी रहेको बताउँछिन् । ‘संगठित अपराध मुद्दामा हामीले पक्राउ परेका अभियुक्तविरुद्ध अनुसन्धान अघि बढाएका छौँ,’ उनले भनिन्, ‘सायद छिट्टै थप विवरण प्रस्ट होला ।’ 

सो सुन विदेशबाट तस्करी गरी ल्याउने र चोरेर बेच्ने समूह फरक–फरक छन् । सुन बिक्री गर्ने केही पक्राउ परे पनि तस्करी गरेर ल्याउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । घटना योजनाबद्ध र जटिल देखिएपछि प्रहरीले यसलाई संगठित अपराध कसुरमा पनि अनुसन्धान थालेको छ । जुन कसुरमा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई थुनामा राख्न पाउँछ ।

भन्सारको शंकास्पद भूमिका 
गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आएका एक यात्रुको दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकामा शंका लागेर भन्सारले रोकेको थियो । विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार एकै व्यक्तिले धेरै ई–सिटरेट ल्याएकाले त्यसमा आरसी (रिचेक) ट्याग लगाएर नियन्त्रणमा लिइएको थियो ।

भन्सार स्रोतका अनुसार एक्सरेको क्रममा सुनजस्तो शंकास्पद वस्तु पनि देखिएको थियो । त्यसरी शंकास्पद देखिएकामा सम्बन्धित व्यक्तिलाई पनि नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर, ती सुटकेस लिएर आएका चिनियाँलाई त्यत्तिकै छाडियो । ती सुटकेस लामो समय भन्सारमै थन्किए । सुटकेसका सामान लिलामीका लागि एक समूहले सक्रियता  बढाइसकेको थियो ।

विद्युतीय चुरोट भनेर भन्सारबाट लिलाम गर्न लगाउने र नौ किलो सुन तस्करी गर्ने योजना थियो । स्रोतका अनुसार त्यसका लागि सेटिङ पनि मिलिसकेको थियो । लिलामीको अन्तिम तयारी हुँदा उनीहरूले सुटकेस चेक गर्दा त्यतिवेलासम्म ई–सिगरेट साटफेर भइसकेको थियो । सुटकेसको जिम्मेवारी नासु खड्कालाई थियो । भन्सारकै आन्तरिक छानबिनमा ई–सिगरेट साटेको उनले स्वीकार गरे । भन्सारका अन्य कर्मचारीजस्तै खड्कालाई पनि त्यसमा सुन रहेको जानकारी थियो । जुन कुरा आफूनिकट भन्सार एजेन्ट बस्नेतलाई सुनाए । बस्नेतले नै अरू ई–सिटरेट किनेर खड्कालाई दिई साटफेर गरिएको थियो । जसबापत खड्काले ६५ लाख रुपैयाँ लिएका थिए ।

 सो सुन किन्ने दुई सुनपसले पक्राउ परे पनि ठूलो मात्रामा सुन किन्नेहरू पक्राउ परेका छैनन् । सिआइबी स्रोतका अनुसार भन्सार एजेन्ट बस्नेतका आफन्त समेत यसमा मुछिएका छन् । उनले करिब नौ करोड पर्ने सुन करिब ६ करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । अर्काेतर्फ सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएको खुलेको छ । त्यसअघि पनि उनी सुन लिएरै आएको हुन सक्ने आकलन छ । तर, उनलाई किन भन्सारले सहजै छाडिदियो भन्ने प्रश्न उठेको छ । प्रमुख भन्सार प्रशासक पोखरेल भने सुन रहेको सूचनाका आधारमा भन्दा व्यावसायिक प्रयोजनका लागि धेरै सामान ल्याएको आधारमा उनको सुटकेस नियन्त्रणमा लिइएको बताउँछन् ।

ad
ad