गर्मी मौसममा मानिसको शरीरबाट धेरै पसिना बग्छ । त्यसैले अति नै टाइट हुने कपडा लगाउनु राम्रो मानिदैन । कटन, खादी, लिनेन, सिफन, रियनको ओभरसाइज कपडाले आरामदायी महसुस गराउनुका साथै फेसनेबल पनि देखाउँछ ।
कुनै समय फिटिङका कपडा चल्थे । तर, आजकल क्याजुअल वेयरमा प्रायः किशोरीहरूले ओभरसाइज फेसन गर्छन् । उनीहरू ओभरसाइज टाइपको टिसर्ट, ओभरसाइज सर्ट, ओभरसाइज जिन्स मन पराउँछन् । बेली बटन अहिले फेरि फेसनमा आएको छ । स्ट्रेट कट जिन्स पनि अहिले चलिरहेको छ । किशोरीहरूले ओभरसाइज कोट–पाइन्ट पनि रुचाउँछन् । तर, ४० वर्ष कटिसकेका महिलालाई यस्तो फेसन त्यति सुहाउँदैन ।
समरमा नाइट पार्टीमा मर्मेड गाउन, बल गाउन, एलाइन गाउन, रफल्ड गाउनलगायत चलेको छ । सारी र लेहेंगा त सदाबहार नै भइहाल्यो । हल्का हुने भएकाले जर्जेट, नेट, सिल्क, लाइक्रालगायत फ्याब्रिक समरमा धेरै चल्छ ।
कुर्थी पनि निकै चलेको छ । युवतीहरूले कटनको कुर्था जिन्समा लगाउन रुचाउँछन् । अफिसमा काम गर्नेले पनि यस्तै कपडामा कम्फर्टेबल फिल गर्छन् । समरमा विशेषगरी स्काई ब्लु, लाइट पिंक, लाइट अरेन्ज, लेभेन्जरलगायत लाइट कलरका कुर्थीमा धेरैलाई रुचि हुन्छ ।
किशोरीहरू सल नलगाई जिन्समा कटनका रेडिमेड कुर्थी लगाउन रुचाउँछन् । समरमा किशोरीहरूले मन पराउने अर्को परिहन कटनको लङ फ्रक (वान पिस वा टु पिस) हो ।