Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शनिबार कांग्रेस ललितपुरको प्रथम जिल्ला सम्मेलनमा सभापति शेरबहादुर देउवालगायत नेता ।
२०८० जेठ २१ आइतबार ०७:१८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले भने– फेरि सभापति बन्दिनँ, नेतृत्व अब युवामा

Read Time : > 3 मिनेट
२०८० जेठ २१ आइतबार ०७:१८:००

कांग्रेसमा नेतृत्वको कार्यशैलीमाथि असन्तुष्टि बढिरहेका वेला सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट पार्टीमा नेतृत्व हस्तान्तरण हुने बताएका छन् । आफूविरुद्ध पार्टीमा आवाज बढ्दै गए पनि मौनता साँध्दै आएका उनले शनिबार फेरि सभापतिमा आफ्नो दाबी नरहने बताए । शनिबार कांग्रेस ललितपुरको जिल्ला सम्मेलनमा उनले आफ्नो विरोध गर्दैमा पार्टी रूपान्तरण नहुने भन्दै अब कांग्रेसको नेतृत्व युवा नेताले गर्ने उनले स्पष्ट पारे ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवश्यकता रहेको बताउँदै आएका छन् । यही सेराफेरोमा आएको देउवाको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत गर्दै आफ्नो नेतृत्वमा कांग्रेस ठूलो पार्टी बनेको दाबी गरे । उनले विरोध गरेर मात्रै पार्टी नबन्ने जवाफ फर्काए । उनले महामन्त्रीद्वयलाई गाली गर्न छाडेर काम गर्न पनि आग्रह गरे । ‘तीनै तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेको छ । नेविसंघ स्ववियु निर्वाचनमा पहिलो बनेको छ । अब यसलाई अगाडि बढाउनुछ । अझै बलियो बनाउनुछ । पार्टीमा अब तपाईंहरू हुने हो, मेरो त के छ र ? काम गर्नुस्, पार्टी बलियो बनाउनुस । काम गर्नुपर्ने बेला एकअर्कालाई विरोध गरेर पार्टी बन्दैन,’ उनले भने, ‘नेतृत्वलाई गाली गरेर केही हुनेवाला छैन । पार्टी बनाउन जनतामा जानुपर्छ ।’

देउवाले पार्टीको तल्लो कमिटीसम्म गएर नेतृत्वलाई गाली गर्दा पार्टी अप्ठ्यारोमा पर्ने दाबी गरे । ‘अहिलेको वेला पार्टीलाई मजबुत बनाउने हो । सबैभन्दा ठूलो पार्टी बनाइहालेँ । अधिकांश क्याम्पसमा हामीले जितेकै छौँ । भोलिका दिनमा पार्टीलाई अझै बलियो बनाउनुछ । मैले त सहयोग गर्ने हो । म पार्टी सभापति हुने होइन । अहिले सबै एक भएर गएमा हाम्रो पार्टी बलियो हुन्छ,’ देउवाले भने ।

१४औँ महाधिवेशनपछि देउवाले पार्टीको भावी नेतृत्वबारे औपचारिक मुख खोलेका हुन् । पछिल्लो समय सभापति देउवाको कार्यशैलीको विषयमा महामन्त्री थापा आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् । थापाले सभापतिले हरेक महत्वपूर्ण निर्णयमा एकाधिकार हुने गरेको र अब सहन नसकिने बताउँदै आएका छन् । महामन्त्री शर्मा पनि सभापतिको कार्यशैलीप्रति असन्तुष्ट छन् र महामन्त्री थापासँगै निर्णायक संघर्ष गर्नुपर्ने पक्षमा । शनिबार एउटै मञ्चमा रहेका महामन्त्री शर्मातर्फ संकेत गर्दै देउवाले आफ्नो विरोध गरेर मात्रै पार्टी नबन्ने जवाफ फर्काएका हुन् । 

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउने संकेत गर्दै आएका छन् । यसबारे आन्तरिक गृहकार्यसमेत भइरहेको निकट नेताहरू बताउँछन् । महामन्त्री थापाले सभापति पार्टीमा एकाधिकारविरुद्ध अभियानमा लागेको आरोप लगाउँदै आएका छन् । 

शुक्रबार थापागाउँमा प्रेस युनियनको कार्यक्रममा उनले सभापति देउवाको एकाधिकारविरुद्ध अभियानमा लाग्ने बताएका थिए । थापाले तल्लो तहका कार्यकर्ताहरूको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा गरेका थिए । उनले सभापतिको एकल निर्णय र सहमतिमा सरकार र पार्टीका महत्वपूर्ण र दीर्घकालीन महत्वका निर्णय हुने गरेको आरोप लगाएका थिए ।

‘कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरू गर्‍यो । जुन डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । मैले यसलाई मान्दै आएँ । सभापति बहुमतमा हुनुहुन्छ । सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनु होला भन्ने भयो । तर, अवस्था फेरिएन,’ थापाले भनेका थिए, ‘महत्वपूर्ण निर्णयहरू मैले पनि सञ्चारमाध्ययमबाट थाहा पाएँ । नसहनुपर्ने कुरा अहिलेसम्म सह्यौँ अब सहन सकिन्न । पात्रमा समस्या छ भने पात्र बदल्नुपर्छ, प्रवृत्तिमा समस्या छ भने प्रवृत्ति बदल्ने हो । टुलुटुलु हेरेर बस्ने होइन ।’

अर्का महामन्त्री शर्माले गत २२ वैशाखमा बसेको पदाधिकारी बैठकमा कांग्रेस रूपान्तरणका लागि सभापति तयार नभए राजीनामा दिएर कार्यकर्तास्तरबाट रूपान्तरणका लागि दबाब सिर्जना गर्नुको विकल्प नरहेको चेतावनी दिएका थिए । ‘पार्टी रूपान्तरणमा सभापतिज्यू तयार नहुने र सुस्त भइरहने हो भने कहिलेसम्म महामन्त्रीले अपजस लिइरहने ? अब ‘रिफर्म अर रिजाइन नै हो,’ शर्माको भनाइ थियो । विशेषगरी मन्त्री छनोटमा देउवाले आफूखुसी गरेपछि महामन्त्रीद्वय रुष्ट बन्दै आएका छन् । त्यसयता लगातार रूपमा सार्वजनिक मञ्चमा नेतृत्वको आलोचना हुँदै आएको छ । साथै, शेखर–गगन समूहबाट तेस्रो तहका नेताहरू रूपान्तरण अभियान नै सुरु गरेर देशदौडाहा गरिरहेका छन् । 

ललितपुरकै कार्यक्रममा नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत चल्न नसकेको बताए । उनले विधिसम्मत रूपमा पार्टी सञ्चालन नहुँदा असन्तुष्टि बढ्दो अवस्थामा रहेको उल्लेख गरे । सिंहले विधिसम्मत रूपमा अघि बढाउन सकेको अवस्थामा चुनौती कम हुने बताए । ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्नुपर्दैनथ्यो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नुपर्ने छैन,’ सिंहले भने । कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले ललितपुरका सबै वडा, पालिका, प्रदेश सभा र क्षेत्रीय सम्मेलन सम्मेलन सम्पन्न भएपछि आयोजित जिल्ला सम्मेलनले कांग्रेसको संगठनलाई सुदृढ, संगठित र जागरुक बनाउन कोसेढुंगा साबित हुने अपेक्षा गरेको बताए ।

देउवाको कार्यक्षमतामाथि नेता कार्यकर्ताले अनेकन प्रश्न उठाउने गरेका गरेका छन् । विशेषगरी ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरू गर्न नसकेको, भ्रातृसंस्थालाई चलायमान बनाउन नसकेको, आफूलाई मनलाग्दा र नजिककालाई अवसर दिन मात्रै विभाग र भ्रातृसंस्थामा नियुक्ति दिने गरेको आरोप लाग्ने गरेको छ । त्यस्तै, विधानविपरीत चलेको, सरकारमा सहभागी हुने निर्णय, मन्त्रीको नाम पठाउँदा एकलौटी गरेको, नागरिकता विधेयक, रेशम चौधरीलाई आममाफी दिने दीर्घकालीन महत्वको निर्णयमा पार्टीमा छलफल नगरेको भन्दै उनको आलोचना हुने गरेको छ । 

विधानले नै दिँदैन देउवालाई तेस्रोपटक सभापति बन्न
कांग्रेस विधानको व्यवस्थाले नै देउवालाई फेरि सभापति बन्ने बाटो दिँदैन । विधानको दफा ५७ मा सबै तहका सभापतिलाई दुई कार्यकालभन्दा बढी सोही पदमा दोहोरिन नपाउने व्यवस्था गरेको छ । ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउनेछैन,’ विधानको व्यवस्थाले भन्छ । एक पदाधिकारीका अनुसार पार्टीका अनौपचारिक छलफलमा भने देउवाले जिस्कँदै ‘पार्टीमा यस्तै अवस्था रहे विधान संशोधन गरेर पनि फेरि मै सभापति बन्नुपर्लाजस्तो छ’ भन्ने गरेका छन् ।