दैलेखको नारायण नगरपालिकाले वडा नं १० मा रेन्बो ट्राउट माछापालन सुरु गरेको छ । हावापानी मिल्ने भूगोलका रूपमा रहेको वडा नं १० भवानीमा माछापालन सुरु गरिएको हो ।संघ सरकारको नवप्रवद्र्धन कार्यक्रम र नारायण नगरपालिकाको साझेदारीमा पहिलोपटक रेन्बो ट्राउट माछापालन सुरु गरिएको हो । स्थानीय तीनजना किसानहरू पोखरामा गएर वातावरणको अध्ययन र अनुसन्धान गरिसकेपछि परीक्षणका रूपमा पहिलोपटक पाँच हजार माछाका भुरा उत्पादनका लागि हालिएको छ ।
स्थानीयस्तरमा माछाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणसँगै माछा ल्याएर पालन सुरु गरिएको हो । दुई महिनाअघि पोखराबाट ल्याएका पाँच हजार रेन्बो ट्राउट माछाका भुराहरूमध्ये केही माछाका भुराहरू मरेको भए पनि बचेका माछाहरूबाट राम्रो उत्पादन लिन सकिने आशा गरिएको छ ।
चिसो र सफा पानी, अक्सिजन पूर्ण रूपमा प्राप्त भएको स्थानमा रेन्बो ट्राउट माछा उत्पादन हुने भएपछि माछापालन सुरु गरिएको हो । रेन्बो ट्राउट माछा उत्पादन सफल भए दैलेखको वडा नं १० भवानी र वडा नं ११ को राइलीमा थप उत्पादनको काम गरिने नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख चित्र प्याकुरेलले जानकारी दिए ।
प्रतिकेजी एक हजार ६ सय रुपैयाँमा बिक्री हुने उक्त माछा स्वास्थ्यवद्र्धक माछाका रूपमा लिइन्छ । हावापानी मिल्ने स्थानमा परीक्षणका रूपमा पहिलोपटक उत्पादन सुरु गरिएको र उत्पादन प्रभावकारी हुन सकेको खण्डमा सम्भावना भएका स्थानमा किसानलाई घरमै माछापालन व्यवसायमा लगाउँदै आर्थिक अवस्था सुधारको अभियान थालनी गर्ने नगर प्रमुख लोमन शर्माले जानकारी दिए ।