![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/icc2023-05-27-10-37-43.jpeg)
सम्मेलनमा वैज्ञानिक खोजमूलक अनुसन्धानात्मक कार्यपत्रहरूको प्रस्तुति र छलफल जारी
नेपालमा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन सुरु भएको छ। सम्मेलनमा नेपाललगायत भारत, चीन, कोरिया, जापान र बंगलादेशका तीन सय बढी रसायन शास्त्रीहरूको सहभागिता रहेको छ। यस सम्मेलनमा विभिन्न ६ विधाका खोज अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत भएका छन्।
नेपालमा क्रियाशील रसायन शास्त्रीहरूको संस्था नेपाल केमिकल सोसाइटीको आयोजना तथा रसायन शास्त्र केन्द्रीय विभाग त्रिविको सहआयोजनामा 'दिगो विकासका लागि रसायन शास्त्र' भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय केमिकल सम्मेलन २०२३ काठमाडौंको पार्क भिलेज बुढानीलकण्ठमा सुरु भएको हो।
परराष्ट्रमन्त्री एनपी साउदले गरे उद्घाटन
परराष्ट्रमन्त्री एनपी साउदले यही ११ गते उद्घाटन गरेको यस सम्मेलनमा सूक्ष्म प्रविधि, पदार्थ विज्ञान, वातावरण विज्ञान र रसायन शास्त्रलगायतका विधामा आधारित विभिन्न वैज्ञानिक खोजमूलक, अनुसन्धानात्मक कार्यपत्रहरूको प्रस्तुति र छलफल भइरहेको छ।
नेपाल केमिकल सोसाइटीका अध्यक्ष सह.प्राडा. सुरेन्द्रकुमार गौतमको अध्यक्षतामा सञ्चालित उद्घाटन तथा अन्य औपचारिक कार्यक्रमहरूको सञ्चालन संस्थाका सचिव डा.सन्तोष खनालले गरेका थिए।
सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजाराम पोटे श्रेष्ठ, वैज्ञानिक डा. वसन्त गिरी, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि एकदेव खनाल, त्रिविकी प्राध्यापक डा.रेजिना मास्के, यु.एस.एड. नेपाल प्रतिनिधि शृषा नन्ख्वा र जनस्वास्थ्यविद् रीतिका के.सी. वक्ता रहेको वातावरणीय प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या नियन्त्रणमा रसायन शास्त्रीहरूको भूमिका विषयक समूहगत छलफलको पनि आयोजना गरिएको थियो।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनले जारी गर्ने काठमाडौं घोषणापत्र २०२३ को लेखन जिम्मेवारी संस्थाका महासचिव सह.प्राडा. महेशकुमार जोशीले पाएका छन्।