थ्री स्टारलाई २–० ले हराउँदै बदला लिएपछि सातदोबाटो युथ क्लबका प्रशिक्षक सनोज श्रेष्ठले शीर्ष चारमा रहेर सहिद स्मारक लिग टुंग्याउने योजना सुनाए
सातदोबाटो युथ क्लबका प्रशिक्षक सनोज श्रेष्ठले चालू सहिद स्मारक ए डिभिजन लिग शीर्ष चारभित्र रहेर टुंग्याउने योजना सुनाएका छन् । शनिबार दशरथ रंगशालामा ललितपुरकै थ्री स्टार क्लबलाई २–० ले हराएपछि सातदोबाटो शीर्ष चारमा उक्लिएको छ । सातदोबाटोको जितमा विदेशी खेलाडी विलियम ओपोकुले दुई गोल गरेका छन् । लिगमा आठौँ जित निकालेपछि उनले भने, ‘थ्री स्टारविरुद्ध सहज जित निस्कियो । हाम्रो योजना भनेको शीर्ष चारमा रहेर लिग टुंग्याउनु हो ।’ उनले मुख्य खेलाडीहरू घाइते र नियमित खेल हुँदा च्याम्पियन दाबेदारी दिन नसक्ने सुनाए ।
यस खेलसँगै १९औँ चरणका खेल सकिएका छन् । सातदोबाटो २९ अंकसहित चौथो स्थानमा छ । यो भनेको शीर्ष स्थानको चर्च ब्वाइजभन्दा सात अंकले कम हो । चर्च ब्वाइजको ३६ अंक छ । दोस्रो स्थानको जावलाखेलको ३२ अंक रहँदा तेस्रो स्थानमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले ३१ अंक जोडेको छ । सातदोबाटोसँगको हारपछि थ्री स्टार क्लब पाँचौँ स्थानमा झरेको छ । थ्री स्टारले चर्च ब्वाइजसँग अग्रता कम गर्ने अवसर गुमायो । विक्रम लामाको कप्तानीमा रहेको थ्री स्टार २६ अंकसहित पाँचौँ स्थानमा छ ।
प्रशिक्षक श्रेष्ठले थ्री स्टारविरुद्ध बराबर खेल भए पनि आफूहरू फिनिसिङमा सफल भएको प्रतिक्रिया दिए । ‘समग्रमा खेल बराबर नै थियो । हामीले समयमै गोल गर्न सफल भयौँ । पहिलो हाफ र दोस्रो हाफको सुरुमै गोल गर्दा सहज भयो,’ उनले भने । जितसँगै सातदोबाटोले थ्री स्टारसँग पहिलो लेगमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो लेगमा थ्री स्टार १–० ले विजयी भएको थियो । हारपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीको दिन नरहेको र पाएको अवसर गुमाएको बताए । ‘सातदोबाटोविरुद्ध हाम्रो दिन रहेनछ । सातदोबाटोले पाएको अवसर सदुपयोग ग¥यो, हामीले सकेनौँ,’ केसीले थपे ।