नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन्।
सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेरी नाफाघाटा मात्रै हेर्ने उल्लेख गरे। २१औँ शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै उनले यो शताब्दी लुटेराहरूको शताब्दी हुन नसक्ने दाबी गरे।
युवाहरूमा वितृष्णा र निराशा छाएको भन्दै महासचिव चन्दले अब त्यसलाई चिर्ने गरी अघि बढ्न जरुरी रहेको बताए। नेपालमा मुठीभर मान्छेका छोराछोरीले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने तर सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको उल्लेख गरे।
‘युवाहरूमा वितृष्णा र निराशा छ। १५ वर्षसम्म हामीले हेर्यौँ केही हुन सकेन। बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो, तर शिक्षालाई बजारीकरण गरियो। शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो। तर, यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो,’ महासचिव चन्दले भने।