Skip This
हिरासतमा रहेका अभियुक्तहरूलाई भेटेर खाणलाई नपोल्न आग्रह गरेका पूर्वसांसद शेर्पा पनि फरार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Monday, 08 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o बैशाख ३० शनिबार o६:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिरासतमा रहेका अभियुक्तहरूलाई भेटेर खाणलाई नपोल्न आग्रह गरेका पूर्वसांसद शेर्पा पनि फरार

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार o६:१३:oo

शेर्पाको आश्वासनपछि केही रकम फिर्ता भएको सूचना पाएपछि प्रहरीद्वारा उनको खोजी, योजनाबद्ध रूपमै भगाइएको आशंका

उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

बुधबार खाण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएका हुन् । उनको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको स्रोतको भनाइ छ । यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको छ ।

चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ । उनको नाममा अदालतबाट पक्राउ पुर्जी भने जारी भइसकेको छैन । 

उच्चपदस्थमाथि प्रहरी छानबिन केन्द्रित भएलगत्तै शेर्पालाई योजनाबद्ध रूपमै भूमिगत बनाइएको स्रोत बताउँछ । रामेछापका कांग्रेस नेता शेर्पा ०७० मा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिए । उनी ठेकेदार पनि हुन् । 

‘थप अन्य उच्चपदस्थविरुद्ध स्वतन्त्र प्रमाण भेटिएनन्’ 

यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको ४८ दिन बितेको छ । प्रहरीले दक्ष अधिकृतहरूको टिम बनाएर अनुसन्धान गरिरहेको छ । तर, केही उच्चपदस्थविरुद्ध भने स्वतन्त्र प्रमाण जुट्न नसकेको प्रहरी स्रोत बताउँछ । 

केही पीडित तथा अभियुक्तहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेको नामसमेत लिएका छन् । तर, उनीहरूविरुद्ध अहिलेसम्म स्वतन्त्र प्रमाण भेटिएको छैन । ‘पीडितहरूले बताएअनुसार आरजु र मञ्जुले प्रत्यक्ष पैसा लिएको भन्ने पुष्टि हुन सकेको छैन,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, ‘अब पूर्वगृहमन्त्रीज्यूको बयानबाट केही कुरा आयो भने मात्र पत्ता लाग्ला ।’ 

केही परीक्षण रिपोर्ट आइनसकेकाले प्रहरीले खाणको बयान सुरु गर्न सकेको छैन । शुक्रबारदेखि बिचौलिया समूहका रामशरण केसी र गोविन्द चौधरीको बयान सुरु भएको छ । 

त्यतिखेर गृह मन्त्रालय मिलाउने भन्दै इन्द्रजितले बिचौलियाहरूसँग साढे पाँच करोड रुपैयाँ लिएका थिए । त्यो पैसा क–कसलाई बुझाए भन्ने खुल्न सकेको छैन । बयानमा उनले एकदमै असहयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘उनी त पेसेवर अपराधीजस्ता देखिन्छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘कार्यदल गठनमै उनले बिचौलिया समूहको स्वार्थअनुसार काम गराएका थिए, तर अहिले पक्राउ परेपछि केही बोलेका छैनन् ।’ 

प्रहरीको पछिल्लो अनुसन्धान गृह मन्त्रालयमाथि केन्द्रित छ । तत्कालीन मन्त्री खाण र सचिव पाण्डेको मिलेमतोमा पूर्वसहसचिव बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते गरेर आठ सय ७५ नेपालीको नाम प्रमाणीकरणमा छुट शरणार्थी भनेर थपिएको थियो । गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा रहेको प्रतिवेदन किर्तेमा अन्य कर्मचारीको पनि संलग्नताको आशंका गरिएको छ । त्यतिवेला सो शाखामा कार्यरत कर्मचारीलाई बोलाउने प्रहरी तयारी छ । 

हालसम्म यो मुद्दामा १२ जना हिरासतमा छन् । जसमध्ये नौजनाको बयान सम्पन्न भइसकेको छ । प्रहरीले हाल संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । किर्ते मुद्दा पनि चलाउन प्रहरीले प्रमाण संकलन गरिरहेको छ । उनीहरूमाथि मानवतस्करीको मुद्दासमेत चलाउनुपर्ने कानुन व्यवसायीले बताएका छन्, तर हालसम्मको अनुसन्धानमा मानवतस्करी मुद्दा चल्ने आधार नभएको प्रहरी अधिकारी बताउँछन् । 

खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले 

शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए । 

खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाइदिएको प्रहरीको आकलन छ । त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उहाँ (खाण)लाई गाडीमा हाल्ने प्रयासमा हुनुहुन्थ्यो, त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो,’ खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।

खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा (पूरक) बयान दिएका छन् । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नगराई जरुरी पक्राउ पुर्जी दिएर खाणलाई पक्राउ गरेको थियो । ‘आफूविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया अघि नबढेको विषयमा एक–एक अपडेट प्रहरीबाट लिइरहेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘अदालतबाट पहिले नै पुर्जी जारी भएको भए उनलाई पनि समाउन गाह्रो हुने रहेछ ।’ 

पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् । एक साताअघि आफैँ प्रहरीमा उपस्थित भएर सघाउने भन्दै उनले पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई फोन गरेर आग्रह गरेका थिए । सोहीअनुसार कुँवरले मातहतका प्रहरीलाई ‘सांसद भएकाले त्यति सुविधा दिन’ भन्दै पक्राउ गर्न गएको प्रहरी टोलीलाई फर्काएका थिए । त्यसपछि प्रहरीले रायमाझीलाई निगरानीमा समेत राखेन । त्यसको फाइदा उठाउँदै उनी फरार भएका भए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज पनि फरार छन् । 

ad
ad
ad
ad