मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका रूपन्देही
२o८o बैशाख २९ शुक्रबार १७:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोस्रो दिनमा बिआइटिएम : बुद्धभूमिलाई केन्द्र बनाएर पर्यटन प्रवर्द्धन गर्ने विषयले सरोकारवाला उत्साही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रूपन्देही
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १७:२o:oo

लुम्बिनीमा जारी दोस्रो ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)ले पर्यटन व्यवसायीहरू उत्साहित बनेका हुन्। दोस्रो दिनमा जारी मार्टमा बुद्धभूमिलाई केन्द्र बनाएर पर्यटन प्रवर्द्धन गर्ने विषयले व्यवसायीहरू उत्साहित बनेका हुन्।

दोस्रो दिनको प्यानल डिस्कसनमा सहभागी अधिकांशले नेपाललाई केन्द्र बनाएर बुद्धसँग सम्बन्धित विश्वका स्थानलाई जोडेर साझा रूपमा पर्यटन प्रवर्द्धनको आवश्यकता औँल्याए।

कार्यक्रममा पर्यटन बोर्डका मार्केटिङ तथा प्रमोसन विभाग प्रमुख तथा बिआइटिएमका योजना कार्यान्वयन उपसमिति सदस्य लक्ष्मण गौतमले संयुक्त पर्यटन प्याकेज बनाएर अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। उनले नेपालले दोस्रोपटक आयोजना गरेको बिआइटिएमले यसका लागि सम्बन्धित मुलुकलाई एक ठाउँमा ल्याएको र सम्भावनाको ढोका खोलेको बताएका थिए। उनले कार्यक्रममा ‘ज्वाइन्ट प्याकेज प्रमोसन’को आवश्यकताको विषयमा आफ्नो प्रस्तुति दिएका थिए।

टुरिजम एन्ड हस्पिटालिटी इन्डस्ट्री स्किल काउन्सिल बंगलादेशका प्रमुख मोहउद्दिन हेलालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)मा आबद्ध मुलुकबीचको सांस्कृतिक र धार्मिक क्षेत्रलाई समेटेर पर्यटन विकासको सम्भावना रहेको बताए।

अन्तर्राष्ट्रिय पर्यटनविज्ञ देवजित दत्तले दक्षिण एसियाली मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि फ्लाइट कनेक्टिभिटी, क्रस बोर्डर कनेक्टिभिटी, पब्लिक प्राइभेट पार्टनरसिप, कमन प्रोग्रामलगायतको आवश्यकता र सम्भावना रहेको बताएका थिए।

परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओलीले बिमस्टेक मुलुकहरूको संयुक्त प्रयासबाट यस क्षेत्रको संस्कृति र पर्यटन क्षेत्रको विकासको सम्भावनालाई नजरन्दाज गर्न नहुने बताए। सहभागी अन्य व्यवसायीले बुद्धभूमिलाई केन्द्र बनाएर पर्यटनको विकासको उद्देश्य राखिएको बिआइटिएम पर्यटन विकासका दृष्टिकोणले कासेढुंगा बन्ने भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको हो। यसअघि सन् २०१९ मा पहिलोपटक बिआइटिएम आयोजना गरिएको थियो। मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी तथा टुर अपरेटर सहभागी छन्। मार्ट ३० वैशाखसम्म चल्नेछ।