Skip This
खाण र रायमाझीसहितका अभियुक्तविरुद्ध तीन मुद्दाको तयारी, साढे १२ वर्षसम्म हुन सक्छ कैद 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Monday, 08 July, 2024
नवराज मैनाली काठमाडाैं
कमलराज भट्ट काठमाडाैं
२o८o बैशाख २९ शुक्रबार o६:३o:oo
Read Time : > 8 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाण र रायमाझीसहितका अभियुक्तविरुद्ध तीन मुद्दाको तयारी, साढे १२ वर्षसम्म हुन सक्छ कैद 

Read Time : > 8 मिनेट
नवराज मैनाली, काठमाडाैं
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार o६:३o:oo

संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिँदै

राज्यसंयन्त्रकै सहयोगमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा भएको ठगीमा पक्राउ परेकालाई कम्तीमा तीनवटा मुद्दा चलाइने भएको छ । ती मुद्दामा अभियुक्तहरूलाई साढे १२ वर्षसम्म कैद सजाय हुन सक्छ ।

तुलसी भट्ट, वरिष्ठ अधिवक्ता
यो त मानवताविरुद्धको अपराध हो । यसमा मानव बेचबिखनसम्बन्धी कसुर पनि आकर्षित हुन सक्छ ।

प्रहरीले हाल संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । त्यसमा सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिनेछ सम्भावना रहेको स्रोत बताउँछ । शरणार्थीसम्बन्धी गोप्य प्रतिवेदन नै किर्ते भएको र गृह मन्त्रालयको नामबाट नक्कली शरणार्थी परिचयपत्र जारी भएकाले त्यसमा किर्ते मुद्दा थपिन लागेको हो । 

ठगी मुद्दामा सात वर्षसम्म कैद सजाय हुने प्रावधान छ । मुलुकी अपराध संहिताको दफा २५ को परिच्छेद २१ मा ठगीसम्बन्धी कसुरमा हुने सजाय उल्लेख छ । त्यसको दफा ३ (ग) अनुसारको माग दाबी लिने प्रहरीको तयारी छ । जसमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ । लिखतसम्बन्धी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । 

एकै व्यक्तिलाई एकभन्दा धेरै कसुर लगाउँदा जुन कसुरमा धेरै सजाय हुन्छ, त्यही लागू हुन्छ । यस किसमको ठगी र लिखत किर्तेमा सात–सात वर्ष सजाय हुने प्रावधान छ । त्यसमा संगठित अपराधबापत थप ५० प्रतिशत सजाय हुनेछ । संगठित अपराध निवारण ऐन, २०७० मा प्रचलित कानुनअनुसार हुने सजायमा थप ५० प्रतिशत सजाय हुने प्रावधान छ । साथै, सरकारी ओहोदामा बसेर ठगी गर्नेविरुद्ध थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ । सबै अभियुक्तलाई न्यूनतम साढे १० वर्ष कैद सजाय माग गर्ने तयारी प्रहरीले गरेको छ । 

एउटै अभियुक्तलाई धेरै कसुरमा मुद्दा चलाउँदा जुन कसुरमा धेरै सजाय हुन्छ, त्यही लागू हुने कानुनी छ । ठगी र लिखित किर्तेमा सात–सात वर्ष सजायको व्यवस्था छ । संगठित अपराधमा संलग्नलाई थप ५० प्रतिशत सजाय हुन्छ । अर्थात् साढे तीन वर्ष थपिनेछ । यसबाहेक सरकारी ओहोदामा बसेर ठगी गर्नेलाई थप दुई वर्ष सजाय हुने व्यवस्था छ । 

ठगी मुद्दामा बिगो असुल गरी पीडितलाई भराउनुपर्नेसमेत हुन्छ । यो मुद्दामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले फरक–फरक बिगो कायम गरी मुद्दा चलाउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धान जारी रहेकाले पक्राउ परेकाविरुद्ध के–के मुद्दा चल्ने भन्ने अझै टुंगो लागिनसकेको बताए । संगठित अपराधमा ६० दिनसम्ममा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । १२ वैशाखदेखि नै तीन अभियुक्त थुनामा रहेकाले शुक्रबारसम्म ४८ दिन हुन्छ । यसअनुसार अनुसन्धान गर्न प्रहरीसँग करिब १० दिन बाँकी छ । म्याद पुग्नुअघि सरकारी वकिलले पनि फाइल अध्ययन गरी अभियोगपत्र तयार गर्नुपर्ने भएकाले म्याद सकिनु दुई–तीन दिनअघि प्रहरीले रायसहितको प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । 

वरिष्ठ अधिवक्ता तुलसी भट्टले गम्भीर प्रकृतिको मुद्दा भएकाले प्रमाण हेरेर यसमा धेरै मुद्दा आकर्षित हुन सक्ने बताए । ‘यो त मानवताविरुद्धको अपराध हो,’ उनले भने, ‘यसमा मानव बेचबिखनसम्बन्धी कसुर पनि आकर्षित हुन सक्छ ।’ 

शरणार्थीका नाममा भएको करिब एक अर्बको यो ठगीमा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । त्यस्तै, साथै गिरोहलाई सघाएको आरोपमा खाणका सहयोगी नरेन्द्र केसी र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । बिचौलिया समूहका अन्य सातजना पनि प्रहरी हिरासतमा छन् । एमाले नेता रायमाझीसहित केही फरार छन् । पूर्वगृहमन्त्री नै पक्राउ परेपछि यो प्रकरणले देश तरंगित छ । 

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा पनि छानबिन हुने 
यो मुद्दामा जोडिएकामाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि आकर्षित हुनेछ । फौजदारी मुद्दा दायर भइसकेपछि थप अनुसन्धानका लागि अन्य कसुरमा पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई लेखिपठाउने प्रहरीको तयारी छ । 

सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्यलाई सम्पत्ति शुद्धीकरणमा लेखिपठाउने प्रहरीको तयारी छ । संगठित अपराध मुद्दा लागेकाको सम्पत्ति पनि छानबिन हुने गरेको छ । नीतिगत संलग्नता मात्र देखिएका कतिपयको हकमा पनि अख्तियारलाई लेखिपठाउनेबारे प्रहरी र सरकारी वकिलले छलफल गरिरहेका छन् । 

अन्य उच्चपदस्थमाथि प्रमाण जुटाउँदै प्रहरी 

शरणार्थीका नाममा भएको ठगी प्रकरणमा अझै केही उच्चपदस्थको संलग्नता रहेकाले उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरू बताउँछन् । पीडितले दिएको जाहेरी र अभियुक्तहरूले बयानमा जोडिएका अन्यमाथि अनुसन्धान जारी छ । बलियो प्रमाण जुटिनसकेकाले उनीहरूसम्बन्धी सूचना प्रहरीले गोप्य राखेको छ । 

पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् । किर्तेमा संलग्न गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका केही कर्मचारी पनि प्रहरी छानबिनमा छन् । 

गृह मन्त्रालयमै थपियो ८७५ जनाको नाम 

आफ्नो देशका नागरिकलाई शरणार्थी बनाएर बिदेश पठाउने भन्दै ठगी भएको यो मुद्दाको केन्द्रमा गृह मन्त्रालय छ । मन्त्रालयले नै शरणार्थीसम्बन्धी प्रतिवेदनमा आठ सय ७५ जनाको नाम थप गरेको प्रहरी अनुसन्धानमा पुष्टि भएको छ । 

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पठाएको प्रतिवेदनमा आठ सय ७५ जनाको नाम उल्लेख छ । तर, मन्त्रिपरिषद्ले उपलब्ध गराएको प्रतिवेदनमा सो विवरण उल्लेख छैन । कार्यदलले दिएको चार सय २९ जनाको मात्र नाम समावेश छ । तत्कालीन कार्यदलका संयोजक पूर्वसहसचिव बालकृष्ण पन्थीले पनि गृहको प्रतिवेदनमा किर्ते गरेर नाम र विवरण थप भएको बताएका छन् । 

कार्यदलले प्रमाणीकरणमा छुट भएका शरणार्थी भनेर बुझाएका चार सय २९ जनाको विवरण पनि छानबिनमा छ । तर, त्यसमा एक–दुईजनाबाहेक धेरै समस्या नदेखिएको स्रोतको भनाइ छ । त्यसमा छुट्टै थपिएका आठ सय ७५ जनामा भने सबै नेपाली हुन् । उनीहरूलाई प्रतिवेदनमा नाम राखिएको देखाउँदै बिचौलियाले करिब एक अर्ब उठाएका थिए । सुरुमा थोरै व्यक्तिसँग पैसा उठाइएकोमा गृहले नै नाम थपिदिएपछि पीडित विश्वस्त भएर मागअनुसार पैसा बुझाएका थिए । 

त्यसरी उठाइएको पैसा गृहका अधिकारीदेखि विभिन्न शक्तिकेन्द्रलाई बुझाई नेपालीलाई शरणार्थी बनाउने धन्दा अघि बढेको थियो । तर, लामो समयसम्म पनि सफल नभएपछि घटना प्रहरीमा पुग्यो । जसमा अहिले तत्कालीन गृहमन्त्री खाणसहित उच्चपदस्थहरू पक्राउ परिरहेका छन् । 

स्रोतका अनुसार कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषद्बाट पास गराएलगत्तै तत्कालीन गृहमन्त्री खाण र गृहसचिव टेकनारायण पाण्डेको मिलेमतोमा प्रतिवेदन किर्ते गरेर नामहरू थपिएको थियो । १३ मंसिर ०७८ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनमा लैजाने भन्दै त्यसका लागि कूटनीतिक पहल गर्ने तथा तेस्रो देश पुनस्र्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत विकास साझेदार राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थालाई अनुरोध गर्नेलगायत निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णय भएको पाँच दिनपछि १८ मंसिर ०७८ मा गृहले निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गरेको थियो । त्यही महिना गृहमा सक्कली प्रतिवेदन किर्ते गरी नक्कली प्रतिवेदनलाई आधिकारिता दिइएको थियो । त्यसैका लागि बिचौलियाले उनीहरूलाई पटक–पटक बुझाएका थिए । 

पक्राउ परेका बिचौलिया केशव दुलाल र तत्कालीन सचिव पाण्डेबीच आर्थिक लेनदेनसहित यी विषयमा पटक–पटक ह्वाट्सएपमा कुराकानी भएको पुष्टि भएको छ । तर, मन्त्रीका लागि पैसाको कुरा गरेको र आफूले नलिएको पाण्डेको बयान छ । 

मन्त्रालयमै भएको यो किर्तेका आधारमा उनीहरूमाथि राज्य विप्लव मुद्दा नै चलाउनुपर्ने मागसमेत उठेको छ । सरकारी कागजपत्र किर्ते गरी नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने भनेर ठगी गर्नुलाई देशविरुद्धकै अपराध भएको पूर्वप्रहरी अधिकारीले समेत बताएका छन् । 

गृहका चालकहरूको पनि कागज 
आर्थिक लेनदेनको सम्बन्धमा प्रहरीले पूर्वगृहमन्त्री खाण तथा इन्द्रजित राईका चालकरूलाई पनि सोधपुछ गरेको छ । बिचौलियासँग नगद नै पैसा नै लिएको र तथा गाडीमा राखेको कुरा पक्राउ परेका अभियुक्तको बयानका आधारमा चालकहरूलाई पनि त्यस विषयमा सोधपुछ गरिएको छ । एक प्रहरी, एक गृहका र एक सर्वसाधारण चालकसँग प्रहरीले बिहीबार सोधपुछ गरेको छ । 

प्रहरी हिरासतमा पुग्दासमेत कांग्रेसले गरेन खाणलाई कारबाही

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई शरणार्थीका नाममा भएको ठगी प्रकरणमा प्रहरीले पक्राउ गरिसक्दासमेत पार्टीले आन्तरिक कारबाही गरेको छैन । जब कि पार्टीभित्रै उनलाई जिम्मेवारीबाट निलम्बन गरेर अनुसन्धानमा सघाउनुपर्ने जोडदार आवाज उठिरहेको छ । 

बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले खाणलाई जिम्मेवारीबाट मुक्त गराएर अनुसन्धानलाई सघाउनुपर्ने बताएका थिए । ‘अधिकांश पदाधिकारी खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा उभिनुभएको छ । पार्टीले निलम्बन गर्नेभन्दा पनि उहाँ (खाण) आफैँ जिम्मेवारीबाट अलग भइदिए अझ राम्रो हुन्थ्यो भन्ने थियो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने । 

बैठकमा देउवाले भने, ‘छलफल गर्दै जाऊँ, जे उपयुक्त हुन्छ, त्यही गरौँला’
पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बनाउन माग गरेका थिए । ‘केपी ओलीले यो प्रकरणमा सदनमा बोल्छु भन्नुभएको छ । एमालेले आफ्नो धारणा राख्दै गर्दा हामीले पनि हाम्रो धारणा बनाउनुपर्छ । हाम्रो धारणा के हो ? के बोल्ने ? के भन्ने ?’ उनको प्रश्न थियो । जवाफमा सभापति शेरबहादुर देउवाले ‘यस विषयमा छलफल गर्दै जाऊँ, जे उपयुक्त हुन्छ त्यही गरौँला’ भनेका थिए । 

तर, सभापति देउवानिकट नेताहरूले भने आफ्ना नेता अप्ठ्यारोमा परेका वेला पार्टीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विजय गच्छदारले यस्तो धारणा राखेको ती पदाधिकारीले बताए । 

महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बनाउनसमेत माग गरेका थिए । ‘केपी ओलीले यो प्रकरणमा सदनमा बोल्छु भन्नुभएको छ । एमालेले आफ्नो धारणा राख्दै गर्दा हामीले पनि हाम्रो धारणा बनाउनुपर्छ । के बोल्ने, के भन्ने भनेर हामीले साझा धारणा बनाउनुपर्छ,’ थापाले भनेका थिए । जवाफमा सभापति देउवाले ‘यसमा छलफल गर्दै जाउँ, जे उपयुक्त हुन्छ त्यही गरौँ’ भनेका थिए । 

सहमहामन्त्री जीवन परियारले खाणको विषयमा कुनै औपचारिक निर्णय नभएको बताए । ‘उहाँ (खाण)को विषयमा विभिन्न धारणा आए । यही गर्ने भनेर निष्कर्षमा पुगिएको छैन,’ उनले भने, ‘एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गरेकाले हाम्रोमा पनि गर्नुपर्छ भनेर उठेको छ । दोषी ठहरिएपछि के गर्ने भन्ने होला । तर, अहिले विचाराधीन विषयमा धारणा बनाएर जाने कुरा छैन,’ उनले भने ।  

परियारका अनुसार खाणले हिरासतमा बसेर अनुसन्धानमा सघाइरहेको र अदालतबाट निर्णय आइसकेपछि मात्र पार्टीले निर्णय गर्ने समझदारी बनेको छ । ‘नक्कली शरणार्थी बनाएर अमेरिका लाने गिरोहले जुन प्रपञ्च गरेको छ, यसमा सरकारले निष्पक्ष र तटस्थ छानबिन गर्नुपर्छ । दोषीलाई कुनै हालतमा छोड्नुहुँदैन, निर्दाेष कोही पर्नुहुँदैन । यसमा कांग्रेसले खुलेर सहयोग गरेको छ,’ परियारले भने । खाणले गिरफ्तारीमा परेर अनुसन्धानमा सघाएको भन्दै परियारले थपे, ‘कांग्रेस दोषी उम्काउने पक्षमा छैन । अनुसन्धान निष्पक्ष होस्, अदालतले जे निर्णय गर्छ सहयोग गर्छाैँ ।’  

बैठकमा कोसी प्रदेश सरकारमा केन्द्रकै समीकरण मिलाउन पहल गर्ने निर्णय भएको सहमहामन्त्री परियारले बताए । उनका अनुसार बैठकमा बजेट अधिवेशन तथा राष्ट्रपतिकहाँ विचाराधीन नागरिकता विधेयकका विषयमा पनि छलफल भएको थियो । ‘राष्ट्रिय सहमति निर्माण गरेर नागरिकता विधेयक प्रमाणीकरण गर्न वातावरण बनाउने, संसद्बाट पत्र पठाउने कि कसरी जाने भनेर कानुनविद्सँग छलफल गरी राय लिने निर्णय भएको छ,’ उनले भने ।  

खाणको मोबाइल पनि फर्म्याट, रिकभरका लागि प्रहरीले प्रयोगशाला पठायो 

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल पनि फर्म्याट भएको खुलेको छ । ‘डेटा रिकभर’का लागि प्रहरीले उक्त मोबाइल प्रहरी प्रयोगशालामा पठाएको छ । प्रहरीले बुधबार खाण पक्राउसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, ‘डेटा मिसिङ’ भएको भेटिएपछि प्रहरी रिकभर गर्ने निष्कर्षमा पुग्यो । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसरका एक अधिकृतले भने, ‘उहाँको मोबाइलका ‘डेटा मिसिङ’ भएको देखिन्छ । यसको अर्थ मोबाइल ‘फर्म्याट’ गरिएको भनेर बुझ्नुपर्ने हुन्छ । हामीले ‘डेटा रिकभर’का लागि प्रयोगशाला पठाएका छौँ । रिकभर भएर आएपछि अनुसन्धानले एउटा मोड लेला ।’

२० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराएका थिए । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो । सोही डेटाका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता रहेको निष्कर्ष प्रहरीले निकालेको थियो । कारोबारका सन्दर्भमा खाणले पठाएको एसएमएस (सर्ट मेसेज सर्भिस) पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाणको मोबाइलमा नभेटिएपछि प्रहरी मोबाइल डेटा रिकभर गर्ने निष्कर्षमा पुगेको हो । डेटा रिकभर भएलगत्तै अुसन्धानले नयाँ मोड लिने आशामा प्रहरी छ । डेटा रिकभरको सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि आवश्यक सबै प्रक्रिया प्रहरीले अघि बढाएको बताए । उनले भने, ‘घटनाको अनुसन्धान अघि बढेको छ । यस क्रममा मोबाइलका डेटा रिकभर गर्ने मात्र नभई अनुसन्धानका लागि आवश्यक सबै प्रक्रिया प्रहरी अघि बढाउँछ र बढाएको पनि छ ।’

प्रहरीले खाणले प्रयोग गर्ने ‘सिम’को सिडिआर (कल डिटेल रिपोर्ट) भने पक्राउअघि नै उतारिसकेको छ । सिडिआरमा नक्लकी भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहका सदस्यसँग उनको पटक–पटक कुराकानी भएको भेटिएको थियो । विशेष गरी धन्दाका सम्बन्धमा उनको सबैभन्दा धेरै संवाद पूर्वगृहसचिव पाण्डेसँग भएको देखिन्छ । त्यसपछि पक्राउ परेका सन्देश शर्मा, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीसँग खाणको धेरै संवाद भएको देखिन्छ । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उहाँको फोनको सिडिआर उतारेका छौँ । विश्लेषण पनि भएको छ । प्रकरणमा पक्राउ विभिन्न अभियुक्तसँग उहाँको पटक–पटक संवाद भएको देखिन्छ । पक्राउ परेका अभियुक्तले पनि उहाँसँग कारोबारलाई लिएर संवाद भएको स्वीकार गरेका छन् ।’

अझै सुरु भएन खाणको बयान
ठगी धन्दामा संलग्नमध्येका मुख्य योजनाकार मोरङका केशव दुलाल पक्राउ गरेको २२ दिनपछि मात्रै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई संगठित ठगी मुद्दामा रूपान्तरण गरेको थियो । प्रहरीले केशवलाई १२ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । संठगित अपराध अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको मात्रै म्याद अवधि हुन्छ । त्यसो हुँदा प्रहरीले अबको दश दिनभित्र घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्नेछ । तर, प्रकरणमा एकपछि अर्को नयाँ ‘हाई प्रोफाइल’ जोडिने क्रम जारी छ । पक्राउ परेका खाणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने निश्चित छ । प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाणले प्रहरीलाई बयान दिन इन्कार गरिरहेका छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी कार्कीले खाणसँग बयान लिन बाँकी रहेको बताए । 

 

ad
ad
ad
ad