Skip This
प्रहरीखोरमा पूर्वगृहमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Monday, 08 July, 2024
नवराज मैनाली काठमाडाैं
टेकराज थामी काठमाडाैं
२o८o बैशाख २८ बिहीबार o६:१६:oo
Read Time : > 7 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीखोरमा पूर्वगृहमन्त्री

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी गर्ने गिरोहका ‘पिउसो’ हुँदै राजनीतिक नेतृत्व पनि कानुनको कठघरामा आउँदै

Read Time : > 7 मिनेट
नवराज मैनाली, काठमाडाैं
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार o६:१६:oo

खाणविरुद्ध प्रहरीले जुटाएका बलिया चार प्रमाण

१. गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको 
२. ठगीमा सघाएबापत बिचौलियाबाट एक करोड २४ लाख ५० लिएको 
३. खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको सचिव पाण्डेको स्वीकारोक्ति
४. बिचौलियालाई फाइदा हुने गरी पटक–पटक मन्त्रालयबाट विभिन्न निर्णय गराएको

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न ‘ठूला माछा’ पनि कानुनको पन्जामा पर्न थालेका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । फरार रहेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीको खोजीमा छन् । 

बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा चरणबद्ध रूपमा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको स्थापित भएपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मन्त्रीबाट हटेको साढे चार महिनापछि उनी प्रहरी हिरासतमा पुगेका छन् । ११ पुस ०७९ सम्म उनी गृहमन्त्री थिए । 

प्रहरीका अनुसार खाणविरुद्धका चार बलिया प्रमाण फेला परेका छन् । पहिलो उनी गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरिएको छ । दोस्रो, ठगीमा सघाएबापत उनले बिचौलियाबाट एक करोड २४ लाख ५० लिएको अभियुक्तको बयान छ । तेस्रो, यही प्रकरणमा पक्राउ गरिएका सचिव टेकनारायण पाण्डेले पनि खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको स्वीकार गरेका छन् । र चौथो, बिचौलियालाई फाइदा हुने गरी खाणले मन्त्रालयबाट पटक–पटक विभिन्न निर्णय गराएका छन् । त्यस्तै, बिचौलिया पक्राउ परेपछि खाणको प्रतिनिधि बनेर पैसा फिर्ता गर्न गएका पूर्वसांसद आङटावा शेर्पाको विषयमा पनि प्रहरीले छानबिन गरिरहेको छ । त्यो पुष्टि गर्न सके थप बलियो प्रमाण हुने प्रहरी अधिकारीहरू बताउँछन् । 

खाणलाई पक्राउ गर्ने क्रममा निकै दुःख झेल्नुपरेको प्रहरी अधिकारीले बताएका छन् । मैँजुबहालस्थित निवासबाट सुरुमा प्रहरीले उनका पिए नरेन्द्र केसीलाई पक्राउ गरेको थियो । आफू पनि पक्राउ पर्ने संकेत पाएपछि खाण ढोका थुनेर बसेका थिए । प्रहरीले बल प्रयोग गरेपछि मात्रै खाणले ढोका खोलेका थिए । पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी आफैँ गएका थिए । परिसरका इन्स्पेक्टर राजन लामाले आफूसँग हिँड्न आग्रह गर्दा खाणले उनलाई रिसाएर धकेलेका थिए । ‘बल्लतल्ल आफ्नै गाडीमा प्रहरी कार्यालय जान तयार भए,’ पक्राउ टोलीमा रहेका एक अधिकारीले भने, ‘उहाँलाई आफू पक्राउ पर्छु भन्ने रहेनछ, एक्कासि प्रहरी आएपछि आक्रोशित हुनुभयो ।’ 

टेकुस्थित प्रहरी परिसर पुगेपछि जिल्ला परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई ‘कंग्र्याचुलेसन एसएसपी सा’ब !’ भन्दै खाणले रिस पोखेको स्रोत बताउँछ । अदालतबाट पक्राउ पुर्जी जारी गर्दा सूचना चुहिने डरपछि प्रहरीले आफैँ जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेपछि मात्र अदालतबाट पक्राउ पुर्जी लिएको हो । यसअघि टोपबहादुर रायमाझी फरार भएपछि प्रहरीले यस्तो तरिका अपनाएको हो । 

यो ठगी मुद्दामा एकपछि अर्का हाई प्रोफाइल तानिएका छन् । यसअघि एमाले सचिव रायमाझीसहित उनका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डेको संलग्नता पुष्टि भइसकेको छ । अन्य सातजना बिचौलियालाई पनि प्रहरीले हिरासतमा राखेको छ । अन्य हाई प्रोफाइलको संलग्नताबारे जिल्ला प्रहरी परिसर काठमाडौंका दानबहादुर कार्की भन्छन्, ‘अन्य व्यक्तिहरूमाथि पनि प्रमाण खोज्ने क्रम जारी छ ।’

तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले भने ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको खुलेको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलको विवरण सो कुरा उल्लेख छ । प्रहरी स्रोतका अनुसार ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ भन्ने च्याट विवरण छ । सोहीअनुसार पैसा पनि दिएको पक्राउ परेका अभियुक्तको दाबी छ । केसी चितवनको एक विद्यालयका प्रधानाध्यापक हुन् । तर, शक्तिको बलमा उनी विद्यालय नगई राजनीतिमा सक्रिय छन् । खाणको कार्यकालमा मन्त्रालयमा सबैभन्दा धेरै बेथिति केसीले नै गरेको कर्मचारीहरू बताउँछन् । 

काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार खाण र केसीलाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । खाणलाई टेकु र केसीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ । 

खाणविरुद्धका चार प्रमाण 
२९ असार ०७८ मा गृहमन्त्री भएका बालकृष्ण खाणको कनेक्सन बिचौलिया समूहसँग गृह मन्त्रालयमै भएको हो । मन्त्री भएको केही महिनामै उनले भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको विभिन्न मितिमा भएका निर्णयले देखाउँछ । 

मन्त्री भएको अढाई महिनामै खाणले १४ असोज ०७८ मा गृहसचिवस्तरीय निर्णयबाट झापाका सहायक सिडिओको अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्काे समिति गठन गराएका थिए । त्यति मात्र होइन, दुई महिनापछि मन्त्रिपरिषद्मै उनले त्यससम्बन्धी प्रस्ताव लगेर पारित गराएका थिए । १३ मंसिर ०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले बिचौलिया गिरोहलाई फाइदा हुने गरी शरणार्थीलाई स्वेच्छिक स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्ने तथा तेस्रो देश पुनस्र्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत विकास साझेदार राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थालाई अनुरोध गर्नेलगायतका निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा बिचौलियाहरूले सर्वसाधारणलाई विश्वासमा लिँदै थप पैसा उठाएका थिए । 

मन्त्रिपरिषद्बाट निर्णय भएको पाँच दिनपछि १८ मंसिर ०७८ मा गृहले निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गरेको थियो । २७ जेठ ०७९ मा गृहमन्त्रीस्तरबाट भएको निर्णयले त खाणको संलग्नता पुष्टि नै गर्ने प्रहरी अधिकारीहरू बताउँछन् । त्यस दिन सहायक सिडिओ नेतृत्वको समितिले आवश्यक परे उपसमिति गठन गर्न सक्ने र पन्थी कार्यदलको प्रतिवेदनमाथि ठोस राय र सुझाव पेस गर्ने निर्णय गरेको थियो । 

‘बिचौलियासँग एक करोड २४ लाख ५० हजार लिएको केही दिनमै सो निर्णय भएको देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘अभियुक्तको बयानअनुसार मन्त्रालयका निर्णयहरू मिल्दै गएको आधारमा हामीले पक्राउ गर्ने निर्णय गरेका हौँ ।’ साथै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि आफूले त्यससम्बन्धी निर्णयहरू मन्त्री खाणकै निर्देशन र समन्वयमा गरेको बयान दिएका छन् । 

कांग्रेस युवा नेताहरूले गृहमन्त्रीलाई भने– अघि बढ्नुस्, हाम्रो साथ रहन्छ
कांग्रेसका दुई दर्जन युवा नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थीका नाममा भएको ठगी प्रकरणमा सरकारले लिएको कदमको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएका छन् । संस्थापनइतरका नेताहरू गुराज घिमिरे, गोविन्द पोखरेल, मधु आचार्य, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, नरेश यादवलगायतका नेता मन्त्रालय पुगेर मन्त्रीलाई भेटेका थिए । उनीहरूले नक्कली शरणार्थी प्रकरणको फाइल खोलेर ठूला नेताहरूलाई पक्राउ गर्ने साहस गरेकोमा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिए ।

फरार टोपबहादुरलाई चौतफी दबाबपछि एमालेले गर्‍यो निलम्बन

चौतफी दबाबपछि एमालेले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई  पदबाट निलम्बन गरेको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको एक सातापछि पार्टीले कारबाही गरेको हो । पार्टी नेतृत्वले नै रायमाझीलाई लुकाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रहरीको अनुसन्धानलाई सहयोग पुर्‍याउन रायमाझीलाई निलम्बन गरिएको जनाएका छन् । 

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले संविधान, कानुन र विधिको शासन मान्ने पार्टीको नेताले प्रहरीसामु उपस्थित भएर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने निर्णय गरे पनि निलम्बनको निर्णय गरेको थिएन । तर, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै पार्टीभित्र र बाहिरको दबाबसमेतलाई मध्यनजर गरेर एमालेले रायमाझीलाई निलम्बन गरेको हो । 

घटनामा नाम जोडिएपछि आरजुले साइबर ब्युरोमा दिइन् उजुरी 

कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा आफ्नो नाम जोडेर बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । बुधबार ब्युरोमा लिखित उजुरी दिँदै उनले अडियोको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी हुन् । 

यो सामान्य अपराध होइन, राज्यविप्लव हो : ठाकुरप्रसाद ज्ञवाली, पूर्वआइजिपी 
नक्कली शरणार्थीका नाममा भएको ठगी सामान्य अपराध होइन, यो त देशविरुद्धको अपराध हो, राष्ट्रविप्लव हो । यसले अन्तर्राष्ट्रिय रूपमै नेपाललाई ठूलो असर पर्छ । अबको पाँचौँ पुस्तासम्म यसको असर नागरिकले भोग्नुपर्ने हुन सक्छ ।

अन्तर्राष्ट्रियस्तरमा नेपाली नागरिकले धेरै दुःख पाउन सक्छन् । यो घटनाले नेपाल प्रहरी संस्थागत रूपमा कमजोर भएको छैन भन्ने देखाउँछ । लिंकेज भेटिएपछि प्रहरीले कसैलाई पनि छाड्दैन भन्ने पुष्टि भएको छ । राजनीतिक दबाबलाई सहन नसक्ने व्यक्ति अब प्रहरीमा काम छैन । नेपाल प्रहरीमा आन्तरिक रूपमा धेरै सुधार भएको छ, संगठनमा केही पात्रहरू खराब होलान्, तर प्रहरी संस्था बाहिर सोचिएजस्तो कमजोर छैन, धेरै बलियो छ भन्ने यो घटनाले पनि देखाएको छ । 

गृहमै किर्ते गरिएको थियो कार्यदलको गोप्य प्रतिवेदन 

म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिँदै पूर्वगृहमन्त्री खाण । तस्बिर : संजित परियार/नयाँ पत्रिका

कांग्रेस नेता बालकृष्ण खाण गृह मन्त्रालयको नेतृत्वमा हुँदा भुटानी शरणार्थीसम्बन्धी कार्यदलको प्रतिवेदन नै किर्ते गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बिचौलिया गिरोहको योजनाअनुसार सक्कली प्रतिवेदनमा किर्ते गरेर ठगीमा सघाइएको प्रहरी निष्कर्ष छ । अनुसन्धानको क्रममा प्रहरीले ०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा बनेको कार्यदलको प्रतिवेदन गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय दुवैबाट मगाएको थियो ।

त्यसक्रममा गृहको प्रतिवेदनमा विभिन्न ठाउँँमा थपघट गरी बिचौलियाले पैसा उठाएका व्यक्तिको समेत नाम थपिएको पाइएको छ । कार्यदलका संयोजक पन्थीले पनि आफ्नो प्रतिवेदन किर्ते गरिएको बयान दिएका थिए । त्यसपछि मात्रै खाणलाई पक्राउ गर्न प्रहरीले आँट गरेको हो । उनीविरुद्ध प्रहरीले अन्य प्रमाणहरू पनि जुटाइसकेको थियो । यद्यपि, ती पक्राउ गर्न पर्याप्त थिएनन् । गोप्य सरकारी प्रतिवेदन गृह मन्त्रालयमा कसले किर्ते गर्‍यो भन्ने प्रस्ट भइसकेको छैन ।

त्यसैले गृहका तत्कालीन कर्मचारीमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘भाषा र सिलसिला हेर्दा सामान्य मान्छेले होइन । विज्ञले नै भाषा र अनुसूची हेरफेर गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोत भन्छ, ‘यसमा गृहका अन्य अधिकारी छानबिनमा छन् ।’

मन्त्रीका लागि पैसा लिएको सचिव पाण्डेको ततिम्बा बयान

प्रहरी हिरासतमै रहेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूसँग खाणको आर्थिक लेनदेन भएको स्वीकार गरेका छन् । सुरुमा इन्कारी बयान दिएका उनले ततिम्बा बयानमा भने आर्थिक लेनदेन भएको, तर त्यो आफ्ना लागि नभई तत्कालीन मन्त्री खाणलगायतका लागि भएको दाबी गरेका छन् ।

अहिलेसम्मको अनुसन्धानमा मन्त्री खाणले एक करोड २४ लाख ५० हजार लिएको खुलेको छ । पक्राउ परेका बिचौलिया सानु भण्डारीले बयानमा सो कुरा बताएकोमा सचिव पाण्डेले पनि त्यसलाई पुष्टि हुने गरी बयान दिएका छन् । 

पक्राउ पर्ने भएपछि सचिव पाण्डेले आफ्नो मोबाइल फर्म्याट गराएका थिए । जुन मोबाइलका डेटा रिकभर गरेपछि थप प्रमाण खुलेका हुन् । उनको बिचौलिया तथा मन्त्री खाणसँग भएको बयानमा आर्थिक लेनदेनका कुरा भेटिएपछि प्रहरीले ततिम्बा बयान गराएको थियो । अनुसन्धानका विषयमा नयाँ कुरा खुलेपछि प्रहरीले एकपटक ततिम्बा बयान गर्न पाउँछ । जुन बयानमा उनले लेनदेनका कुरा स्वीकार गरी मन्त्री खाणकै निर्देशनअनुसार आफूले ती काम गरेको बताएका छन् । जसले खाणविरुद्ध पनि प्रमाण बलियो भएको छ । यिनै प्रमाण रहेको थाहा पाएपछि खाणलाई पक्राउ गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पनि असहमति नजनाएको स्रोत बताउँछ । 

‘हाई प्रोफाइल’को पर्दा उतार्दै अभियुक्तका मोबाइल

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहमध्येका ३४ वर्षीय सन्देश शर्माले बोकेको मोबाइलमा सुरुमा प्रहरीको खासै ध्यान गएन । प्रहरीले विनामुचुल्का मोबाइल अभियुक्तलाई नै जिम्मा लगायो । तर, पछि सोही मोबाइल पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म तानिने कडी बन्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत २९ चैतमा दाङका ३४ वर्षीय शर्मालाई पक्राउ गरेपछि माथिल्लो तहसम्मै तरंग फैलिएको थियो । विशेष गरी गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री खाणलाई घटनाले तरंगित तुल्यायो । उनीहरू घटना सामसुम पार्न प्रहरीलाई प्रभावित गर्न उत्रिए । अनुसन्धान कार्यालयले पनि पक्राउ परेका शर्माको शरीर खनतलासी गरेन । ठगीको सामान्य मिसिल बनाएर शर्मालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठायो । 

दानबहादुर कार्की एसएसपी, काठमाडौं प्रहरी परिसर
प्रहरीसँगको बयानमा टेकनारायण पाण्डेले खाणको नाम लिए । त्यसपछि हामीले उनको मोबाइल डेटा विश्लेषण गर्‍यौँ । दुईजनाबीच लेनदेनको कुराकानी भएको देखियो । पुष्टि भएपछि खाणलाई पक्राउ गरिएको हो ।

शर्मा पक्राउ परेको दिन परिसरकै हिरासत कक्षमा बसे । भोलिपल्ट म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौं लगियो । यही क्रममा प्रहरीले शर्माको खल्तीमा मोबाइल फेला पार्‍यो । हिरासतमा रहेका व्यक्तिको खल्तीमा मोबाइल भेटिएको घटनाले प्रहरी परिसर काठमाडौंमा खैलाबैला मच्चियो । घटना रिपोर्टिङ हुँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी श्याम ज्ञवालीसम्म पुग्यो ।

कागजात मिलाएर प्रहरीले बल्ल मोबाइलको बरामदी मुचुल्का उठायो । फोनको ‘डेटा रिकभर’ गर्‍यो । अन्ततः सोही डेटा अनुसन्धानको बलियो प्रमाण बन्यो । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बरामद केही मोबाइल डिभाइस अभियुक्तसम्म पुग्ने माध्यम बनेको स्वीकार गरे । उनले भने, ‘अभियुक्तसँग मोबाइल बरामद भएको थियो । केहीको डेटा फर्म्याट गरिएका थिए । डेटा रिकभर गर्‍यौँ । त्योसँगै घटनामा संलग्नको केही नयाँ तथ्य खुल्दै गए । मोबाइल डिभाइसले अनुसन्धानमा केही मात्रामा सहयोग पुर्‍याउनु नौलो होइन ।’

प्रहरीका अनुसार शर्माको मोबाइल डेटामा पूर्वगृहसचिव पाण्डेसँग मेसेज आदानप्रदान भएको देखिन्छ । नेता खाणसँग पनि उनको कुराकानी भएको देखिन्छ । पूर्वउपप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसँग शर्माले लेनदेनका विषयमा कुराकानी गरेको मोबाइल डेटामा देखिएको छ । 

त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरजसँग पनि शर्माले नक्कली शरणार्थीको विषयमा आर्थिक लेनदेन सम्बन्धमा कुराकानी गरेको मोबाइल डिभाइसमा प्राप्त डेटाले देखाएको छ । सोही प्रमाणपछि काठमाडौं प्रहरी परिसर नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित ठगी मुद्दालाई संगठित अपराधमा रूपान्तरण गर्ने निष्कर्षमा पुगेको हो ।  

शर्मा मात्र होइन, पक्राउ परेका अभियुक्तहरू केशव दुलाल, सानु भण्डारीको मोबाइलबाट पनि धेरै उच्चपदस्थको संलग्नता खुलेको प्रहरी अधिकारी बताउँछन् । सचिव पाण्डेकै मोबाइलको डाटा रिकभर गर्दा पूर्वमन्त्री खाणविरुद्ध प्रमाण भेटिएका छन् । जसकारण यो मुद्दामा अभियुक्तका बलियो प्रमाण बनेका छन् । 

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्कीले नक्कली भुटानी शरणार्थी सम्बन्धमा आर्थिक लेनदेन भएको पुष्टि पाण्डे र खाणबीच भएको कुराकानीले पुष्टि गर्ने बताए । ‘प्रहरीसँगको बयानमा पाण्डेले खाणको नाम लिए । त्यसपछि हामीले उनको मोबाइल फोनमा प्राप्त डेटा विश्लेषण गर्‍यौँ,’ उनले भने, ‘दुईबीच आर्थिक लेनदेनको विषयमा कुराकानी भएको देखिन्छ । सोहीअनुसारका सन्देश आदानप्रदान भएको पनि देखिन्छ । यही कारण खाणलाई पक्राउ गरिएको हो ।’
 

ad
ad
ad
ad