Skip This
खाणलाई नपोल्न बिचौलियाहरूलाई प्रहरी कार्यालयमै भेटेका थिए पूर्वसांसद शेर्पाले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Monday, 08 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o बैशाख २६ मंगलबार o६:१८:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाणलाई नपोल्न बिचौलियाहरूलाई प्रहरी कार्यालयमै भेटेका थिए पूर्वसांसद शेर्पाले

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार o६:१८:oo

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी

भुटानी शरणार्थीको नाममा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहबाट रकम लिएका उच्चपदस्थहरू मुद्दाबाट जोगिन पक्राउ गरिएका बिचौलियाहरूलाई प्रभावित पार्ने प्रयासमा छन् । अभियुक्तहरूलाई भेटेरै उनीहरूले ‘पैसा फिर्ता गर्ने’ आश्वासन दिएका छन् । 

कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले पक्राउ परेका अभियुक्तलाई भेटेर पैसा फिर्तासम्बन्धी ‘डिल’ गरेको स्रोत बताउँछ । बयानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन भन्दै उनले पैसा फिर्ता गरिदिने आश्वासन दिएका थिए । गत १८ चैतमा टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका शेर्पाले अभियुक्तहरूलाई भेटेर त्यससम्बन्धी कुरा गरेको स्रोत बताउँछ । 

सुरुमा बिचौलियाहरू केशव दुलाल, टंक गुरुङ र सागर राईले इन्कारी बयान पनि दिएका थिए । तर, सानु भण्डारीले खाणलाई पनि पैसा बुझाएको बयान दिए । आफूहरूको पैसा पनि खाएको, काम पनि नगरी उल्टै थुनाएको भन्दै उनले ठगीमा सघाउने सबैको नाम पोलेका थिए । उनले खाणलाई एक करोड २४ लाख बुझाएको दाबी गरेका छन् । शेर्पाले हिरासतमा बिचौलियाहरूलाई भेटेको दुई–चार दिनमै केही रकम फिर्ता पनि गरिएको स्रोतको भनाइ छ । ‘केही पैसा फिर्ता पनि गरेको भन्ने सूचना आएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने, ‘तर, प्रमाण भेटियो भने पैसा फिर्ता हुँदैमा मुद्दाबाट उन्मुक्ति मिल्दैन ।’ 

रामेछापका कांग्रेस नेता शेर्पा ०७० मा संविधानसभा सदस्य थिए । उनी ठेकेदार पनि हुन् । केही दिनयता उनी मोबाइल ‘स्विचअफ’ गरेर बसेका छन् । प्रहरीले यो विषयलाई पनि अनुसन्धानकै दायरामा राखेको छ । त्यसैले औपचारिक रूपमा प्रहरी यसबारे केही बोलेको छैन । 

बिचौलिया भण्डारीलाई प्रहरीले गत वर्षको जेठमा पनि पक्राउ गरेको थियो । तर, पैसा खाने उच्चपदस्थहरूको समेत पोल खोलिदिने धम्की दिएपछि तत्कालै छुटेका थिए । त्यतिवेला खाण नै गृहमन्त्री थिए । यसपटक पनि बिचौलियाहरू पक्राउ परेपछि ‘रकम फिर्ता गर्ने’ भन्दै आफूलाई बयानमा नपोल्न शेर्पामार्फत फकाउने प्रयास गरेका थिए । 

नेता खाणले भने ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र अभियुक्त भेट्न पनि कसैलाई नपठाएको दाबी गरे । ‘पक्राउ परेकाहरूलाई भेट्न मैले कसैलाई पठाएको छैन, न मेरो त्यो प्रकरणमा कुनै संलग्नता छ,’ सोमबार साँझ खाणले नयाँ पत्रिकासँग भने, ‘म अहिले बुटवलमा छु । फर्केर केही दिनमा सबै कुरा प्रस्ट पार्छु ।’

अभियुक्तले एक करोड २४ लाख बुझाएको बयान दिए पनि प्रहरीले खाणको पैसा लेनदेनको प्रमाण भने अहिलेसम्म फेला पार्न सकेको छैन, जुटाउने प्रयास गरिरहेको छ । तर, नक्कली शरणार्थीलाई सहज हुने गरी गृह मन्त्रालयबाट खाणको कार्यकालमा केही निर्णय तथा पत्राचार भएको विषयमा भने प्रहरीले छानबिन गरिरहेको छ ।

सो मुद्दामा हालसम्म गिरोहलाई सघाउने पाँचजनाले पैसा लिएको प्रमाण भेटिएको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जसमा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई, उनका छोरा नीरज र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे छन् । उनीहरूमध्ये टोपबहादुर र नीरज फरार छन् भने अन्य प्रहरी हिरासतमा छन् । 

पक्राउ परेका अभियुक्तहरूले नाम लिएका अरू धेरै व्यक्तिको विषयमा आर्थिक लेनदेनको प्रमाण जुटाउने क्रममा प्रहरी छ । तर, उच्चपदस्थ जोडिएपछि अनुसन्धान कमजोर बनाउन प्रहरीमाथि चौतर्फी दबाब छ । 

सुरुदेखि नै यो मुद्दाको अनुसन्धानमा प्रहरीमाथि दबाब छ । प्रहरीले उच्चपदस्थलाई जोगाउने प्रयास गरे पनि पक्राउ परेकामध्ये सानु भण्डारीले आफूले बोलेका कुरा जस्ताको तस्तै बयानमा नराखे आत्मदाह गर्नेसम्मको धम्की दिएपछि अनुसन्धान ‘हाई प्रोफाइल’तर्फ मोडिएको हो । विभिन्न नेताहरूले काम गरिदिने भनेर पैसा लिएको, तर काम नगरिदिएको भन्दै उनले सबैको पोल खोलिदिएका छन् । ‘पैसा खाने नेता र कर्मचारी, उल्टै हामीलाई थुन्ने’ भन्दै भण्डारीले पैसा बुझाएको प्रमाण नै प्रहरीमा बुझाएका छन् । जसकारण यो मुद्दा पेचिलो बनेको छ । 

ठगीका साथै संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभियुक्तले नाम लिएका अन्य उच्चपदस्थमाथि पनि प्रहरीले सोधपुछको तयारी गरेको छ । पक्राउ परेकामध्ये सबैको बयान पूरा भइसकेको छ । 

पछिल्लो समय प्रहरी अनुसन्धान गृह मन्त्रालयमाथि केन्द्रित छ । गृह मन्त्रालयले दर्तामा छुट भएका शरणार्थीको नाममा विभिन्न समयमा गरेका निर्णय र पत्राचार झिकाएर अनुसन्धान गरिरहेको छ । ०७६ सालमा पूर्वसहसचिव बालकृष्ण पन्थी अध्यक्षताको कार्यदल गठन भएसँगै यससम्बन्धी चलखेल अघि बढेको थियो । सोही प्रतिवेदन देखाएर तथा त्यसमा नाम थपेर करिब नौ सयजनासँग एक अर्ब उठाइएको थियो । त्यही पैसा उच्चपदस्थलाई बुझाएर बिचौलिया समूहले गैरशरणार्थीलाई शरणार्थी बनाउने प्रयास गरेको थियो । जुन प्रयास असफल भएपछि पीडितहरू प्रहरीमा पुगेका हुन् । कार्यदल सदस्य पनि अहिले प्रहरी छानबिनमा छन् । 

टोपबहादुरलाई पक्रन देशभर परिपत्र, आइजिपीको अमेरिका भ्रमण रद्द

भुटानी शरणार्थी ठगीमा आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यससम्बन्धी परिपत्र गरेको हो । साथै पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।

पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । त्यही दिन उनी ‘काठमाडौं गएर प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, त्यही साँझ छोरा सन्दीप पक्राउ परेपछि उनी बिहीबार बिहानदेखि फरार भएका थिए । 

आइजिपीको अमेरिका भ्रमण रद्द

उता, सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोत बताउँछ । प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले आइजिपी कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे, तर कारणबारे जानकारी नभएको बताए ।

मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा उनले नजाने निर्णय गरेका हुन् । सो कार्यक्रममा सहभागी हुन एआइजीद्वय किरण बज्राचार्य र सुदीप गिरी तथा डिआइजी रामदत्त जोशीलगायत गएका छन् ।

ad
ad
ad
ad