Skip This
कक्षा १२ का विद्यार्थीलाई राहत : ननग्रेड आएका सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २४ आइतबार o६:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा १२ का विद्यार्थीलाई राहत : ननग्रेड आएका सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार o६:२o:oo

कक्षा १२ मा ननग्रेड (एनजी) आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । यो नियम लागू भएसँगै दुईभन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड आएमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७८ को लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दैै यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधन भएको निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो नियम यसै वर्षदेखि लागू हुनेछ । 

यसअघि कक्षा १२ मा दुईवटा विषय लागेमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्थ्यो । त्यसभन्दा बढी विषय लागेमा अर्को वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने बाध्यतात्मक अवस्था थियो । अब भने जतिवटा विषय अनुत्तीर्ण छन् त्यतिवटा विषयमा मात्रै परीक्षा दिए पुग्नेछ । तर, दुईवटाभन्दा बढी विषय लागेमा अर्को वर्ष मात्रै ननग्रेड परीक्षा दिन पाइनेछ । दुईवटा विषय लागेमा पुरानै नियमअनुसार त्यतिवेलै ग्रेडवृद्धि जाँच दिन पाइने व्यवस्था छ ।

उत्तीर्ण हुनैपर्ने अवधि पाँचबाट तीन वर्ष
निर्देशिकामा कक्षा १२ मा परीक्षा दिन पाउने तथा उत्तीर्ण हुनैपर्ने अवधि पनि घटाइएको छ । यसअघि पाँच वर्षभित्रमा पनि १२ पास गरे हुन्थ्यो भने अब सो अवधिलाई घटाएर तीन वर्षमा झारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले विद्यार्थीमा ड्रपआउटको समस्या देखिएकाले पनि यो नियम संशोधन गरिएको बताए । ‘नयाँ गे्रडिङ प्रणाली लागू भएपछि हामीले कक्षा १२ को परीक्षा नियम पनि संशोधन गरेका हौँ,’ उनले भने, ‘नयाँ लेटर गे्रडिङ नियम आएपछि पाँच वर्ष अवधिलाई तीन वर्ष बनाएका छौँ, अब एनजी आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउँछन्, यसो हुँदा विद्यार्थीलाई सहज हुन्छ ।’

उनले दुईभन्दा बढी विषय लागेका विद्यार्थीले पढाइ नै छाड्ने समस्या देखिन थालेकाले पनि नियम संशोधन गरिएको जिकिर गरे । यो नियम लागू भएसँगै गत वर्ष परीक्षा दिएका ५८ हजार विद्यार्थीले सबै विषयको परीक्षा दिन नपर्ने परीक्षा बोर्डले जनाएको छ । अब विद्यार्थीले आफूलाई जुन–जुन विषय लागेको छ, त्यसैको मात्रै परीक्षा दिए पुग्नेछ ।